हङकङका चीनविरोधी मिडिया टाइकुन जिम्मी लाईलाई २० वर्षको कैद सजाय


एजेन्सी । हङकङका पूर्व सञ्चार उद्यमी जिम्मी लाईलाई २० वर्षको कैद सजाय सुनाइएको छ । यससँगै वर्षौंदेखि चलिरहेको कानुनी लडाइँको अन्त्य भएको छ । त्यस लडाइँले कुनै समय स्वतन्त्र मानिने यस आर्थिक केन्द्रमा बेइजिङको कठोर दमनकारी नीतिको प्रतिनिधित्व गर्छ ।

७८ वर्षीय अर्बपति जिम्मी सन् २०२० मा बेइजिङले अर्ध–स्वायत्त दक्षिणी सहरमा व्यापक राष्ट्रिय सुरक्षा कानुन लागू गरेयता आरोपित गरिएका सरकारका सबैभन्दा उच्च तहका आलोचकहरूमध्ये एक हुन् ।

यो सजाय उक्त कानुन अन्तर्गत सुनाइएको अहिलेसम्मकै सबैभन्दा लामो सजाय हो । यसको अर्थ ९० वर्षको उमेर नकाटेसम्म जिम्मी प्यारोलका लागि योग्य हुने छैनन् ।

यस फैसलाले यी प्रजातन्त्रवादी सञ्चार उद्यमीको रिहाइका लागि अन्तर्राष्ट्रिय मागहरूलाई तीव्र बनाएको छ । यस ऐतिहासिक सुनुवाइलाई अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प लगायतका पश्चिमी विश्वका नेताहरूले नजिकबाट नियालिरहेका थिए, जसले यसअघि उनलाई जेलबाट बाहिर निकाल्ने वाचा गरेका थिए ।

ट्रम्पले आगामी महिनाहरूमा आफ्ना चिनियाँ समकक्षी सी चिनपिङलाई भेट्न चीन भ्रमण गर्ने अपेक्षा गरिएको छ र जिम्मीका धेरै समर्थकहरूले उनलाई यो मुद्दा उठाउन दबाब दिनेछन् ।

जिम्मीका छोरा सेबास्टियनले यो सजायलाई अत्यन्तै कठोर र आफ्ना पिताका लागि ज्यानकै जोखिम भएको बताएका छन् । उनकी छोरी क्लेयरले यसलाई अत्यन्तै निर्दयी भनी वर्णन गरेकी छन् ।

‘मैले मेरो बुबाको स्वास्थ्य नाटकीय रूपमा बिग्रिएको देखेको छु र उहाँलाई राखिएको अवस्था झन् खराब हुँदै गएको छ । यो सजाय कार्यान्वयन गरियो भने उहाँको जेलभित्रै शहीदका रूपमा मृत्यु हुनेछ,’ उनले भनिन् ।

हङकङको खुम्चिँदै गएको स्वतन्त्रताबारे जिम्मीको स्पष्ट अभिव्यक्ति र अहिले बन्द भइसकेको एप्पल डेली नामक प्रजातन्त्रपक्षधर ट्याब्लोइड पत्रिकाका संस्थापकका रूपमा उनको भूमिका लामो समयदेखि बेइजिङका लागि टाउकोदुखाइ बनेको थियो ।

बेइजिङ र हङकङ सरकार दुवैले जिम्मीमाथिको मुद्दा राजनीतिक रूपमा प्रेरित भएको वा प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको भन्ने अन्तर्राष्ट्रिय आलोचनाहरूलाई पटक–पटक अस्वीकार गर्दै आएका छन् । अधिकारीहरूले जेलमा जिम्मीले पर्याप्त चिकित्सा सेवा पाइरहेको बताएका छन् ।

हङकङका नेता जोन लीले सोमबार बताए, ‘जिम्मीले नागरिकको दिमागमा विष भर्न, घृणा फैलाउन, तथ्यहरू बंग्याउन, जानाजानी सामाजिक विभाजन सिर्जना गर्न, हिंसाको महिमामण्डन गर्न र चीन तथा हङकङ विशेष प्रशासनिक क्षेत्रमाथि प्रतिबन्ध लगाउन विदेशी शक्तिहरूसँग खुला रूपमा गुहार माग्न एप्पल डेलीको प्रयोग गरेका थिए ।’

वर्षौंसम्म चलेको अदालती लडाइँपछि डिसेम्बर महिनामा जिम्मीलाई दुईवटा राष्ट्रिय सुरक्षा र एउटा राज्यद्रोहको आरोपमा दोषी ठहर गरिएको थियो । सोमबार सजाय सुन्दा सेतो ज्याकेटमा रहेका जिम्मी केही दुब्ला देखिएका थिए र उनले हल्का मुस्कान दिएका थिए ।

अदालतको सत्र सुरु हुनुअघि उनले हात जोडेर ग्यालरीमा बसेकाहरूलाई अभिवादन गरे र आफ्ना ६ पूर्व सहकर्मीहरूलाई हेर्न पछाडि फर्किए जो आफैं पनि सजायको पर्खाइमा थिए ।

ती सहकर्मीहरूलाई पनि ६ वर्ष ९ महिनादेखि १० वर्षसम्मको जेल सजाय सुनाइएको छ । एप्पल डेली र त्यससँग सम्बन्धित कम्पनीहरूलाई ६० लाख हङकङ डलर जरिवाना गरिएको छ ।

बेइजिङको राष्ट्रिय सुरक्षा कानुनले हङकङलाई पूर्ण रूपमा परिवर्तन गरिदिएको छ । अधिकारीहरूले दर्जनौं असन्तुष्टहरूलाई जेल हालेका छन्, नागरिक समाजका समूह र स्वतन्त्र सञ्चारमाध्यमहरूलाई विघटन हुन बाध्य पारेका छन् र शहरको एक समयको जीवन्त राजनीतिक वातावरणलाई निष्प्रभावी बनाएका छन् ।

नगर र राष्ट्रिय अधिकारीहरूले भने सन् २०१९ को विशाल सरकारविरोधी प्रदर्शनपछि यस कानूनले स्थिरता बहाल गरेको बताएका छन् ।

समर्थकहरू जिम्मीको एक झलक पाउनका लागि गत हप्तादेखि नै वेस्ट काउलुन अदालत बाहिर लामबद्ध थिए । प्रहरीले बाहिर सुरक्षा व्यवस्था निकै कडा पारेको थियो र लाइनमा बसेकाहरूको खानतलासी लिएको थियो ।