मर्जपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा कर्मचारीबीच चरम विभेद, विवाद लुकाउन मञ्जुरीनामा फारम भर्न दबाब

प्रिमियरका कर्मचारीलाई विभेद गरिएको आरोप

4.7k
Shares


काठमाडौं । एक आपसमा मर्ज भई २०७९ फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु भएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा कर्मचारीहरूबीच चरम विभेदपूर्ण व्यवहार भएको पाइएको छ । प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स समान हैसियतमा मर्ज भएर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बनेका थिए ।

तर, प्रिमियरबाट आएका कर्मचारीमाथि भने सेवासुविधाका सवालमा लामो समयदेखि विभेद हुँदै आएको जानकारी क्लिकमान्डुलाई प्राप्त भएको छ ।

मर्जपछि बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सभित्र सेवा–सुविधा, मेडिकल सुविधा, अवकाशपछिको लाभ तथा सामाजिक सुरक्षा कोष (एसएसएफ) जस्ता विषयमा विभेद हुँदै आएको आरोप पूर्व प्रिमियर इन्स्योरेन्सतर्फका कर्मचारीले लगाएका छन् । प्रिमियरबाट आएका कर्मचारीका अनुसार मर्जको बेला दुवै कम्पनीका कर्मचारीलाई समान सेवा–सर्त लागू हुने सहमति भएको थियो तर व्यवहारमा भने पूर्व सिद्धार्थ इन्स्योरेन्सका कर्मचारीलाई प्राथमिकता दिइएको र प्रिमियर इन्स्योरेन्सतर्फका कर्मचारीलाई विभेद उनीहरूको दाबी छ ।

विशेषगरी मर्जपछि सेवा सर्त सम्बन्धी विनियमावली कार्यान्वयनमा ल्याउँदै विभेद अझै संस्थागत बनाइएको र कर्मचारीले असन्तुष्टि पोख्ने बाटोसमेत पूर्ण रुपमा बन्द गर्ने बाटोमा कम्पनी अघि बढेको आरोप कर्मचारीको छ ।

‘नयाँ विनियमावलीअनुसार पूर्व सिद्धार्थ इन्स्योरेन्सका कर्मचारीले १० वर्षसम्मका सेवा अवधिका लागि एक महिनाको तलब, ११ देखि १५ वर्षसम्मका लागि डेढ महिनाको तलब र १६ वर्ष भन्दा माथिको लागि दुई महिनाको तलब उपदान स्वरुप पाउने व्यवस्था गरिएको छ,’ एक कर्मचारीले क्लिकमान्डुसँग भने, ‘तर, पूर्व प्रिमियर इन्स्योरेन्सका कर्मचारीलाई भने जति वर्षसम्म सेवा गरे पनि एक महिनाको मात्र उपदान दिने व्यवस्था छ ।

ती कर्मचारीका अनुसार पूर्व सिद्धार्थका कर्मचारीलाई अवकाश उमेर ५८ वर्ष कायम गरिए पनि लाभ भने ६० वर्षसम्मको गणना गरेर दिइने व्यवस्था छ । तर, पूर्व प्रिमियरका कर्मचारीको हकमा भने अवकास उमेर ५८ वर्ष नै कायम भएपनि त्यसबाट पाउने लाभ भने ५८ वर्षमै सीमित गरिएको छ । समान हैसियतमा मर्ज भएका दुई संस्थाबीच यस्तो फरक व्यवस्था गरिएको भन्दै कर्मचारीहरुमाझ चरम असन्तुष्टि देखिएको छ ।

यसका अलावा, मर्जअघि प्रिमियर इन्स्योरेन्समा कर्मचारीलाई छुट्टै मेडिकल इन्स्योरेन्स सुविधा उपलब्ध थियो । तर, मर्जपछि त्यो सुविधा हटाइएको छ । केही समय मेडिकल खर्च बराबरको रकम ‘ग्रस स्यालरी’मा गाभेर दिइए पनि पछि विरोध बढेपछि सो रकम पूर्ण रूपमा स्यालरीमै समायोजन गरिएको कर्मचारीको भनाइ छ । कर्मचारीका अनुसार यसले वास्तविक रूपमा मेडिकल सुविधा कटौति गरिदिएर विभेदलाई थप बढाइएको छ ।

मर्ज अघि प्रिमियर इन्स्योरेन्सका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको थियो । तर, सिद्धार्थका कर्मचारीलाई भने कर्मचारी सञ्चय कोषको सुविधा थियो । मर्ज पछिको विगत तीन वर्षदेखि कम्पनीले आधा कर्मचारी सामाजिक सुरक्षा र आधा कर्मचारी कर्मचारी सञ्चय कोषमा नै आबद्ध गराउँदै आएको छ ।

यतिमात्रै होइन, मर्जपछि प्रिमियरका कर्मचारीलाई सामाजिक सुरक्षामा आबद्ध भएको कारण देखाउँदै उपदान, अवकाश सुविधा र अन्य लाभ नदिइएको तथा सिद्धार्थका कर्मचारीको तुलनामा कम दिइएको आरोप कर्मचारीको छ । सिद्धार्थ इन्स्योरेन्सका कर्मचारीलाई भने सामाजिक जाने–नजाने विकल्प दिइएको तर, प्रिमियरका कर्मचारीलाई भने त्यस्तो विकल्प नदिइएको कर्मचारीको दाबी छ ।

कम्पनीले भर्न लगाएको थियो फारम र दिएको थियो दबाब

हाल सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्ना कर्मचारीहरुलाई ‘सेवा सर्त सम्बन्धी विनियमावली २०८१ को विनियम ३(२) सँग सम्बन्धित मञ्जुरीनामा फारम’ वितरण गरी धमाधम भर्न निर्देशन दिइरहेको छ । कम्पनीले कर्मचारी सेवा सर्त सम्बन्धी विनियमावली २०८१ ले व्यवस्था गरेबमोजिम सेवामा रहँदा तथा अवकाश पश्चात प्राप्त हुने सेवा सर्त तथा सम्पूर्ण सुविधाका सम्बन्धमा मन्जुरी रहेको भनि फारम भरेर बुझाउन कर्मचारीलाई निर्देशन दिइरहेको हो ।

‘विनियमावलीमा गरिएको सेवा सुविधाका सबन्धबमा मेरो मन्जुरी वा सहमती थिएन भनि सेवामा रहँदा वा अवकाश पश्चात कुनै पनि अवस्थामा कम्पनी वा व्यवस्थापन विरुद्ध कहीँ कतै उजुर बाजुर मुद्दा मामिला गर्ने छैन,’ कम्पनीले कर्मचारीलाई भर्न लगाएका फारममा भनिएको छ, ‘ मुद्दा मामिला गरे यसै कागजले बदर होस् भनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको कार्यालयमा बसी यो मञ्जुरीनामा फारम लेखिएको व्यहोरा पढी वाची यसको मतलब र परिणाम समेत जानी बुझी मेरो मनोमान खुसी राजी साथ स्वेच्छापूर्वक पेस गरेको छु ।’

नियुक्ति हुँदाको समयमा बहाल रहेको कर्मचारी सम्बन्धी विनियमावली खारेज भई मिति २०७६ बैशाख १ गते देखि लागू भएको कर्मचारी सेवा विनियमावली २०७५, मिति २०७९ फागुन १७ गते एकीकृत कारोबारको अघिल्लो दिनसम्म साविक कम्पनीको सञ्चालक समिति एवम् व्यवस्थापनद्वारा कर्मचारीको सेवा, सर्त तथा सुविधाको सम्बन्धमा गरिएको नितिगत निर्णय, व्यवस्थाको सम्बन्धमा मलाई पूर्ण रुपमा थाहा जानकारी रहेको छ भन्ने विषय पनि कर्मचारीलाई वितरण गरिएको फारममा उल्लेख छ ।

‘सो अनुरुप प्राप्त गर्ने सेवा, सर्त तथा सम्पूर्ण सुविधा (सञ्चयकोष, बिदा, बिमा, उपचार खर्च, उपदान, अवकास लगायतका) मा म पूर्णरुपमा सहमत भई कम्पनीको सेवालाई निरन्तरता दिँदै आएको र साविक सिद्धार्थ इन्स्योरेन्स र साविक प्रिमियर इन्स्योरेन्स एक आपसमा गाभिई बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले नयाँ कर्मचारी विनियमावली तर्जुमा गरी नेपाल बिमा प्राधिकरणबाट स्वीकृत लिएको थियो ।

जसअनुसार २०८२ कात्तिक १ गते देखि लागू भएको कर्मचारी सेवा सर्त सम्बन्धी विनियमावली २०५१ मा रहेका व्यवस्थाहरुको जानकारी लिई सेवा, सर्त तथा सम्पूर्ण सुविधाका सम्बन्धमा पूर्णरुपमा सहमत भएको प्रतिबद्धता कर्मचारीबाट माग गरिएको छ । खासगरी, यसअघि मर्ज पश्चात् केही कर्मचारी मुद्दा लिएर अदालत पुगेपछि आगामी दिनमा सो बाटो बन्द गर्न कम्पनीले यस्तो रणनीति अपनाएको आरोप कर्मचारीको छ ।

हाल कम्पनीले सबै कर्मचारीलाई ‘मञ्जुरीनामा’ फारम साइन गर्न निर्देशन दिएको छ । उक्त फारममा कर्मचारीले नयाँ बाइलज, सेवा–सर्त तथा सुविधाप्रति पूर्ण सहमति जनाउँदै भविष्यमा कुनै उजुरी वा मुद्दा नहाल्ने प्रतिबद्धता जनाउनुपर्ने व्यवस्था छ । बिमा कम्पनीले बोर्डको निर्देशन भन्दै २०२६ जनवरी ९ भित्र फारम बुझाउन इमेलमार्फत दबाब दिइरहेको छ ।

कर्मचारीहरूका अनुसार फारम साइन नगरे पदोन्नती रोक्ने, ग्रेड वृद्धि नहुने, सरुवा गरिने तथा अवकाशपछि पाउने सुविधा समेत रोक्का गर्ने मौखिक तथा लिखित धम्की दिइएको छ । यसले कर्मचारीलाई बाध्यतामा सहमति जनाउन विवश बनाएको उनीहरूको आरोप छ ।

‘पूर्व सिद्धार्थ तर्फका कर्मचारीलाई सेवा सुविधामा राम्रो गरिएका कारण उनीहरुले खुसीखुसी यो फारम भरेका छन् । तर, प्रिमियरतर्फका कर्मचारी भने यसमा असन्तुष्टि व्यक्त गरिरहेका छन्,’ अर्का एक कर्मचारीले भने, ‘तर, कम्पनीको माथिल्लो तहबाट तत्काल भर्न दबाब दिने काम भइरहेको छ त्यसैले सबै मौन बस्न बाध्य छन् ।’

उनका अनुसार यसअघि कर्मचारीले समान व्यवहारको आवाज उठाउँदा स्वयम् प्रमुख कार्यकारी अधिकृतसमेत बसेर धम्क्याउने काम भएको थियो । ‘मर्जपछि सेवा सुविधा नमिलेको विषयमा पूर्व प्रिमियर इन्स्योरेन्सका एक वरिष्ठ कर्मचारी राम विक्रम अधिकारीले जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा अधिकारीको पक्षमा फैसला आयो,’ ती कर्मचारीले भने, ‘यही कारण व्यवस्थापनले भविष्यमा थप मुद्दा नआओस् भनेर ‘मञ्जुरीनामा’ साइन गराउन हतार गर्दै दबाब दिइरहेको छ ।’

के भन्छ कम्पनी?

तर, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले भने कर्मचारीमाथि कुनै पनि प्रकारको भेदभाव नगरेको र हाल कार्यान्वयनमा रहेको कर्मचारी विनियमावली मर्जरको समयमा भएको व्यवस्थाकै निरन्तरता भएको स्पष्ट पारेको छ । कम्पनीका सूचना अधिकारी सुदर्शन आचार्यले कर्मचारीहरूबीच सेवा सुविधामा विभेद गरिएको भन्ने आरोपमा कुनै सत्यता नभएको दाबी गरे ।

‘कम्पनीले मर्जरको समयमा दुवै संस्थामा कायम रहेका व्यवस्थाहरूलाई नै निरन्तरता दिएको हो, कुनै नयाँ विभेदकारी नियम बनाइएको छैन । मर्जरको बेला जुन विनियमावली कार्यान्वयनमा थियो, त्यसमा जे लेखिएको छ, हामीले एउटा कमा पनि हटाएका छैनौं,’ आचार्यले भने, ‘यो विनियमावली कम्पनीले एकलौटी रूपमा बनाएको होइन । बिमा प्राधिकरणले छलफल र अध्ययन गरेर मात्र यसलाई स्वीकृत गरेको हो ।’

कम्पनीका अनुसार केही सीमित व्यक्तिहरू मर्जरको समयदेखि नै असन्तुष्ट रहँदै आएका थिए । उनीहरूले विभिन्न समयमा बिमा प्राधिकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य निकायमा उजुरी हाल्ने काम गरिरहेका थिए । हालको असन्तुष्टि त्यसैको निरन्तरता भएको उल्लेख गर्दै कम्पनीले कर्मचारीबीच कुनै पनि हालतमा भेदभाव नगर्ने र गर्न नसक्ने उनको भनाइ छ ।

कम्पनीले प्रिमियरका कर्मचारीको सुविधा नघटाएको उनको दाबी छ । ‘प्रिमियरको हकमा कुनै सेवासुविधा घटाएको छैन । पहिले औषधि उपचारवापत पैसा नपाउने प्रिमियरका कर्मचारीले अहिले पाइरहेका छन् र उनीहरूको बिदा पनि बढेको छ,’ उनले भने । उनका अनुसार सामाजिक सुरक्षा कोषमा पनि नयाँ र पुराना कर्मचारीका लागि फरक–फरक व्यवस्था हुनुलाई विभेद मान्न नसकिने र केही असन्तुष्टि भए त्यसमा समाधान दिन कम्पनी तयार छ ।

प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स एक आपसमा मर्ज भई २०७९ फागुन १७ गते बुधबारबाट एकीकृत कारोबार सुरु गरेका थिए । मर्जरपश्चात सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नाममा एकीकृत कारोबार सुरु गरिएको थियो । दुवै कम्पनीको २०७९ पुस २९ गते सम्पन्नसाधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो ।

यसपछि, बिमा प्राधिकरणले माघ १६ गते, धितोपत्र बोर्डले माघ २४ गते, र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

मर्जको समयमा प्रिमियर इन्स्योरेन्सको पुँजी १ अर्ब ४० करोड २६ करोड रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सको १ अर्ब ४० करोड ३९ लाख रुपैयाँ चुक्ता पुँजी थियो । दुई कम्पनीबीच एक बराबर एकको अनुपातमा मर्जर सम्बन्धी सम्झौता भएको मर्जर पश्चात बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ८९ करोड रुपैयाँ पुर्‍याइएको थियो ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार रहेका छन् । उनी साविकको सिद्धार्थ इन्स्योरेन्स कम्पनीका सीईओ हुन् । खासगरी, साविकको सिद्धार्थ इन्स्योरेन्सका व्यक्ति नै मर्जपछिको सिद्धार्थ प्रिमियरको माथिल्लो तहमा रहेका कारण कर्मचारीमाथि चरम विभेद हुँदै आएको कर्मचारीको गुनासो छ ।