
एजेन्सी । अमेरिकी सांसद बिल हुईजेन्गाले हालैका जनविद्रोहपछि बंगलादेशमा भएको र नेपालमा हुन लागेको निर्वाचनले दक्षिण एसियामा अमेरिकी संलग्नताका लागि नयाँ अवसरहरू प्रदान गरेको बताएका छन् ।
बुधबार दक्षिण एसियामा अमेरिकी विदेशनीतिसम्बन्धी सुनुवाइको उद्घाटन मन्तव्यमा अमेरिकी कंग्रेसको दक्षिण र मध्य एसिया उपसमितिका अध्यक्ष हुईजेन्गाले नेपाल र बंगलादेश राजनीतिक रूपान्तरणबाट गुज्रिरहेको उल्लेख गरे ।
सन् २०२४ को विद्रोहपछि बंगलादेशले बिहीबार आफ्नो पहिलो राष्ट्रिय निर्वाचन आयोजना गरिरहेको छ भने नेपाली युवाहरूले सेप्टेम्बर २०२५ मा एक अधिनायकवादी सरकारलाई हटाएका थिए र त्यहाँ अर्को महिना लोकतान्त्रिक निर्वाचन हुँदैछ ।
‘यी दुवै उदाहरणहरूले दक्षिण एसियामा संलग्नताका लागि नयाँ अध्यायहरू प्रदान गर्छन् जसले यी नयाँ सरकारहरूसँगको अमेरिकी सम्बन्धलाई परिभाषित गर्नेछ,’ मिशिगनका अमेरिकी संसद् हुईजेन्गाले भने ।
दक्षिण र मध्य एसिया गतिशील भएको वर्णन गर्दै उनले यहाँका बढ्दो युवा जनसंख्या चीनको अधिनायकवादी विकल्पभन्दा पश्चिमी संस्कृति र मूल्यमान्यतातर्फ बढी आकर्षित रहेको बताए ।
उनले यो क्षेत्र झण्डै दुई अर्ब मानिसको घर, गतिशील अर्थतन्त्र र हिन्द–प्रशान्त क्षेत्रमा शक्ति सन्तुलन कायम गर्ने रणनीतिक जलमार्गहरूको केन्द्र भएको बताए । यस क्षेत्रभरि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बजार खुला गर्ने र अमेरिकी आर्थिक हितलाई प्रवर्धन गर्ने सम्झौताहरू सफलतापूर्वक सम्पन्न गरेको उनले थपे ।
‘अब हामी संलग्न हुन गइरहेका छौं र हामी कसरी संलग्न हुन्छौं भन्ने कुराले आगामी दशकहरूका लागि एसियामा अमेरिकाको भूमिका परिभाषित गर्नेछ,’ उनले भने ।
चीनको सन्दर्भमा हुईजेन्गाले टिप्प्णी गर्दै उसले आफ्नो सुरक्षा हितलाई अगाडि बढाउन र साना राष्ट्रहरूलाई ऋणको जालमा पार्न शोषणकारी ऋण प्रवाह भने । भारत, नेपाल र भुटानसँगको आफ्नो सीमालाई चीनले सुदृढ बनाएको बताउँदै उनले हाम्रो तटबाट टाढा भए पनि, स्वतन्त्र र खुला हिन्द महासागर कायम राख्नु अमेरिकाको राष्ट्रिय र आर्थिक सुरक्षाको लागि प्राथमिकता रहेको भनाइ राखे ।
हिन्द महासागर पृथ्वीकै सबैभन्दा व्यस्त सामुद्रिक मार्गहरूमध्ये एक हो जसले विश्वव्यापी व्यापार र ऊर्जाको जीवनरेखा बोकेको छ र यसमा विश्वको ८० प्रतिशतभन्दा बढी सामुद्रिक तेल व्यापार हुन्छ, अमेरिकी सांसदले भने ।
साझेदार र सहयोगीहरूसँगको उन्नत जलसैनिक सहयोगमार्फत यी सामुद्रिक मार्गहरूको रक्षा गर्नाले चीनको बढ्दो प्रभावलाई रोक्न र यस क्षेत्रमा उसको दुष्कर्मलाई सीमित गर्न मद्दत पुग्ने उनले बताए ।
राष्ट्रपति ट्रम्पसँगै आफूले पनि हिन्द महासागरको बीचमा रहेको डिएगो गार्सियास्थित अमेरिकी जलसैनिक अखडाको महत्त्व देखेको उनले बताए । यस क्षेत्रमा अमेरिकाको सैन्य शक्तिलाई जोगाइराख्नाले चिनियाँ जबर्जस्तीलाई निरुत्साहित गर्ने, समुद्री डकैती रोक्ने र अमेरिकी तथा विश्व व्यापारको स्वतन्त्र प्रवाह सुनिश्चित गर्ने उनले थपे ।
डिएगो गार्सियाको ठ्याक्कै उत्तरमा रहेको विश्वको सबैभन्दा ठूलो लोकतन्त्र र तीव्र गतिमा बढिरहेको अर्थतन्त्रमध्ये एक भारत महत्त्वपूर्ण रणनीतिक साझेदारको रूपमा रहेको उनले बताए ।








प्रतिक्रिया