क्यानडामा गोलीकाण्ड हुँदा कम्तीमा ९ जनाको मृत्यु


एजेन्सी । क्यानडाको ब्रिटिश कोलम्बियास्थित टम्बलर रिजको एउटा विद्यालय र नजिकैको घरमा बुधबार भएको गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा २५ जना घाइते भएका छन् ।

आक्रमणमा मारिएका ९ जनामध्ये ६ जना टम्बलर रिज सेकेन्डरी स्कूलमा मृत फेला परेका थिए भने सातौं व्यक्तिको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो । अन्य दुईजना नजिकैको एउटा घरमा मृत फेला परेका थिए ।

आक्रमणकारी भनिएका व्यक्ति पनि विद्यालयमै मृत फेला परेका छन् । उनले आफैंलाई चोट पुर्याएर आत्महत्या गरेको देखिएको छ । अधिकारीहरूले आक्रमणकारीको पहिचान खुलेको बताएका छन् तर नाम वा लिंग भने सार्वजनिक गरेका छैनन् ।

त्यस क्षेत्रका फोनहरूमा पठाइएको सेल्टर–इन–प्लेस (सुरक्षित स्थानमा बस्ने) सतर्कता सन्देशमा आक्रमणकारीलाई खैरो कपाल भएकी र ड्रेस लगाएकी महिला भनेर वर्णन गरिएको थियो ।

प्रहरीका अनुसार, आक्रमणपछि कम्तीमा अन्य दुईजनालाई गम्भीर वा ज्यान नै जोखिममा पर्ने खालको चोटका कारण अस्पताल लगिएको छ र करिब २५ जनाको सामान्य चोटपटकको उपचार भइरहेको छ ।

माध्यमिक विद्यालय र नजिकैको प्राथमिक विद्यालय दुवैमा गरिएको लकडाउन हटाइएको छ तर दुवै विद्यालय यस हप्ताभरि नै बन्द रहनेछन् ।

प्रहरीले शंकास्पद व्यक्तिको विस्तृत विवरण सार्वजनिक गर्न बाँकी छ र विद्यालयसँग उनको के सम्बन्ध थियो भन्ने अझै थाहा नभएको बताएको छ ।

विद्यालय र नजिकैको घरमा भएका आक्रमणहरूबीच सम्बन्ध हुन सक्ने प्रहरीको विश्वास छ तर अहिले नै निश्चित रूपमा त्यो जानकारी दिने अवस्थामा उनीहरू छैनन् ।

पीडितहरूको विवरण अझै सार्वजनिक गरिएको छैन ।

अधिकारीहरूबाट थप जानकारी पाउन बाँकी छ तर प्रहरीले यसअघि गोलीकाण्डपछि नजिकैका घरहरूमा खानतलासी जारी राखेको बताएको थियो ।