भारत सरकारले निमेसुलाइड पेनकिलरमा लगायो प्रतिबन्ध


एजेन्सी । भारतको केन्द्र सरकारले १०० एमजीभन्दा बढी मात्रा भएको दुखाइ कम गर्ने पेनकिलर औषधि निमेसुलाइडका सबै ओरल औषधिहरूको उत्पादन, बिक्री र वितरणमा प्रतिबन्ध लगाएको छ । बढी मात्राले मानव स्वास्थ्यमा जोखिम पुर्याउने सरकारको कथन छ ।

सोमबार जारी गरिएको एक सूचनामा स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले १०० एमजीभन्दा बढी मात्रा भएको इमिडिएट–रिलिज स्वरूपमा निमेसुलाइड भएका सबै ओरल औषधिहरूको प्रयोगले मानव स्वास्थ्यमा जोखिम पुर्याउन सक्ने कुरामा आफू विश्वस्त रहेको बताएको छ । सरकारले उक्त औषधिको साटो सुरक्षित विकल्पहरू उपलब्ध रहेको कुरा पनि उल्लेख गरेको छ ।

ड्रग्स टेक्निकल एडभाइजरी बोर्डसँगको परामर्शपछि औषधि र सौन्दर्य प्रसाधन ऐन, १९४० को दफा २६ए अन्तर्गत यो प्रतिबन्ध तत्काल लागू हुने गरी लगाइएको हो ।

सोही दिन मन्त्रालयले औषधि नियमावली, १९४५ मा संशोधनको प्रस्ताव गर्दै छुट्टै सूचना जारी गरेको छ । प्रस्तावित नियमको मस्यौदामा अनुसूची के को एक विशेष प्रविष्टिबाट सिरप शब्द हटाउने प्रस्ताव गरिएको छ । त्यो केही नियामक प्रावधानहरूबाट छुट पाउने औषधिहरूसँग सम्बन्धित छ ।

सरकारले प्रभावित हुन सक्ने सबै व्यक्तिको जानकारीका लागि संशोधनको मस्यौदा प्रकाशित गरिएको र ३० दिनभित्र प्राप्त हुने उजुरी वा सुझावहरूमाथि विचार गरिने बताएको छ ।

यसअघि जनवरीमा बरेलीको इज्जतनगरस्थित भारतीय पशु चिकित्सा अनुसन्धान संस्थानका वैज्ञानिकहरूले गरेको अध्ययनले गिद्धहरूका लागि यो औषधि विषाक्त भएको पुष्टि गरेपछि केन्द्र सरकारले जनावरहरूका लागि दुखाइ कम गर्ने औषधिको रूपमा व्यापक रूपमा प्रयोग हुने निमेसुलाइडका सबै औषधिहरूको उत्पादन, बिक्री र वितरणमा प्रतिबन्ध लगाएको थियो ।

Skip This