एडीबीको दक्षिण एसिया महानिर्देशकमा नेपाली महिला सोना श्रेष्ठ

105
Shares

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)को दक्षिण एसिया विभाग महानिर्देशकमा नेपाली नागरिक सोना श्रेष्ठलाई नियुक्त गरेको छ ।

श्रेष्ठ बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीको रणनीति तथा सञ्चालन विकास र कार्यान्वयन नेतृत्व गर्ने गरी नियुक्त भएकी छिन् ।

श्रेष्ठ यसअघि दक्षिण एसिया विभागकै उपमहानिर्देशक थिइन् । एडीबीको उच्च नेतृत्वमा पुग्ने न्यून नेपालीमध्ये पनि महिलाको रुपमा उनको आफूलाई अब्बल सावित गरेकी छिन् ।

‘दक्षिण एसिया विभागको महानिर्देशक नियुक्त हुन पाउँदा गर्व लागेको उनले बताएकी छिन् । समावेशी र दिगो विकासमा सहयोग पुर्‍याउन एडीबीको संलग्नता अझ गहिरो बनाउन यस क्षेत्रका विकासशील सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न सकिने पनि उनको प्रतिकृया दिएकी छिन् ।

श्रेष्ठको अन्तर्राष्ट्रिय विकास, नीतिगत विश्लेषण, परियोजना सञ्चालन र मूल्यांकन क्षेत्रमा २७ वर्षको कार्य अनुभव छ । अर्थशास्त्र विषयमा अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट पीएचडी गरेकी श्रेष्ठले अमेरिकाकै स्मिथ कलेजबाट अर्थशास्त्रमा बीए गरेकी छिन् ।

श्रेष्ठले अन्तर्राष्ट्रिय विकास क्षेत्रमा बिताएका २७ वर्षमध्ये एडीबीमै २३ बिताएकी छिन् । एडीबीमा उनले मध्य र पश्चिम एसिया, दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा कार्य सञ्चालन सम्बन्धी अनुभव हासिल गरेकी छिन् ।