
एजेन्सी । जनवरी महिनामा बेइजिङमा चीनका ठूला कृत्रिम बुद्धिमत्ता (एआई) खेलाडीहरू ऐतिहासिक बैठकका लागि भेला हुँदा एउटा प्रश्न चर्चाको केन्द्रमा थियो । आगामी तीनदेखि पाँच वर्षमा कुनै चिनियाँ एआई कम्पनीले अमेरिकी अग्रणी कम्पनीहरूलाई उछिन्न सक्ने सम्भावना कतिको छ ?
उक्त भेलामा उपस्थित एक शीर्ष एआई वैज्ञानिकको जवाफ आश्चर्यजनक रूपमा स्पष्ट थियो । ‘२० प्रतिशतभन्दा कम,’ चिनियाँ प्रविधि क्षेत्रको दिग्गज कम्पनी अलिबाबाको क्वेन एआई मोडेलका प्राविधिक प्रमुख जस्टिन लिनले भने, ‘र मलाई लाग्छ २० प्रतिशत नै पनि निकै आशावादी सोच हो ।’
यो गम्भीर मूल्यांकन चीनको एआई क्षेत्रको प्रगतिको उत्सव मनाउने वर्षभरिका हेडलाइनहरूको ठीक विपरीत थियो ।
खासै चर्चामा नरहेको स्टार्टअप डीपसीकले अमेरिकी मोडलहरूको तुलनामा थोरै खर्चमा निर्माण गरिएको शक्तिशाली एआई मोडलमार्फत विश्वलाई चकित पारेपछि चिनियाँ कम्पनीहरू निःशुल्क उपलब्ध मोडलहरूको विश्वव्यापी डाउनलोडमा शीर्ष स्थानमा पुगेका छन् र बजारमा प्रवेश गर्दा ठूलो रकम जुटाएका छन् ।
तर, यो तामझामका बावजुद केही प्रमुख चिनियाँ एआई विकासकर्ताहरूले चीन अत्याधुनिक फ्रन्टियर मोडलहरू विकास गर्ने दौडमा अझ पछि परेको हुन सक्ने भनी चेतावनी दिएका छन् । विज्ञहरूले उन्नत चिप्समा प्रतिबन्धित पहुँच र सीमित पुँजीलाई यसका बाधक तत्त्वका रूपमा औंल्याएका छन् ।
लिन मात्र यथार्थवादी भनाइ राख्ने एक्ला पात्र थिएनन् । झिपु नामले पनि चिनिने प्रमुख चिनियाँ एआई स्टार्टअप जेड डट् एआईका संस्थापक टाङ जेले चिनियाँ र अमेरिकी मोडलहरू बीचको कार्यक्षमताको अन्तर झन् बढ्दै जान सक्ने बताए ।
‘केही क्षेत्रमा हामीले राम्रो गरिरहेका हुन सक्छौं, तर हामीले अझै पनि सामना गरिरहेका चुनौती र अन्तरहरूलाई स्वीकार गर्न आवश्यक छ,’ उनले बेइजिङको सोही बैठकमा भने ।
तर, चीनको एआई उद्योग सुस्त भएको भन्ने चाहिँ त्यस मूल्यांकनको अर्थ होइन ।
उच्च क्षमताका चिप्स र पुँजीमा पहुँचको अभावका साथै चीनको विशिष्ट प्रविधि प्रणालीले अमेरिकाभन्दा फरक रणनीति अवलम्बन गर्न प्रेरित गरेको छ । त्यो हो, एआई मोडलहरूलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनु वा ओपन सोर्स बनाउनु ।
बेइजिङ र विकासकर्ताहरूले प्रगतिलाई तीव्रता दिन र अमेरिकी प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्ने तरिकाका रूपमा हेरेको यस रणनीतिले चिनियाँ कम्पनीहरूलाई उल्लेखनीय उपलब्धि हासिल गराएको छ । कम्पनीहरूले यी मोडलहरूमा आधारित एआई एप्लिकेशनहरू वास्तविक प्रयोगका लागि आक्रामक रूपमा ल्याइरहेका छन् । उद्योगहरूले उत्पादन, ई–कमर्स र रोबोटिक्समा यस प्रविधिलाई एकीकृत गरिरहेका छन् ।
टेलिभिजनमा प्रसारित नयाँ वर्षको सम्बोधनमा चीनका राष्ट्रपति सी चिनपिङले देशको तीव्र रूपमा बढिरहेको नवीन क्षमताको प्रशंसा गरे । बेइजिङले प्रविधिमा आत्मनिर्भरताका लागि दबाब दिइरहँदा उनले दौडिरहेका एआई मोडलहरू र स्वदेशी चिप्समा भएका ठूला सफलताको उल्लेख गरे ।
उदाहरणका लागि, एआई मोडल र उपकरणहरूको प्रमुख प्लेटफर्म हगिङ फेसमा गत सेप्टेम्बरमा क्वेनले मेटाको लामालाई उछिनेर सबैभन्दा बढी डाउनलोड गरिएको ओपन मोडल बन्यो । एयरबीएनबी जस्ता अमेरिकी कम्पनीहरूले समेत एआई ग्राहक सेवा सञ्चालन गर्न यसलाई अपनाएका छन् ।
हङकङमा चिनियाँ एआई कम्पनीहरूको सूचीकरणको अभूतपूर्व लहर पनि देखिएको छ । जनवरीमा प्रतिस्पर्धी ओपन मोडलका विकासकर्ता युनिकोर्न स्टार्टअपहरू जेड डट् एआई र मिनीम्याक्स सार्वजनिक भए जसले क्रमशः ५६ करोड डलर र ६२ करोड डलर जुटाएका छन् र उनीहरूको सेयर मूल्य पनि आकाशिएको छ ।
विश्वव्यापी प्रविधि कम्पनीहरूले यसतर्फ ध्यान दिइरहेका छन् । डिसेम्बरमा मेटाले चीनमा स्थापना भई पछि सिंगापुर सरेको एआई एजेन्ट कम्पनी मानुसलाई खरिद गर्ने घोषणा गर्यो । यस सम्झौताले बेइजिङको नियामक समीक्षा प्रक्रिया सुरु गरेको छ । त्यसले यो सम्झौता रद्द हुन सक्ने सम्भावना पनि बढाएको छ । यो चिनियाँ एआई प्रविधिको प्रगतिको प्रमाण हो ।
एक वर्षअघि निकै कम स्रोतसाधन प्रयोग गरेर उद्योगकै अग्रणीस्तरको कार्यक्षमता भएको ओपन मोडेल सार्वजनिक गरेपछि चीनको एआई क्षेत्रको सफलताको प्रतीक बनेको डीपसीकले यसै महिनाको अन्त्यमा उन्नत कोडिङ क्षमता भएको नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ ।
चीनको एआई गतिको मुख्य चालक ओपन मोडलहरूको आक्रामक प्रयोग हो जुन परिवर्तन डीपसीकको ठूलो सफलताबाट सुरु भएको हो । त्यसयता चिनियाँ एआई ल्याबहरू ओपन–मोडलको लहरमा सामेल भएका छन् ।
चीनमा ओपन मोडलतर्फको आकर्षणले विकासकर्ता र उद्यमहरूका लागि लागत नाटकीय रूपमा घटाएको छ, देशको प्रविधि उद्योगमा केन्द्रित न्युजलेटर हेलो चाइना टेकका संस्थापक तथा विश्लेषक पो झाओले बताए ।
‘अलिबाबा जस्ता क्लाउड प्रदायकहरूले क्लाउड सेवाको प्रयोग बढाउन ओपन मोडलहरू प्रयोग गर्छन् भने स्टार्टअपहरूले विकासकर्ता प्रणाली छिटो निर्माण गर्न खुलापनको प्रयोग गर्छन्,’ उनले थपे ।
चिनियाँ कम्पनीहरू ओपन मोडलको अवधारणाका प्रवर्तक भने होइनन् । सन् २०२३ को सुरुमा मेटाले आफ्नो लामा मोडलमार्फत ओपन–सोर्सिङमा ठूलो लगानी गरेको थियो यद्यपि अधिकांश अमेरिकी दिग्गज कम्पनीहरूले आफ्नो बौद्धिक सम्पत्तिको रक्षा गर्न यस दृष्टिकोणलाई त्यागेका छन् ।
एआई मोडेलहरूको बजार ओपनराउटरको सन् २०२५ को अन्त्यको अध्ययन अनुसार चीनमा ओपन मोडलको लहरले गर्दा तिनको विश्वव्यापी प्रयोग सन् २०२४ को अन्त्यमा न्यून १.२ प्रतिशतबाट गत वर्ष झन्डै ३० प्रतिशत पुगेको छ ।
उदाहरणका लागि, अलिबाबा एक्लैले ४०० भन्दा बढी ओपन क्वेन मोडलहरू सार्वजनिक गरिसकेको छ जसको डाउनलोड संख्या यसै महिनाको सुरुसम्ममा एक अर्ब नाघिसकेको कम्पनीले जनाएको छ ।
‘ओपन सोर्सिङ एक हदसम्म चीनमा उद्योगकै साझा सहमति बनेको छ,’ प्रविधि अनुसन्धान संस्था ओम्डियाका मुख्य विश्लेषक लियान ज्ये सुले बताए ।
यस रणनीतिले लागत मात्र घटाउँदैन, चिनियाँ कम्पनीहरूलाई भूराजनीतिक जोखिमहरूबाट पनि जोगाउँछ ।
‘कुनै दिन सम्पूर्ण कम्पनीमाथि नै (अमेरिकाद्वारा) प्रतिबन्ध लगाइयो भने पनि कम्तीमा त्यसका ओपन–सोर्स मोडेलमा आधारित उत्पादनहरू अरूद्वारा प्रयोग गर्न सकिनेछ,’ सुले भने ।
यस रणनीतिको पछाडि एउटा कठोर आर्थिक यथार्थ पनि छ ।
‘अरू कुनै विकल्प छैन । यसको कारण के हो भने चिनियाँ उपभोक्ता र उद्यमहरू सफ्टवेयरका लागि पैसा तिर्दैनन्,’ एआई केन्द्रित भेन्चर क्यापिटल फर्म लियोनिस क्यापिटलकी पार्टनर जेनी शाओले भनिन् ।
तर, चिनियाँ मोडलहरू ओपन मोडलको क्षेत्रमा उत्कृष्ट भए पनि ओपेन एआईको जीपीटी, गुगलको जेमिनी र एन्थ्रोपिकको क्लाउड जस्ता अमेरिकी दिग्गजहरूले विकास गरेका क्लोज्ड मोडलहरूले कार्यक्षमताको मापदण्डमा अझै पनि वर्चस्व जमाएका छन् । ओपनराउटरका अनुसार, क्लोज्ड मोडेलहरू अझै पनि कुल डाउनलोडको करिब ७० प्रतिशत ओगट्छन् ।
चिनियाँ र अमेरिकी मोडलहरूबीचको कार्यक्षमताको अन्तर धेरै ठूलो नभए पनि कम्प्युटिङ शक्ति र पुँजीको अभावका कारण यो अझै कायमै छ ।
‘ओपेन एआई, एन्थ्रोपिक र अन्य अमेरिकी कम्पनीहरूले अर्को पुस्ताको अनुसन्धानमा ठूलो कम्प्युटिङ शक्ति खर्च गरिरहेका छन् जबकि हामी अपेक्षाकृत रूपमा सीमित छौं,’ अलिबाबाका लिनले भने ।
वाशिङटनको निर्यात नियन्त्रणले चिनियाँ कम्पनीहरूलाई एनभिडियाको ब्ल्याकवेल र हालै सार्वजनिक गरिएको रुबिन शृंखला जस्ता अत्याधुनिक चिप्स र तिनको उत्पादन गर्न आवश्यक उपकरणहरू प्राप्त गर्न रोक लगाएको छ । कम उन्नत सेमिकन्डक्टरका लागि स्वदेशी चिप निर्माताहरूमा निर्भर हुँदा पनि यी एआई मोडल विकासकर्ताहरूको समस्या समाधान हुँदैन।
‘उनीहरूको समस्या भनेको उनीहरूले आवश्यक मात्रा प्राप्त गर्न सक्दैनन्,’ परामर्शदात्री संस्था अलराइट स्टोनब्रिजका चीन र प्रविधिविज्ञ पल ट्रियोलोले भने । त्यो किनभने अमेरिकी प्रतिबन्धले चिनियाँ चिप निर्माताहरूको उत्पादन बढाउने क्षमतामा पनि बाधा पुर्याएको छ ।
ट्रम्पले रुबिनभन्दा दुई पुस्ता पुरानो एनभिडियाको एच२०० चिप्स निर्यात गर्न अनुमति दिए पनि चीनले तिनको आयातलाई अझै आधिकारिक रूपमा स्वीकृति दिएको छैन । ट्रियोलोका अनुसार यसले बेइजिङलाई धर्मसंकटमा पारेको छ किनकि उसले एकातिर उन्नत चिप्सको तत्काल आवश्यकता र अर्कोतिर आत्मनिर्भरताको दबाबबीच सन्तुलन मिलाउनुपर्नेछ ।
रोयटर्सले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै गत महिना रिपोर्ट गरेअनुसार, डीपसीक, अलिबाबा र अन्य चिनियाँ प्रविधि दिग्गज बाइटडान्स र टेन्सेन्टलाई बेइजिङले निश्चित मात्रामा एच२०० चिप्स खरिद गर्न सशर्त स्वीकृति दिएको छ ।
भेन्चर क्यापिटल मार्फत पटक–पटक रकम जुटाउन सक्ने अमेरिकी स्टार्टअपहरू जस्तो नभई चिनियाँ एआई कम्पनीहरूले सीमित लगानीकर्ता र छिट्टै व्यावसायिक सफलता प्रमाणित गर्नुपर्ने बढ्दो दबाबको सामना गरिरहेका छन् । त्यसले गर्दा जेड डट् एआई र मिनीम्याक्स जस्ता कम्पनीहरू आफ्ना अमेरिकी प्रतिस्पर्धीहरू भन्दा पहिले नै सार्वजनिक रूपमा सूचीकृत हुन बाध्य भएका छन् ।
‘धेरैजसो चिनियाँ कम्पनीहरू जतिसक्दो चाँडो सार्वजनिक हुन खोजिरहेका छन् किनभने उनीहरूले धेरै नगद खर्च गरिरहेका छन् र सार्वजनिक बजारमा जानु यसका लागि सबैभन्दा सजिलो तरिका हो,’ लियोनिस क्यापिटलकी शाओले भनिन् ।
थप चुनौती भनेको चीनको आन्तरिक बजार हो जुन सानो छ र धेरै कस्टमाइजेसनको माग गर्छ जसले गर्दा एआई मोडेल विकासकर्ताहरूलाई नाफा कमाउन गाह्रो भइरहेको उनले थपिन् ।
तैपनि, विज्ञहरूले चीनको दीर्घकालीन सम्भावनालाई कम नआँक्न चेतावनी दिएका छन् ।
चिनियाँ कम्पनीहरूले उपभोक्ता केन्द्रित एप्लिकेसनहरूको द्रुत परिचालन र एआईलाई औद्योगिक प्रयोगमा एकीकृत गर्नमा राम्रो सफलता पाएका छन्, बजार अनुसन्धान संस्था आईडीसीका एआई अनुसन्धान प्रमुख दीपिका गिरीले भनिन् ।
चिनियाँ एआई मोडलहरूका आफ्नै सीमाहरू भए पनि यो प्रविधि झन् सर्वव्यापी बन्दै गएको उनले बताइन् । ‘यो विश्वव्यापी रूपमा उपलब्ध उत्कृष्ट मोडल नहुन सक्छ तर तैपनि उनीहरूले यसलाई एकीकृत गरिरहेका छन् जसले गर्दा एआईको औद्योगिकीकरण अत्यन्त तीव्र गतिमा भइरहेको छ,’ उनले थपिन् ।
बेइजिङले एआईको प्रयोगलाई पनि प्राथमिकतामा राखेको छ । आफ्नो औद्योगिक क्षेत्रलाई स्तरोन्नति गर्ने राष्ट्रिय रणनीतिको हिस्साका रूपमा जनवरीमा उसले उत्पादन क्षेत्रमा एआईको प्रयोग गहिरो बनाउन एउटा कार्ययोजना सार्वजनिक गरेको छ ।
ओपन मोडलदेखि वास्तविक प्रयोगसम्ममा आउँदा बाधाहरूले उसलाई प्रगति गर्नबाट नरोकेको चीनले देखाएको छ ।
हालै टेन्सेन्टमा मुख्य एआई वैज्ञानिकका रूपमा आबद्ध भएका ओपेन एआईका पूर्व अनुसन्धाता याओ शुन्युका अनुसार, चीनले पश्चिमी प्रविधि विकासलाई अत्यन्तै छिटो पछ्याउन वा प्रतिलिपि गर्न सक्ने क्षमता पटक–पटक प्रमाणित गरेको छ र केही क्षेत्रमा त यसभन्दा अझ राम्रो समेत गरेको छ ।
बेइजिङमा टाङ र लिनसँगै सोही सम्मेलनमा बोल्दै उनले देशको शक्तिशाली उत्पादन क्षेत्र र विद्युतीय सवारीसाधन उत्पादनलाई यसको उदाहरणका रूपमा प्रस्तुत गरे ।
तर याओका अनुसार, अमेरिकाभन्दा अघि बढ्न खोजिरहेको चीनका लागि सबैभन्दा ठूलो चुनौती सांस्कृतिक हो । उच्चस्तरीय प्रतिभा प्रशस्त भए पनि जोखिम लिनेहरूको कमी छ ।
‘के हामी वास्तवमै नयाँ प्रतिमानहरूको निर्माणमा नेतृत्व गर्न सक्छौं ? मलाई लाग्छ, एक अर्थमा यो एउटा मुख्य समस्या हो जुन चीनले अझै समाधान गर्न बाँकी छ,’ उनले भने ।








प्रतिक्रिया