स्विट्जरल्यान्डको शहरमा भएको विस्फोटमा ४० जनाको मृत्यु, १०० घाइते


एजेन्सी । स्विटजरल्यान्डको विलासी स्की रिसोर्ट क्रान्स–मोन्टानामा नयाँ वर्षको पूर्वसन्ध्याको पार्टी चलिरहेको बेला भीडभाडयुक्त बारमा विस्फोट हुँदा करिब ४० जनाको मृत्यु भएको छ र १०० जना घाइते भएका छन् । तीमध्ये अधिकांशको अवस्था गम्भीर छ ।

दक्षिण–पश्चिमी स्विट्जरल्यान्डको उक्त रिसोर्टमा रहेको ले कन्स्टेलेसन नामक बारमा बिहानको १ः३० बजे आगलागी भएको थियो । विस्फोटको कारण अझै स्पष्ट हुन सकेको छैन तर अधिकारीहरूले यो एक दुर्घटना जस्तो देखिएको बताएका छन् ।

‘अहिलेका लागि हामी यसलाई आगलागीको रूपमा हेरिरहेका छौं र कुनै आक्रमणको सम्भावनालाई विचार गरिरहेका छैनौं,’ अभियोजनकर्ता बिएट्रिस पिलउडले पत्रकार सम्मेलनमा बताइन् । साथै, अधिकारीहरूले पूर्ण अनुसन्धान सुरु गरेको जानकारी पनि उनले दिइन् ।

भले क्यान्टनका सुरक्षा प्रमुख स्टेफेन गान्जरले पीडितहरूमध्ये केही अन्य देशका नागरिक रहेको बताए । क्यान्टनका प्रहरी प्रमुख फ्रेडरिक गिस्लरले आफन्तहरूका लागि हेल्पलाइन खोलिएको जानकारी दिएका छन् ।

‘क्रान्समा रातभर जे भयो, त्यसबाट हामी सबै स्तब्ध छौं भन्ने कुरा म तपाईंहरूबाट लुकाउन सक्दिनँ,’ गिस्लरले पत्रकार सम्मेलनमा बताए ।

उनले भने, ‘हाम्रो गणना अनुसार करिब १०० जना घाइते भएका छन् जसमध्ये धेरैको अवस्था गम्भीर छ र दुर्भाग्यवश दर्जनौं मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।’

उनले बिरामीहरूलाई सियोन, लाउसेन, जेनेभा र जुरिचका अस्पतालहरूमा पठाइएको बताए ।

यसअघि प्रहरीले धेरै मानिसलाई जलनको उपचार भइरहेको र उक्त क्षेत्रलाई पूर्ण रूपमा बन्द गरिएको र क्रान्स–मोन्टानामाथि नो–फ्लाई जोन (उडान निषेधित क्षेत्र) लागू गरिएको जनाएको थियो । अधिकारीहरूले १० वटा हेलिकप्टर र ४० वटा एम्बुलेन्स परिचालन गरिएको बताएका छन् ।

‘खुसीको क्षण हुनुपर्ने कुरा वर्षको पहिलो दिन क्रान्स–मोन्टानामा शोकमा परिणत भयो जसले सम्पूर्ण देश र त्योभन्दा बाहिरसम्म छोएको छ,’ स्वीस संघीय राष्ट्रपति गाय पार्मेलिनले सामाजिक सञ्जाल एक्समा समवेदना व्यक्त गर्दै लेखेका छन् ।

अभियोजनकर्ता पिलउडले अधिकारीहरूले पीडितका शवहरू उनीहरूका परिवारलाई बुझाउने प्रयास गरिरहेको बताइन् ।

उनले भनिन्, ‘पीडितहरूको पहिचान गर्न फोरेन्सिकमा धेरै स्रोतसाधनहरू लगाइएको छ । हामीलाई सकेसम्म चाँडो परिवारहरूलाई शवहरू बुझाउन अनुमति दिनु यी स्रोतहरूको उद्देश्य हो ।’

इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले आगलागी पटाकाका कारण भएको हुन सक्ने बताए ।

उनले इटालीको स्काई टीजी२४ टिभी च्यानललाई भने, ‘यो आगलागी कुनै विस्फोट वा नयाँ वर्षको उत्सवको क्रममा फालिएको कुनै पटाकाका कारण भएको दुर्घटना जस्तो देखिन्छ ।’