अमेरिकासँग आर्थिक सम्बन्ध बढाउनका लागि रुसले राख्यो प्रस्ताव, डलर प्रणालीमा फर्किने

154
Shares

एजेन्सी । ब्लुमबर्ग सञ्चारमाध्यमले समीक्षा गरेको एक आन्तरिक रुसी दस्तावेज अनुसार, क्रेमलिनले ट्रम्प प्रशासनसँगको व्यापक आर्थिक साझेदारीको रूपमा रुसले फेरि डलर अपनाउने प्रस्तावहरू अघि सारेको छ ।

यस वर्ष मस्यौदा गरिएको उच्चस्तरीय मेमोले सातवटा बुँदाहरू उल्लेख गरेको छ । क्रेमलिन (रुस सरकार) को विचारमा युक्रेन युद्ध अन्त्य गर्ने सम्झौतापछि रुसी र अमेरिकी आर्थिक हितहरू मिल्न सक्छन् । यसले दुई देशहरूलाई हरित विकल्पहरू भन्दा जीवाश्म इन्धनलाई प्राथमिकता दिन र प्राकृतिक ग्यास, समुद्री तेल र महत्त्वपूर्ण कच्चा पदार्थहरूमा संयुक्त लगानीका साथै अमेरिकी कम्पनीहरूका लागि ठूलो नाफाका लागि सँगै काम गर्ने परिकल्पना गरेको छ ।

रुसका वरिष्ठ अधिकारीहरूमाझ सर्कुलेट गरिएको यस प्रस्तावले क्रेमलिनको सोच र रणनीतिबारे अहिलेसम्म बाहिर नआएको जानकारी दिन्छ । यतिबेला अमेरिका र रुसबीचको सम्भावित आर्थिक सम्झौताहरू युक्रेनका लागि हुने कुनै पनि भविष्यको शान्ति सम्झौताको मुख्य आधारको रूपमा वार्ता भइरहेका छन् ।

रुसलाई डलर सेटलमेन्ट प्रणालीमा फिर्ता बोलाउने काम यस अफरको केन्द्रमा रहेको छ । यस कदमले क्रेमलिनको नीतिमा ठूलो परिवर्तन र सम्भवतः विश्वव्यापी अर्थतन्त्रमा नाटकीय हलचल ल्याउन सक्छ ।

अमेरिकाले कुनै पनि शान्ति सम्झौताको भागको रूपमा रुसमाथिका प्रतिबन्धहरू बिस्तारै हटाउने प्रस्ताव गरिसकेको छ जुन देशले फेरि डलरमा कारोबार सुरु गर्नका लागि आवश्यक पहिलो कदम हो । तर, क्रेमलिनको मेमोले सोचेको कुरा त्यसभन्दा धेरै अगाडि जान्छ ।

अहिलेसम्म रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँगको आफ्नो सम्बन्ध गहिरो बनाउन खोज्दा अमेरिकी नेतृत्वको प्रणालीसँगको सम्बन्ध पुनःस्थापना गर्नुको साटो डलरका विकल्पहरू खोज्नु रुसको मुख्य लक्ष्य थियो । त्यसकारण, पुटिनले अन्ततः बेइजिङको हित विपरीत चल्ने सम्झौता गर्ने सम्भावना एकदमै कम रहेको दस्तावेजको सामग्रीसँग परिचित पश्चिमी सरकारी अधिकारीहरूले बताएका छन् ।

पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले प्रतिक्रियाका लागि ब्लुमबर्गले पठाएको इमेलको जवाफ दिएनन् । रुसले दस्तावेजमा उल्लेख गरिएका कुनै पनि बुँदाहरू अमेरिकालाई प्रस्ताव गरेको छ वा छैन भन्ने स्पष्ट छैन । क्रेमलिन मेमोले रुसी र अमेरिकी आर्थिक हितहरू समन्वय हुने भनी पहिचान गरेका क्षेत्रहरू देहायबमोजिम छन् ।

१. रुसको विमान बेडाको आधुनिकीकरणका लागि दीर्घकालीन उड्डयन सम्झौताहरू र रुसी उत्पादनमा सम्भावित अमेरिकी सहभागिता ।

२. समुद्री र निकाल्न कठिन भण्डारहरू सहित संयुक्त तेल र एलएनजी उद्यमहरू जसले अघिल्लो अमेरिकी लगानीलाई ध्यानमा राख्नेछ र अमेरिकी कम्पनीहरूलाई विगतको घाटा पूर्ति गर्न अनुमति दिनेछ ।

३. अमेरिकी कम्पनीहरूलाई रुसी उपभोक्ता बजारमा फर्कन सहुलियतपूर्ण शर्तहरू ।

४. एआई उद्यमहरू सहित आणविक ऊर्जामा सहयोग ।

५. रुसी ऊर्जा कारोबारका लागि समेत हुन सक्ने गरी डलर सेटलमेन्ट प्रणालीमा रुसको फिर्ती ।

६. लिथियम, तामा, निकल र प्लेटिनम जस्ता कच्चा पदार्थहरूमा सहयोग ।

७. चीन र युरोपको पक्षमा हुने जलवायुमैत्री विचारधारा र न्यून–उत्सर्जन समाधानहरूको विकल्पको रूपमा जीवाश्म इन्धनलाई अगाडि बढाउन सँगै काम गर्ने ।

सन् २०२२ मा युक्रेनमा पूर्ण स्तरको आक्रमण हुनुभन्दा धेरैपहिले पुटिनले अमेरिकी वित्तीय प्रभुत्वलाई चुनौती दिने प्रयासको रूपमा अमेरिकी मुद्रामा रुसको निर्भरता कम गर्न काम गरिरहेका थिए । अमेरिका र उसका सहयोगीहरूले युद्ध सुरु भएपछि रुसी अर्थतन्त्रको ठूलो हिस्सामा प्रतिबन्धहरू लगाउन डलर लेनदेनमा आफ्नो नियन्त्रण उपयोग गरेपछि ती प्रयासहरूको तर्क स्पष्ट भयो । त्यसबेलादेखि मस्कोले विशेषगरी चीन र भारत जस्ता अन्य धेरै देशहरूसँग वैकल्पिक मुद्रा र प्रणालीहरूमा व्यापार विकास गर्ने प्रयास गरेको छ ।

त्यसैले एक स्तरमा वाशिङटनको वित्तीय प्रभुत्वलाई फेरि स्वीकार गर्नु र रुसी अर्थतन्त्रलाई अमेरिकी दबाबमा कम कमजोर बनाउने प्रयासहरूलाई उल्टाउनु डलर सेटलमेन्टमा फर्कनुको अर्थ हुनेछ । साथै, यसले ट्रम्प प्रशासनलाई मस्को र बेइजिङबीचको सम्बन्ध कमजोर बनाउने उसको स्पष्ट उद्देश्यमा ठूलो विजय दिलाउनेछ ।

योजनाका अन्य विवरणहरू पनि ट्रम्पले अन्य क्षेत्रहरूमा तय गरेका महत्त्वाकांक्षालाई सहयोग पुग्ने गरी डिजाइन गरिएको देखिन्छ । अमेरिकी कम्पनीहरूलाई रुसमा भएका विगतका घाटाहरूको क्षतिपूर्ति दिनुपर्छ भन्ने धारणाले भेनेजुएलासँग अमेरिकी राष्ट्रपतिले गरेको मागको प्रतिध्वनि दिन्छ जबकि युरोप र चीनले मन पराउने कम कार्बन प्रविधिलाई अस्वीकार गर्ने कुराले विन्ड टर्बाइनहरूका विरुद्ध लामो समयदेखि भाषण दिने गरेका राष्ट्रपतिको मन जित्न सक्छ ।

कतिपय प्रस्तावहरू विशेषगरी अमेरिका र युक्रेनका युरोपेली सहयोगीहरूबीचको विभाजनलाई गहिरो बनाउनका लागि तयार गरिएको मेमोसँग परिचित पश्चिमी अधिकारीहरूले बताएका छन् । अरू भने सम्भावित ठूला संख्याहरू जोडिएका टाढाका वाचाहरू हुन् जसले अमेरिकी राष्ट्रपतिलाई सम्झौता गर्न लोभ्याउन सक्छन् तर पछि कहिल्यै साकार नहुन सक्छन् ।

क्रेमलिनले चीनबाट टाढा जान चाहने सम्भावना कम छ किनभने पश्चिमी प्रतिबन्धहरूले अन्य स्रोतहरू बन्द गरेपछि बेइजिङ रुसी युद्ध मशिनका लागि आवश्यक पुर्जाहरू र कच्चा पदार्थहरूको महत्त्वपूर्ण आपूर्तिकर्ता बनेको उनीहरूले उल्लेख गरे ।

तर, डलर प्रणालीमा फर्कँदा रुसलाई आफ्नो विदेशी विनिमय बजार विस्तार गर्न र भुक्तानी सन्तुलनमा हुने अस्थिरता कम गर्न अनुमति दिने मेमोले तर्क गर्छ । अमेरिकाका लागि यस्तो कदमले विश्वको सञ्चित मुद्राको रूपमा डलरको स्थितिलाई अझ बलियो बनाउनेछ र चीन र अमेरिकाबीचको ऊर्जा लागत सन्तुलन गरेर विश्वव्यापी व्यापार असन्तुलन कम गर्न सक्छ भनी दस्तावेजमा उल्लेख छ ।

रुस र अमेरिकाले किभसँगको शान्ति वार्ताको समानान्तरमा ठूला द्विपक्षीय आर्थिक सम्झौताहरू बारे छलफल गरिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस महिनाको आरम्भमा पत्रकारहरूको एक समूहलाई बताएका थिए ।

मस्कोको प्रस्तावको बारेमा जानकारी, जसलाई युक्रेनी राष्ट्रपतिले क्रेमलिन वार्ताकार किरिल दिमित्रीभको नाममा दिमित्रीभ प्याकेज भनेका छन्, युक्रेनी गुप्तचरले संकलन गरेको जेलेन्स्कीले बताए । दिमित्रीभ रुसको सार्वभौम सम्पत्ति कोषका प्रमुख पनि हुन् ।