विष पिएरै भए पनि पार्टीभित्रको एकता कायम गरिछाड्छु: शेखर


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्ताहरुसँग छलफल गरेका छन् ।

छलफलमा डा. कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताए । पार्टीलाई फूटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए ।

कोइरालाले आफु बिष पिएरै भए पनि पार्टीभित्रको एकता कायम गरिछाड्ने अन्तिम प्रयासमा जुटिरहेको बताए ।

कोइरालाले भने, ‘ पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरुसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुन्न भनेर कुरा गरिहेको छु,’ उनले भने,’तपाइहरु ढुक्क हुनुस, पार्टी फुटदैन । तपाईहरु पनि त्यसैमा लाग्नुस। निरास हुने कामै छैन ।’

उक्त छलफलमा कानुन व्यवसायीहरुले नेपाली कांग्रेसको विधान अनुसार बिशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र भएको बताए । अहिले महामन्त्रीहरुले बोलाएको बिशेष महाधिवेशन वैध पनि नभएको र नेतृत्व परिवर्तन गर्न नमिल्ने बताए ।

उक्त छलफलमा सबै नेता तथा कार्यकर्ताहरुले पार्टीलाई फूटबाट जोगाउन डा. शेखर कोइरालाले दुबै पक्षसँग सहजीकरण गरी पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेको थिए ।

छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरु बल ब. केसी, मिनेन्द्र रिजाल, बरिष्ठ अधिबक्ताहरु- शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपाने लगायतको सहभागीता रहेको थियो ।