जापानमा प्रधानमन्त्री सानाए तकाइचीले जित्लिन् मध्यावधि चुनाव ?



एजेन्सी । ४६५ सदस्यीय प्रतिनिधिसभाका लागि जापानभरि आइतबार महत्त्वपूर्ण निर्वाचनको मतदान सुरु भएको छ ।

यसलाई प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्व र उनको लिबरल डेमोक्रेटिक पार्टी (एलडीए) नेतृत्वको सरकारमाथिको जनमतसंग्रहको रूपमा हेरिएको छ । चुनावी परिणामपछि ताकाइचीले आफ्नो पद बलियो बनाउनेछिन् वा आफ्ना नीति र टिप्पणीहरूको बढ्दो छानबिनका बीच राजनीतिक अनिश्चितताको सामना गर्नेछिन् भन्ने कुरा निर्धारण गर्नेछ ।

सत्ताधारी एलडीएले निर्वाचनका लागि तुलनात्मक रूपमा सामान्य लक्ष्य राखेको छ । त्यसअनुसार जापान इनोभेसन पार्टीसँगको गठबन्धनले तल्लो सदनमा सामान्य बहुमत प्राप्त गर्ने लक्ष्य लिएको छ । तर, पार्टीभित्रका जानकारहरूका अनुसार एलडीएले थप बलियो जनादेशको आशा गरिरहेको छ । उसले एक्लै कम्तीमा २३३ सिट जित्ने लक्ष्य राखेको छ । पूर्ण बहुमतका लागि त्यति सिट चाहिन्छ ।

स्पष्ट एकल जीतले पार्टीभित्र ताकाइचीको अधिकारलाई मजबुत बनाउनेछ र उनको नीति निर्माण गर्ने हात बलियो बनाउनेछ । तर, एलडीए र जेआईपी गठबन्धनले संयुक्त बहुमत कायम राख्न असफल भएमा ताकाइचीलाई राजीनामा दिन दबाब बढ्न सक्छ । त्यसले जापानलाई पुनः राजनीतिक अस्थिरताको अर्को चरणमा धकेल्न सक्ने द जापान टाइम्सले लेखेको छ । जापानले विगत करिब तीन वर्षमा चारजना प्रधानमन्त्री देखिसकेको छ ।

निर्वाचन पूर्वका सर्वेक्षणहरूले एलडीए एक्लै बहुमत प्राप्त गर्ने दिशामा बढिरहेको संकेत गरेका छन् भने विपक्षीहरूले प्रभाव जमाउन संघर्ष गरिरहेका छन् । भर्खरै गठन भएको सेन्ट्रिस्ट रिफर्म एलायन्स, जुन कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी अफ जापान र कोमेइतो बीचको गठबन्धन हो, ले आफ्नो पकड गुमाउने प्रक्षेपण गरिएको छ ।

ताकाइचीको चुनावी अभियानले कमजोर येनको समर्थन गरेको मानिएको टिप्पणी, खाद्य वस्तुमा उपभोग कर कटौती गर्ने वा नगर्ने भन्नेमा अस्पष्टता र अमेरिका–जापान गठबन्धनबारे अप्रत्याशित टिप्पणीहरू सहित धेरै सार्वजनिक विवादहरूको सामना गरेको छ । यी कमजोरीहरूका बावजुद आर्थिक सक्षमता र स्थिरताको बुझाइका कारण जनमत अझै पनि एलडीएतिरै ढल्किएको छ ।

अनिश्चित समयमा आफूलाई एक स्थिर नेतृत्वको रूपमा प्रस्तुत गर्दै जापानकी प्रधानमन्त्री ताकाइचीले रणनीतिक क्षेत्रहरूमा सरकारी खर्च बढाउने, जापानको विश्वव्यापी आर्थिक प्रतिस्पर्धात्मकता पुनर्जीवित गर्ने र अध्यागमन नीतिहरू कडा बनाउने प्रतिज्ञा गरिन् । सत्तारूढ गठबन्धनको सन्देश मुख्यतया आर्थिक पुनरुत्थान र राष्ट्रिय सुरक्षामा केन्द्रित छ जुन मुद्रास्फीति र बाह्य भूराजनीतिक तनावबाट चिन्तित मतदाताहरूका बीचमा निकै सान्दर्भिक बनेका छन् ।

जापान इनोभेसन पार्टीलाई निप्पन इशिन नो काई पनि भनिन्छ । उसका लागि यो प्रतिस्पर्धा ओसाकास्थित आफ्नो परम्परागत शक्ति केन्द्रभन्दा बाहिर विस्तार गर्ने क्षमताको महत्त्वपूर्ण परीक्षण हो । विगतका चुनावहरू जस्तो नभई, यस पटक एलडीए र वेआईपी ले एकल–सिट निर्वाचन क्षेत्रहरूमा उम्मेदवारहरूको तालमेल गरेनन् । त्यसले गर्दा ओसाकाका सबै १९ वटै निर्वाचन क्षेत्रहरूमा प्रत्यक्ष प्रतिस्पर्धा भएको छ ।

साथै, वेआईपीले ओसाकामा स्थानीय चुनावको पनि सामना गरिरहेको छ जहाँ गभर्नर हिरोफुमी योशिमुरा र मेयर हिदेयुकी योकोयामाले शहरका वडाहरूलाई एउटै महानगर सरकारमा गाभ्ने प्रस्तावका लागि अभियान चलाइरहेका छन् । यो ओसाकालाई जापानको दोस्रो राजधानीका रूपमा स्थापित गर्ने पार्टीको दीर्घकालीन लक्ष्यको मुख्य आधार हो ।

सेन्ट्रिस्ट रिफर्म एलायन्सले २०० भन्दा बढी एकल–सदस्यीय निर्वाचन क्षेत्रहरूमा उम्मेदवारहरू उठाएको छ तर समग्रमा सिटहरू गुमाउने प्रक्षेपण गरिएको छ । यसको नेतृत्वले निर्वाचनलाई तल्लो सदनमा सबैभन्दा ठूलो विपक्षी शक्ति बन्ने लडाइँको रूपमा प्रस्तुत गरेको छ ।

सीआरएले सांसदहरूको चार वर्षको कार्यकालको एक तिहाइ समय मात्र बाँकी छँदा मध्यावधि चुनाव आह्वान गर्ने ताकाइचीको निर्णयको कडा आलोचना गर्दै यसलाई आवश्यकता भन्दा पनि राजनीतिक सुविधाका लागि चालिएको कदम भनेको छ । यसले हालैको बजार अस्थिरतालाई उनको वित्तीय व्यवस्थापनप्रति लगानीकर्ताहरूको चिन्ताको प्रमाणको रूपमा पनि औंल्याएको छ । विशेषगरी प्रस्तावित खाद्यान्न कर कटौतीले जापानको ऋणपत्र बजारलाई प्रभावित गरेको थियो ।

डेमोक्रेटिक पार्टी फर द पिपुल र सान्सेइतो लगायतका साना समूहहरूले पनि सत्तापक्षसँग हुनसक्ने सम्भावित सहकार्यको हल्लाका बावजुद ताकाइचीविरुद्ध आक्रामक अभियान चलाए ।

पूर्वी र उत्तरी जापानमा अत्यधिक चिसो र भारी हिमपातका बीच चुनावी अभियान सञ्चालन भएको छ जसले बाहिरी मतदाता पहुँचलाई उल्लेखनीय रूपमा प्रभावित गर्यो । यो निर्वाचन ३६ वर्षपछिको पहिलो हिउँदमा गरिएको तल्लो सदनको चुनाव पनि हो जहाँ सबै ४६५ सिटहरू, २८९ एकल–सिट निर्वाचन क्षेत्रबाट र १७६ समानुपातिक प्रतिनिधित्व मार्फत, प्रतिस्पर्धामा छन् ।

मतदान केन्द्रहरू बेलुका ८ बजे बन्द हुनेछन् र त्यसको केही समयपछि सञ्चारमाध्यमका प्रक्षेपणहरू आउने अपेक्षा गरिएको द जापान टाइम्सले रिपोर्ट गरेको छ ।

Skip This