सिद्धार्थ प्रिमियरमा कर्मचारी विभेद

असन्तुष्टि राख्दा सीईओको बारम्बार धम्की, मञ्जुरीनामा गराउन प्रमोसन रोक्नेदेखि सरुवाको चेतावनी

1k
Shares

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहितको उच्च व्यवस्थापनले कर्मचारीहरूलाई जागिर छोड्न वा चुपचाप विभेद सहन भन्दै धम्की दिने गरेको पाइएको छ । प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनी समान हैसियतमा मर्ज भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बनेपछि प्रिमियर इन्स्योरेन्सतर्फका कर्मचारीमाथि कम्पनीले चरम विभेद गर्दै आएको छ ।

प्रिमियरबाट आएका कर्मचारीमाथि सेवासुविधाका सवालमा चरम विभेद भएपछि कर्मचारीले सो विषय कम्पनी व्यवस्थापनसँग राखेका थिए । तर, कर्मचारीको गुनासो सुनेर समाधानको बाटो खोज्ने भन्दा पनि सीईओले मानसिक दबाब दिँदै ‘काम गर्ने भए गर, नत्र छोडेर जाउ’ भनि धम्क्याउने गरेको गुनासो कर्मचारीले गरेका छन् ।

झन् अहिले त कम्पनीले आफ्ना कर्मचारीहरुलाई ‘सेवा सर्त सम्बन्धी विनियमावली २०८१ को विनियम ३(२) सँग सम्बन्धित मञ्जुरीनामा फारम’ वितरण गरी भर्नका लागि तीब्र दबाब दिइरहेको छ । मञ्जुरीनामा फारम भर्न नमान्ने कर्मचारीको ग्रेड रोकिने, प्रमोसन नहुने र ट्रान्सफर गरिदिनेसम्मको धम्की दिने गरेको कर्मचारी सुनाउँछन् ।

‘मर्जपछि प्रिमियर इन्स्योरेन्सतर्फका कर्मचारीको सेवा–सुविधा, मेडिकल सुविधा, अवकाशपछिको लाभ तथा सामाजिक सुरक्षा कोष (एसएसएफ) जस्ता विषयमा प्रत्येक्ष विभेद भयो । सो विषयको असन्तुष्टि लिएर हामी कर्मचारी व्यवस्थापनसँग पहिल्यै एकपटक बसेका थियौं,’ एक कर्मचारीले क्लिकमान्डुसँग भने, ‘तर, यी विषय उठाउँदा सीईओले थर्काउनु भयो । त्यसपछि कोही पनि यो विषयमा बोल्न सक्ने अवस्था रहेन ।’

उनले सीईओले थर्काएपछि विभेदको विषय कसैले उठाउन नसकेको र सबै कर्मचारीले बाध्य भएर चुपचाप काम गरिरहेको जानकारी दिए । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार हुन् जो साविकको सिद्धार्थ इन्स्योरेन्स कम्पनीका पनि सीईओ नै थिए । त्यसैले उनले सिद्धार्थतर्फका कर्मचारीलाई र प्रिमियरतर्फका कर्मचारीलाई गर्ने व्यवहार फरक भएको आरोप छ ।

‘अहिले पनि मञ्जुरीनामा फारममा साइन नगरे ग्रेड रोकिन्छ, प्रमोसन हुँदैन, ट्रान्सफर गरिदिन्छौँ भनेर धम्की दिइएको छ,’ ती कर्मचारीले भने, ‘हामीलाई डर देखाएर ‘मन्जुर छ’ भन्ने फर्ममा जबर्जस्ती साइन गराइँदैछ ।’ उनले सीईओले नै सक्रिय भएर थर्काएपछि सबै कर्मचारीले बाध्य भएर मञ्जुरीनामा फारम भरिरहेको सुनाए ।

मर्जरपछिको सिद्धार्थ प्रिमियरको उच्च व्यवस्थापनमा पूर्व सिद्धार्थ तर्फका पदाधिकारीहरूको बाहुल्यता रहेको छ । सीईओदेखि कम्पनीको उच्च व्यवस्थापनमा सिद्धार्थतर्फका व्यक्ति नै बढी छन् । सोही शक्तिको आडमा पूर्व प्रिमियरका कर्मचारीमाथि सेवा–सुविधा, मेडिकल सुविधा, अवकाशपछिको लाभ र सामाजिक सुरक्षा कोष जस्ता आधारभूत विषयमा विभेद भएको प्रिमियरतर्फका कर्मचारीको आरोप छ ।

आफ्ना जायज माग र असन्तुष्टि लिएर छलफलमा पुग्ने कर्मचारीहरूलाई समस्या समाधान गर्नुको साटो सीईओ सहितको टोलीले उल्टै धम्कीपूर्ण व्यवहार गर्ने गरेपछि कति सहने भनेर बोल्नुपर्ने स्थिति सिर्जना भएको समेत ती कर्मचारीले उल्लेख गरे । मर्जपछि माथिल्लो नेतृत्व सिद्धार्थ पक्षको वर्चस्वमा पुगेपछि प्रिमियरका लामो समयदेखि काम गरिरहेका कर्मचारीमाथि योजनाबद्ध विभेद भएको उनीहरूको आरोप छ ।

‘समान हैसियतमा मर्ज भएपछि त कर्मचारीका सबै किसिमको सेवा सुविधा एउटै हुनुपर्ने हो । तर, पहिला प्रिमियरमा रहेका राम्रो पक्षलाई मर्जपछि दिइएन र हटाउने काम भयो । पहिला प्रिमियरमा हुँदा उपलब्ध मेडिकल इन्स्योरेन्स मर्जपछि दुई वर्ष ग्रस स्यालरीमा गाभियो, विरोध गरेपछि फेरि मेडिकल नै हटाइयो,’ अर्का एक कर्मचारीले भने, ‘सिद्धार्थको हकमा भने उनीहरुलाई पहिला दिइएको सुविधामा थप बढी थप्ने काम गरियो ।’

एउटै कम्पनी र समान काम हुँदासमेत सेवा-सुविधा भने दुईथरी भएको ती कर्मचारीको दाबी छ । मर्जपछि समान संस्थामा बसे पनि फरक व्यवहार र सुविधा लागू गर्नु स्वभाविक नभएकोले यसमा नियामक बिमा प्राधिकरणले समेत निष्पक्ष हस्तक्षेप आवश्यक रहेको कर्मचारीको भनाइ छ ।

मर्जरको मर्मविपरीत कर्मचारीको मनोबल गिराउने र कार्यस्थलमा एकै कम्पनीका कर्मचारीलाई दुईथरी व्यवहार हुने गरेको विषय कम्पनीका पूर्व कर्मचारीसमेत स्वीकार गर्छन् । ‘सिद्धार्थ र प्रिमियर मर्जपछि खासगरी उपदान र सामाजिक सुरक्षाको विषयमा पूर्व प्रिमियरतर्फका कर्मचारीमाथि कम्पनीले विभेद गरेको छ । यस्तो कार्य मर्जको सुरुवाती समयदेखि नै भएको हो,’ कम्पनीका एक पूर्व कर्मचारीले भने, ‘मर्जपछि पनि मैले केही समय काम गरेको थियो जुन बेलादेखि नै विभेदको काम सुरु भएको थियो ।’

उनका अनुसार मर्जको बेला दुवै कम्पनीका कर्मचारीलाई समान सेवा-सर्त लागू हुने सहमति भएको थियो तर व्यवहारमा भने पूर्व सिद्धार्थ इन्स्योरेन्सका कर्मचारीलाई प्राथमिकता दिने र प्रिमियर इन्स्योरेन्सतर्फका कर्मचारीलाई विभेद गर्ने काम मर्जको सुरुवाती दिन देखिनै भएको हो ।

विशेषगरी मर्जपछि सेवा सर्त सम्बन्धी विनियमावली कार्यान्वयनमा ल्याउँदै विभेद अझै संस्थागत बनाइएको र कर्मचारीले असन्तुष्टि पोख्ने बाटोसमेत पूर्ण रुपमा बन्द गर्ने बाटोमा कम्पनी अघि बढेको आरोप कर्मचारीहरुले लगाइरहेका छन् ।

हुन त दुई कम्पनी मर्ज हुनसाथ पनि केही कर्मचारीले सेवासुविधाको विषयलाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए । २०–२२ वर्षसम्म कम्पनीमा इमानदारीपूर्वक काम गरेको भन्दै एक कर्मचारीले मर्ज लगत्तै नियुक्तिपत्र र कम्पनीकै विनियममा उल्लेख भएको सेवा–सुविधा माग गर्दै श्रम कार्यालय टेकुमा मुद्दा दर्ता गरेका थिए ।

नभन्दै अदालतले उनको पक्षमा फैसला गरेको थियो । ‘मैले २०–२२ वर्षसम्म कम्पनीमा इमानदारीपूर्वक काम गरेँ । कुनै अतिरिक्त सुविधा मागेको थिइन र नियुक्तिपत्र तथा कम्पनीकै विनियममा उल्लेख भएको सेवा–सुविधा मागेको थिए,’ ती कर्मचारीले क्लिकमान्डुसँग भने, ‘कम्पनीले नदिएपछि श्रम कार्यालय टेकुमा कानुनी उपचारमा गए र फैसला मेरो पक्षमा आयो।’

उनले मर्ज वा कुनै पनि बहानामा कर्मचारीको तोकिएको सेवासुविधा कटौति गर्न नमिल्ने भन्दै आफू सोही कदमको विरुद्ध कानुनी उपचारमा गएको सुनाए । यहि मुद्दालाई नजिर मानेर अन्य कर्मचारी पनि अदालत जान्छन् भनेर हाल सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्ना कर्मचारीहरुलाई ‘सेवा सर्त सम्बन्धी विनियमावली २०८१ को विनियम ३(२) सँग सम्बन्धित मञ्जुरीनामा फारम’ वितरण गरी धमाधम भर्न निर्देशन दिइरहेको छ ।

कम्पनीले कर्मचारी सेवा सर्त सम्बन्धी विनियमावली २०८१ ले व्यवस्था गरेबमोजिम सेवामा रहँदा तथा अवकाश पश्चात प्राप्त हुने सेवा सर्त तथा सम्पूर्ण सुविधाका सम्बन्धमा मन्जुरी रहेको भनि फारम भरेर बुझाउन कर्मचारीलाई निर्देशन दिइरहेको हो ।

‘विनियमावलीमा गरिएको सेवा सुविधाका सबन्धबमा मेरो मन्जुरी वा सहमती थिएन भनि सेवामा रहँदा वा अवकाश पश्चात कुनै पनि अवस्थामा कम्पनी वा व्यवस्थापन विरुद्ध कहीँ कतै उजुर बाजुर मुद्दा मामिला गर्ने छैन,’ कम्पनीले कर्मचारीलाई भर्न लगाएका फारममा भनिएको छ, ‘ मुद्दा मामिला गरे यसै कागजले बदर होस् भनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको कार्यालयमा बसी यो मञ्जुरीनामा फारम लेखिएको व्यहोरा पढी वाची यसको मतलब र परिणाम समेत जानी बुझी मेरो मनोमान खुसी राजी साथ स्वेच्छापूर्वक पेस गरेको छु ।’

नियुक्ति हुँदाको समयमा बहाल रहेको कर्मचारी सम्बन्धी विनियमावली खारेज भई मिति २०७६ बैशाख १ गते देखि लागू भएको कर्मचारी सेवा विनियमावली २०७५, मिति २०७९ फागुन १७ गते एकीकृत कारोबारको अघिल्लो दिनसम्म साविक कम्पनीको सञ्चालक समिति एवम् व्यवस्थापनद्वारा कर्मचारीको सेवा, सर्त तथा सुविधाको सम्बन्धमा गरिएको नितिगत निर्णय, व्यवस्थाको सम्बन्धमा मलाई पूर्ण रुपमा थाहा जानकारी रहेको छ भन्ने विषय पनि कर्मचारीलाई वितरण गरिएको फारममा उल्लेख छ ।

‘सो अनुरुप प्राप्त गर्ने सेवा, सर्त तथा सम्पूर्ण सुविधा (सञ्चयकोष, बिदा, बिमा, उपचार खर्च, उपदान, अवकास लगायतका) मा म पूर्णरुपमा सहमत भई कम्पनीको सेवालाई निरन्तरता दिँदै आएको र साविक सिद्धार्थ इन्स्योरेन्स र साविक प्रिमियर इन्स्योरेन्स एक आपसमा गाभिई बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले नयाँ कर्मचारी विनियमावली तर्जुमा गरी नेपाल बिमा प्राधिकरणबाट स्वीकृत लिएको थियो ।

जसअनुसार २०८२ कात्तिक १ गते देखि लागू भएको कर्मचारी सेवा सर्त सम्बन्धी विनियमावली २०५१ मा रहेका व्यवस्थाहरुको जानकारी लिई सेवा, सर्त तथा सम्पूर्ण सुविधाका सम्बन्धमा पूर्णरुपमा सहमत भएको प्रतिबद्धता कर्मचारीबाट माग गरिएको छ । अब कर्मचारी मुद्दा लिएर अदालत नपुगुन् भन्ने उद्देशयका साथ कम्पनीले हतारहतार मञ्जुरीनामा फारम भर्न दबाब दिइरहेको हो ।

बिमा कम्पनीले बोर्डको निर्देशन भन्दै फारम बुझाउन इमेलमार्फत दबाब दिइरहेको कर्मचारीहरु बताउँछन् । कर्मचारीहरूका अनुसार फारम साइन नगरे पदोन्नती रोक्ने, ग्रेड वृद्धि नहुने, सरुवा गरिने तथा अवकाशपछि पाउने सुविधा समेत रोक्का गर्ने मौखिक तथा लिखित धम्की दिइएको छ । यसले कर्मचारीलाई बाध्यतामा सहमति जनाउन विवश बनाएको उनीहरूको आरोप छ ।

प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स समान हैसियतमा मर्ज भएर २०७९ फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गरेका थिए ।

कम्पनीले कात्तिक १ देखि लागू गरेको नयाँ विनियमावलीअनुसा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सभित्र पूर्वसिद्धार्थ इन्स्योरेन्सका कर्मचारीले १० वर्षसम्मका सेवा अवधिका लागि एक महिनाको तलब, ११ देखि १५ वर्षसम्मका लागि डेढ महिनाको तलब र १६ वर्ष भन्दा माथिको लागि दुई महिनाको तलब उपदान स्वरुप पाउने व्यवस्था गरिएको छ । तर, पूर्व प्रिमियर इन्स्योरेन्सका कर्मचारीलाई भने जति वर्षसम्म सेवा गरे पनि एक महिनाको मात्र उपदान दिने व्यवस्था छ ।

कर्मचारीका अनुसार पूर्व सिद्धार्थका कर्मचारीलाई अवकाश उमेर ५८ वर्ष कायम गरिए पनि लाभ भने ६० वर्षसम्मको गणना गरेर दिइने व्यवस्था छ । तर, पूर्व प्रिमियरका कर्मचारीको हकमा भने अवकास उमेर ५८ वर्ष नै कायम भएपनि त्यसबाट पाउने लाभ भने ५८ वर्षमै सीमित गरिएको छ ।

यसका अलावा, मर्जअघि प्रिमियर इन्स्योरेन्समा कर्मचारीलाई छुट्टै मेडिकल इन्स्योरेन्स सुविधा उपलब्ध थियो । तर, मर्जपछि त्यो सुविधा हटाइएको छ । केही समय मेडिकल खर्च बराबरको रकम ‘ग्रस स्यालरी’मा गाभेर दिइए पनि पछि विरोध बढेपछि सो रकम पूर्ण रूपमा स्यालरीमै समायोजन गरिएको छ ।

मर्ज अघि प्रिमियर इन्स्योरेन्सका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको थियो । तर, सिद्धार्थका कर्मचारीलाई भने कर्मचारी सञ्चय कोषको सुविधा थियो । मर्ज पछिको विगत तीन वर्षदेखि कम्पनीले आधा कर्मचारी सामाजिक सुरक्षा र आधा कर्मचारी कर्मचारी सञ्चय कोषमा नै आबद्ध गराउँदै आएको छ ।

यतिमात्रै होइन, मर्जपछि प्रिमियरका कर्मचारीलाई सामाजिक सुरक्षामा आबद्ध भएको कारण देखाउँदै उपदान, अवकाश सुविधा र अन्य लाभ नदिइएको तथा सिद्धार्थका कर्मचारीको तुलनामा कम दिइएको आरोप कर्मचारीको छ । सिद्धार्थ इन्स्योरेन्सका कर्मचारीलाई भने सामाजिक जाने-नजाने विकल्प दिइएको तर, प्रिमियरका कर्मचारीलाई भने त्यस्तो विकल्प नदिइएको कर्मचारीको दाबी छ ।

तर, कम्पनीले भने कर्मचारीको यो आरोपमा कुनै सत्यता नभएको विषय राख्दै आएको छ । कम्पनीका सूचना अधिकारी सुदर्शन आचार्य सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले कर्मचारीमाथि कुनै पनि प्रकारको भेदभाव नगरेको र हाल कार्यान्वयनमा रहेको कर्मचारी विनियमावली मर्जरको समयमा भएको व्यवस्थाकै निरन्तरता भएको बताउँछन् । कर्मचारीहरूबीच सेवा सुविधामा विभेद गरिएको भन्ने आरोपमा कुनै सत्यता नभएको दाबी गरे ।

‘हिजो दुई कम्पनी मर्ज गर्दा जे–जस्ता सीमा र सर्त राखिएका थिए त्यसभन्दा कम्पनी दाँयाबाँयाँ गएको छैन र जान पनि मिल्दनै,’ आचार्यले भने, ‘मर्जरको बेला जुन विनियमावली कार्यान्वयनमा थियो, त्यसमा जे लेखिएको छ, हामीले एउटा कमा पनि हटाएका छैनौं ।’ उनले कर्मचारीले लगाएको विभेदको आरोपमा कुनै सत्यता भएको स्पष्ट पारे ।

प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स एक आपसमा मर्ज भई २०७९ फागुन १७ गते बुधबारबाट एकीकृत कारोबार सुरु गरेका थिए । मर्जरपश्चात सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नाममा एकीकृत कारोबार सुरु गरिएको थियो । दुवै कम्पनीको २०७९ पुस २९ गते सम्पन्नसाधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो ।

यसपछि, बिमा प्राधिकरणले माघ १६ गते, धितोपत्र बोर्डले माघ २४ गते, र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । मर्जको समयमा प्रिमियर इन्स्योरेन्सको पुँजी १ अर्ब ४० करोड २६ करोड रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सको १ अर्ब ४० करोड ३९ लाख रुपैयाँ चुक्ता पुँजी थियो ।

दुई कम्पनीबीच एक बराबर एकको अनुपातमा मर्जर सम्बन्धी सम्झौता भएको मर्जर पश्चात बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ८९ करोड रुपैयाँ पु¥याइएको थियो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार रहेका छन् । उनी साविकको सिद्धार्थ इन्स्योरेन्स कम्पनीका सीईओ हुन् ।