
एजेन्सी । चीनका विदेशमन्त्री वाङ यीले भारत र पाकिस्तानबीचको तनाव यो वर्ष चीनले मध्यस्थता गरेका ज्वलन्त मुद्दाहरूको सूचीमा रहेको बताएका छन् । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र पाकिस्तानलाई चर्को भन्सार शुल्कको डर देखाएर शान्ति कायम गर्न बाध्य बनाएको भनी दाबी गरिरहेकोमा चीनले पनि त्यसको श्रेय लिन खोजेको हो ।
मे ७ देखि १० सम्म भारत र पाकिस्तानबीच सशस्त्र द्वन्द्व भएको थियो । त्यसलाई दुवै देशका सेनाका डिजीएमओ (सैनिक अपरेशन महानिर्देशक) हरूबीचको प्रत्यक्ष वार्तामार्फत समाधान भएको भारतले दाबी गर्दै आएको छ ।
भारतले आफू र पाकिस्तानबीचका मामिलाहरूमा कुनै पनि तेस्रो पक्षको हस्तक्षेपका लागि कुनै स्थान नरहेको कुरा पनि निरन्तर रूपमा कायम राख्दै आएको छ ।
बेइजिङमा आयोजित अन्तर्राष्ट्रिय परिस्थिति र चीनको वैदेशिक सम्बन्ध सम्बन्धी गोष्ठीमा बोल्दै वाङले भने, ‘यो वर्ष दोस्रो विश्वयुद्धको अन्त्यपछि कुनै पनि समयको तुलनामा स्थानीय युद्ध र सीमापार द्वन्द्वहरू धेरैपटक चर्किए । भूराजनीतिक उथलपुथल फैलिरह्यो ।’
उनले थपे, ‘दिगो शान्ति निर्माणका लागि हामीले वस्तुपरक र न्यायोचित अडान लिएका छौं । लक्षण तथा मूल कारण दुवैलाई सम्बोधन गर्नमा ध्यान केन्द्रित गरेका छौं । ज्वलन्त मुद्दाहरू सुल्झाउने यस चिनियाँ दृष्टिकोणलाई पछ्याउँदै हामीले उत्तरी म्यान्मार, इरानी आणविक मुद्दा, पाकिस्तान र भारतबीचको तनाव, प्यालेस्टाइन र इजरायलबीचको समस्याका साथै कम्बोडिया र थाइल्यान्डबीचको हालैको द्वन्द्वमा मध्यस्थता गरेका छौं ।’
मे ७ देखि १० सम्म भएको अपरेशन सिन्दूरमा चीनको भूमिकालाई भारतले आलोचना गर्दै आएको छ । विशेषगरी, बेइजिङले इस्लामाबादलाई उपलब्ध गराएको सैन्य सहायता भारतको गम्भीर निगरानी र आलोचनाको घेरामा परेको थियो । कूटनीतिक मोर्चामा चीनले मे ७ मा भारतको हवाई आक्रमणप्रति खेद व्यक्त गर्दै भारत र पाकिस्तानलाई संयम अपनाउन आग्रह गरेको थियो ।








प्रतिक्रिया