
एजेन्सी । भर्ना गर्ने वेबसाइट निकै आकर्षक छ जहाँ खुशी देखिने युवा कामदारका तस्बिरहरू टन्नै छन् र पागलपनको गति, अनन्त कौतुहल र ग्राहकप्रतिको जुनून जस्ता उत्साहजनक छोटा नाराहरूले सजाइएको छ ।
अलि तल पढ्नुभयो भने त्यहाँ प्रशस्त सुविधाहरूको वाचा गरिएको छ । प्रतिस्पर्धी तलब, निःशुल्क खाना, जिमको सदस्यता, निःशुल्क स्वास्थ्य र दन्त उपचार आदि । तर, त्यसपछि एउटा शर्त आउँछ ।
प्रत्येक जागिरको विज्ञापनमा एउटा चेतावनी छ । ‘तपाईं न्युयोर्कका केही अत्यन्त महत्त्वाकांक्षी व्यक्तिहरूसँग व्यक्तिगत रूपमा हप्ताको ७० घण्टा काम गर्न उत्साहित हुनुहुन्न भने कृपया सहभागी नहुनुहोस् ।’
यो वेबसाइट न्युयोर्कमा आधारित प्राविधिक कम्पनी रिलाको हो जसले एआई–आधारित प्रणालीहरू बिक्री गर्छ । यसले रोजगारदाताहरूलाई आफ्ना बिक्री प्रतिनिधिहरू बाहिर ग्राहकसँग अन्तर्क्रिया गरिरहेका बेला उनीहरूको निगरानी गर्न अनुमति दिन्छ ।
यो कम्पनी ९९६ भनिने तीव्र गतिको कार्य संस्कृतिको एउटा नमूना बनेको छ जसलाई कहिलेकाहीँ हसल कल्चर वा ग्राइन्डकोर पनि भनिन्छ ।
सामान्य शब्दमा भन्नुपर्दा यसले लामो कार्यघण्टालाई महत्त्व दिन्छ । सामान्यतया बिहान ९ देखि बेलुका ९ सम्म हप्ताको छ दिन काम गर्ने भनिएको छ ।
हामीमध्ये धेरैका लागि यो थकाइलाग्दो हुन सक्छ । तर, रिलाका विकास प्रमुख विल गाओका अनुसार, उनका १२० कर्मचारीहरूले यसलाई त्यसरी हेर्दैनन् ।
‘हामी ओलम्पिक खेलाडीहरू जस्तै जुनून र अनन्त महत्त्वाकांक्षा भएका मानिस खोज्छौं,’ उनी भन्छन्, ‘यस्ता मानिसहरू जो अविश्वसनीय काम गर्न चाहन्छन् र त्यसो गर्दा धेरै रमाइलो पनि गर्छन् ।’
उनी कार्यघण्टा सामान्यतया लामो भए पनि त्यहाँ कुनै कठोर संरचना नरहेको दाबी गर्छन् ।
उनी स्पष्ट पार्छन्, ‘मलाई लाग्यो ओहो, मसँग एउटा उत्कृष्ट आइडिया छ जसमा म काम गरिरहेको छु भने म रातको २ वा ३ बजेसम्म काम गरिरहन्छु र अर्को दिन दिउँसोतिर कार्यालय आउँछु ।’
यस प्रकारको दृष्टिकोण पछिल्ला केही वर्षहरूमा प्रविधि क्षेत्रमा निकै लोकप्रिय भएको छ र यसको ठोस कारण पनि छ । कृत्रिम बुद्धिमत्ता (एआई) को विकास तीव्र गतिमा भइरहेको छ र विश्वभरका कम्पनीहरू यसलाई कसरी प्रयोग गर्ने र पैसा कमाउने भन्ने उपायहरू खोज्न कडा मिहिनेत गरिरहेका छन् ।
एआईका उद्यमहरूमा ठूलो मात्रामा पैसा खन्याइँदैछ जसमध्ये धेरै स्टार्ट–अपहरू छन् । तर, प्रत्येक महत्त्वाकांक्षी संस्थापकका लागि एउटा डर सधैं रहन्छ – कतै अरू कोही पहिले पुग्ने त होइन ? यहाँ समय र गतिको ठूलो महत्त्व छ । त्यसैले प्रविधि क्षेत्रका कामदारहरूलाई छिटो नतिजा ल्याउन कडा र लामो समयसम्म काम गर्न दबाब छ ।
९९६ संस्कृति पहिलोपटक एक दशकअघि चीनमा चर्चामा आएको थियो । चीनले सस्तो सामान बनाउने विश्वको कारखानाबाट आफूलाई उन्नत प्रविधिको नेताका रूपमा स्तरोन्नति गर्न खोजिरहेका बेला त्यहाँका प्रविधि कम्पनीहरू र स्टार्ट–अपहरूले यसलाई अपनाएका थिए ।
यसका केही शक्तिशाली समर्थकहरू थिए । त्यसमा खुद्रा व्यापारको विशाल कम्पनी अलिबाबाका अर्बपति संस्थापक ज्याक मा पनि थिए ।
उनले कर्मचारीहरूका लागि लेखेको एउटा ब्लगमा भनेका थिए, ‘म व्यक्तिगत रूपमा ठान्छु कि ९९६ मा काम गर्न पाउनु एक ठूलो वरदान हो ।’
उनले अर्को पोस्टमा भनेका थिए, ‘उद्यमीहरू मात्र नभई धेरै सफल वा महत्त्वाकांक्षी कलाकार, वैज्ञानिक, खेलाडी, अधिकारी र राजनीतिकर्मीहरू ९९६ वा सोभन्दा बढी काम गर्छन् । यो उनीहरूसँग असाधारण धैर्य भएर होइन तर उनीहरू आफ्नो छनौट गरिएको करियरप्रति गहिरो रूपमा समर्पित भएकाले हो ।’
अर्का उत्साही रिचर्ड ल्यु थिए जो विशाल खुद्रा कम्पनी जेडी डटकमका संस्थापक हुन् । उनले एकपटक देशको घट्दो कार्य नैतिकताको विरोध गरेका थिए ।
उनले सन् २०१९ मा कर्मचारीहरूलाई पठाएको एउटा विवादास्पद इमेलमा लेखेका थिए, ‘अल्छीहरू मेरा दाजुभाइ होइनन् !’
तर, यस्तो मनोवृत्तिले ठूलो विरोध निम्त्यायो । कम्पनीहरूले श्रम कानुनलाई बेवास्ता गरिरहेको, ओभरटाइमको पैसा नदिएको र कर्मचारीहरूलाई अत्यधिक काम गर्न बाध्य पारेको भन्दै अनलाइन गुनासोहरूको लहर चल्यो । सन् २०२१ सम्ममा यो असन्तुष्टि यति बढ्यो कि अधिकारीहरूले यसलाई बेवास्ता गर्न सकेनन् र कानुनी कारबाही सुरु गरे ।
चीनमा ९९६ हराएको त छैन तर यसका समर्थकहरू अहिले धेरै शान्त छन् । यसको एउटा अपवाद बाइडुकी पूर्व जनसम्पर्क प्रमुख कु जिङ थिइन्, जसले सन् २०२४ मा सामाजिक सञ्जालमा कडा परिश्रम गर्ने संस्कृतिको आक्रामक रूपमा बचाउ गर्दै भिडियोहरू पोस्ट गरिन् ।
कर्मचारीहरूको भलाइलाई बेवास्ता गर्दै उनले गरेको टिप्पणी ‘म तिम्री आमा होइन, मलाई नतिजासँग मात्र सरोकार छ’ ले ठूलो आक्रोश पैदा गर्यो । उनले पछि माफी मागिन्, तर अन्ततः उनले आफ्नो जागिर गुमाउनुपर्यो ।
यद्यपि, यस संस्कृतिका प्रशंसकहरू अन्यत्र अझै छन् ।
सन् २०२५ मा भारतीय सफ्टवेयर जायन्ट इन्फोसिसका संस्थापक नारायण मूर्तिले चीनको ९९६ प्रयोगको प्रशंसा गरेका थिए । उनले एउटा टिभी अन्तर्वार्तामा भनेका थिए, ‘कुनै पनि व्यक्ति, समुदाय वा देश कडा परिश्रम नगरी कहिल्यै अगाडि बढेको छैन ।’
त्यसोभए अमेरिकी प्रविधि उद्योगले यो ट्रेन्डलाई किन अपनाएको छ ? यसको मुख्य कारक एआई प्रयोग गर्ने तरिकाहरू विकास गर्ने तीव्र प्रतिस्पर्धा देखिन्छ ।
युरोप र उत्तर अमेरिकामा भर्ना व्यवसाय चलाउने एड्रियन किनर्सले भन्छन्, ‘यो मुख्यतया एआई कम्पनीहरू हुन् । ती कम्पनीहरूले लगानीकर्ताहरूबाट फन्डिङ पाएका छन् र अरू कसैले उछिन्नुअघि आफ्नो उत्पादन बजारमा ल्याउने दौडमा छन् । यसले उनीहरूलाई धेरै समय काम गर्यौं भने दौड जितिन्छ भन्ने सोचतर्फ डोर्याएको छ ।’
ती एआई स्टार्ट–अपहरूमध्ये एउटा जर्मनीमा जन्मेका युवा उद्यमी म्याग्नस मुलरले चलाइरहेका छन् । उनले ब्राउजर–युज नामक कम्पनी सह–स्थापना गरेका छन् । उनी ह्याकर–हाउस (एउटा साझा बस्ने र काम गर्ने ठाउँ) मा बस्छन्, जहाँ उनी र उनका सहकर्मीहरू निरन्तर विचारहरू आदानप्रदान गर्छन् । उनी लामो समय काम गर्नु जीवनको एउटा यथार्थ भएको मान्छन् ।
मुलर भन्छन्, ‘हामीले जुन समस्या समाधान गर्न खोजिरहेका छौं त्यो निकै कठिन र प्रतिस्पर्धी छ । अक्सर राम्रो नतिजा तब मात्र आउँछ जब तपाईं कुनै समस्यामा गहिरो रूपमा डुब्नुहुन्छ… अनि अचानक आश्चर्यजनक कुराहरू हुन्छन् ।’
ब्राउजर–युजमा हाल सातजना मात्र कर्मचारी छन् तर यसले थप भर्ना गर्दैछ । उनी आफू जस्तै मानसिकता भएका मानिसहरू खोजिरहेको बताउँछन् । हप्तामा ४० घण्टा मात्र काम गर्न चाहने व्यक्ति यहाँ फिट नहुने उनी बताउँछन् ।
उनी जोड दिन्छन्, ‘हामी त्यस्ता मानिसहरू खोज्छौं जो कामको लतमा छन् र आफूले गरिरहेको कामलाई माया गर्छन् । यो गेमिङको लत जस्तै हो । हाम्रा लागि यो काम जस्तो लाग्दैन, हामी जे मन पर्छ त्यही गर्छौं ।’
अरूहरू यसमा असहमत छन् । मेन्लो भेन्चर्सका साझेदार डिडी दासका अनुसार, युवा उद्यमीहरूले गर्ने सबैभन्दा ठूलो गल्ती आफ्ना कर्मचारीहरूलाई ९९६ शैलीमा काम गर्न बाध्य पार्नु हो ।
उनी भन्छन्, ‘मलाई लाग्छ युवा संस्थापकहरूले के कुरामा गल्ती गर्छन् भने उनीहरू काम गरेको घण्टालाई नै उत्पादकत्वको मानक मान्छन् । यो एक भ्रम हो ।’
यस्तो दृष्टिकोणले परिवार भएका व्यक्ति र अनुभवी पुराना कर्मचारीहरूलाई टाढा बनाउन सक्छ जो वास्तवमा कम काम गरेर धेरै उपलब्धि हासिल गर्न सक्छन् किनभने उनीहरूलाई के गर्ने भन्ने थाहा हुन्छ, उनी सोच्छन् । निरन्तर लामो समय काम गर्दा बर्नआउट (मानसिक र शारीरिक थकान) हुने उनले थपे ।
यद्यपि, कम्पनीका संस्थापकहरूका लागि भने फरक नियमहरू लागु हुन्छन् किनकि उनीहरूको ठूलो लगानी र सफल भएमा धनी हुने सम्भावना रहने उनी स्वीकार गर्छन् ।
तर, जसले राति ढिलासम्म काम गर्छन् उनीहरूले यसको ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ ।
लामो समय काम गर्दा स्वास्थ्यमा पर्ने प्रभावबारे चिन्ता नयाँ भने होइन । जापानमा कडा परिश्रम गर्ने पुरानो संस्कृति छ । त्यहाँ यसका लागि एउटा शब्द नै छ, कारोसी ।
यसको अर्थ अत्यधिक कामले गर्दा हुने मृत्यु हो जसले मुख्यतया धेरै काम गर्ने मानिसहरूलाई हुने स्ट्रोक र हृदयघातलाई जनाउँछ । त्यस्तै, कारोजिसाचुले कार्यस्थलको तनावका कारण आत्महत्या गर्ने वा प्रयास गर्नेहरूलाई जनाउँछ ।
यी दुवैलाई जापानी कानुनमा मान्यता दिइएको छ र परिवारहरू क्षतिपूर्तिका लागि योग्य हुन्छन्, यद्यपि मृत्यु अत्यधिक कामकै कारण भएको हो भनेर प्रमाणित गर्न गाह्रो हुन सक्छ ।
लामो कार्यघण्टा (हप्तामा ५५ घण्टाभन्दा बढी) का कारण सन् २०१६ मा विश्वभर स्ट्रोक र मुटुको रोगबाट ७ लाख ४५ हजार मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा सन् २०२१ मा प्रकाशित विश्लेषणले निष्कर्ष निकालेको छ ।
त्यसपछि आउँछ उत्पादकत्व । अर्थात्, प्रत्येक घण्टाको कामबाट वास्तवमा कति उपलब्धि भयो ।
कामको घण्टा बढ्दै जाँदा सुरुमा उत्पादकत्व बढ्छ तर एक निश्चित सीमामा पुगेपछि शारीरिक र मानसिक थकानका कारण त्यो घट्न थाल्छ भनी अध्ययनहरूले देखाएका छन् । हप्ताको ४० घण्टालाई उत्पादकत्वका लागि सही बिन्दु मानिन्छ ।
एउटा भर्खरैको अध्ययनले भनेको छ, ‘हप्ताको ४० घण्टा काम गर्दा कर्मचारीहरूले उत्पादकत्व राम्रोसँग कायम राख्न सक्छन् । तर यो सीमा नाघेपछि थकान र खराब स्वास्थ्यका कारण कार्यसम्पादन कमजोर हुँदै जान्छ ।’
मिशिगन स्टेट युनिभर्सिटीका अनुसार, उत्पादकत्व यति धेरै खस्कन सक्छ कि हप्तामा ७० घण्टा काम गर्ने कर्मचारी र ५० घण्टा काम गर्ने कर्मचारीको नतिजामा खासै फरक हुँदैन ।’
यो कुनै नयाँ अवधारणा होइन । एक शताब्दीअघि हेनरी फोर्डले आफ्ना कार कारखानाका कर्मचारीहरूको कार्यघण्टा घटाएर हप्तामा ४० घण्टा र पाँच दिनको काम सुरु गरेर एउटा उदाहरण सेट गरेका थिए ।
यति हुँदाहुँदै पनि बेलायती कम्पनीहरूले अमेरिकी प्रविधि क्षेत्रबाट सिक्नुपर्छ भन्ने कुरा मान्नेहरू पनि छन् ।
उदाहरणका लागि, ब्रूडगका सह–संस्थापक जेम्स वाटले भनेका थिए, ‘मलाई लाग्छ वर्क–लाइफ ब्यालेन्सको अवधारणा आफ्नो कामलाई घृणा गर्नेहरूले बनाएका हुन् । तपाईं आफ्नो कामलाई माया गर्नुहुन्छ भने तपाईंलाई ब्यालेन्स होइन वर्क–लाइफ इन्टिग्रेशन (एकीकरण) चाहिन्छ ।’
ठूला कर्पोरेट ल फर्महरू र इन्भेस्टमेन्ट बैंकिङमा पनि लामो समय काम गर्ने संस्कृति कुख्यात छ । केही क्षेत्रमा हप्तामा १०० घण्टासम्म काम हुने गरेको बताइन्छ ।
के यो वैध छ ? बेलायती कानुनअनुसार, कर्मचारीहरूले औसतमा हप्ताको ४८ घण्टाभन्दा बढी काम गर्नुपर्दैन । तर मानिसहरूले चाहेमा लामो समय काम गर्न मन्जुरी दिन सक्छन् ।
तर, मानव संसाधनविज्ञ बेन विल्मट लामो समय काम गर्दा राम्रो कार्यसम्पादन हुन्छ भन्ने कुरा गलत भएको अध्ययनहरूले देखाएका छन् ।
उनी भन्छन्, ‘लामो समय काम गर्नु र उत्पादकत्वबीच कुनै सम्बन्ध देखिएको छैन । त्यसैले ध्यान धेरै समय काम गर्नेमा होइन बरु कसरी स्मार्ट तरिकाले काम गर्ने, प्रविधिको प्रयोग गर्ने र एआई अपनाएर उत्पादकत्व बढाउने भन्नेमा हुनुपर्छ ।’
केही अभियन्ताहरू त बेलायतले हप्तामा चार दिन मात्र काम गर्ने प्रणाली अपनाउनुपर्ने बताउँछन् । सन् २०२२ को एउटा पाइलट प्रोजेक्टले देखाएअनुसार, कार्यघण्टा घटाउँदा तनाव कम हुन्छ र कर्मचारीहरू कम्पनीमा टिकिरहन्छन् जबकि उत्पादकत्वमा कुनै कमी आउँदैन ।
अन्त्यमा, ब्राउजर–युजका संस्थापक म्याग्नस मुलरका लागि भने उनी र उनका साथीहरूले सिलिकन भ्यालीमा गर्ने काम कुनै ठूलो कुरा होइन ।
उनी भन्छन्, ‘म दक्षिण जर्मनीको एउटा सानो गाउँबाट आएको हुँ । त्यहाँका किसानहरू दिनहुँ बिहान ५ बजे उठ्छन् र हप्ताको सातै दिन १२ घण्टाभन्दा बढी काम गर्छन् । उनीहरू बिदा पनि लिँदैनन् । त्यसैले अरू धेरै उद्योगहरू छन् जहाँ मानिसहरू यसभन्दा धेरै कठिन र कडा परिश्रम गर्छन् । उनीहरूको तुलनामा हामीले गरिरहेको काम त बच्चाको खेल जस्तै हो ।’








प्रतिक्रिया