सन् २०२५ मा अन्य मुद्राको तुलनामा अमेरिकी डलर बन्यो सबैभन्दा कमजोर


एजेन्सी । सन् २०२५ अमेरिकी डलरका लागि कमजोर वर्ष साबित भएको छ ।

यो वर्ष डलर आफ्ना सबै प्रमुख विश्वव्यापी प्रतिस्पर्धी मुद्राहरूको तुलनामा कमजोर बनेको छ । डलरको मूल्य मापन गर्ने डलर इन्डेक्स यो वर्ष १० प्रतिशतले गिरावट आएको छ ।

डलरको यो गिरावटमा धेरै कारणहरू रहेका छन् । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले पटक–पटक ब्याजदर घटाउने निर्णय गर्नु सबैभन्दा प्रमुख कारण हो । सामान्यतया, केन्द्रीय बैंकले ब्याजदर घटाउँदा त्यो मुद्रामा लगानी गर्नु लगानीकर्ताका लागि कम आकर्षक बन्न पुग्छ ।

यसका साथै राष्ट्रपति डोनल्ड ट्रम्पले प्रस्ताव गरेका भन्सार शुल्क सम्बन्धी नीतिहरूले पनि सन् २०२५ को पहिलो ६ महिनामा बजारलाई प्रभावित बनाए । लगानीकर्ताहरूले यी सम्भावित करहरूलाई आर्थिक वृद्धिका लागि नकारात्मक र अनिश्चितताको स्रोतको रूपमा हेरे । त्यसले डलरको मूल्यलाई थप घटाउन मद्दत गर्यो ।

तर, डलर कमजोर हुनुका केही सकारात्मक पक्षहरू पनि छन् । डलरको मूल्य घट्दा हुने दुई फाइदा र दुई बेफाइदाहरू तल दिइएका छन् ।

फाइदा १ः अमेरिकी सामान र सेवाहरू विदेशीका लागि सस्तो हुने

अमेरिकी डलर कमजोर हुँदा अन्य देशहरूको क्रयशक्ति बढ्छ जसले अमेरिकी निर्यात र आर्थिक वृद्धिलाई बढावा दिन्छ । यसले निर्माण र कृषि जस्ता निर्यातमा आधारित उद्योगहरूलाई टेवा पुर्याउँछ ।

राष्ट्रपति ट्रम्पले पनि कमजोर डलरका फाइदाहरूबारे चर्चा गर्दै डलर कमजोर हुँदा अमेरिकाले धेरै पैसा कमाउन सक्ने बताएका थिए । ह्वाइट हाउसमा बोल्दै उनले भनेका थिए, ‘बलियो डलर सुन्दा त राम्रो सुनिन्छ तर यसले पर्यटन ठप्प पार्छ । तपाईंले ट्य्राक्टर, ट्रक वा अरू केही पनि बेच्न सक्नुहुन्न ।’

डलरको मूल्य घट्दा निर्यात क्षेत्रमा रोजगारीका अवसरहरू पनि सिर्जना हुन्छन् ।

फाइदा २ः बहुराष्ट्रिय कम्पनीहरूको आम्दानी र सेयर बजारमा सुधार

विदेशमा सामान बिक्री गर्ने अमेरिकी कम्पनीहरूका लागि डलर कमजोर हुनु शुभ समाचार हो । एस एन्ड पी ५०० मा सूचीकृत आधाभन्दा बढी कम्पनीहरूको आम्दानीको ठूलो हिस्सा वैदेशिक बिक्रीबाट आउँछ । विदेशी मुद्रामा भएको कमाइलाई डलरमा रूपान्तरण गर्दा कम्पनीहरूको नाफा बढी देखिन्छ । त्यसले ती कम्पनीहरूको सेयर मूल्य बढाउन मद्दत गर्छ ।

मोर्गन स्टेनलीका रणनीतिकार माइक विल्सनका अनुसार, कमजोर डलरले कर्पोरेट आम्दानीका लागि अनुकूलताको काम गरिरहेको छ ।

बेफाइदा १ः आयातित सामानको मूल्य बढ्ने

अर्कोतर्फ, डलर कमजोर हुँदा अमेरिकी उपभोक्ताहरूका लागि आयात गरिएका सामानहरू महँगा हुन्छन् । यसले महँगीको दबाब बढाउँछ । नोभेम्बर महिनामा उपभोक्ता मूल्य २.७ प्रतिशतले बढेको थियो जुन फेडरल रिजर्भको २ प्रतिशतको लक्ष्यभन्दा माथि हो ।

डलरको मूल्य घट्दा सर्वसाधारणको क्रयशक्ति पनि घट्छ । त्यसले गर्दा महँगा सामानहरू किन्न कठिन हुन्छ ।

बेफाइदा २ः वैदेशिक भ्रमण महँगो हुने

विदेश भ्रमणमा जाने अमेरिकीहरूका लागि पनि डलर कमजोर हुनु घाटाको विषय हो किनकि उनीहरूको डलरले विदेशमा कम सामान वा सेवा किन्न सक्छ । तपाईं युरोप भ्रमणको योजना बनाउँदै हुनुहुन्छ भने मुद्रा विनिमयका कारण तपाईंको खर्च बढी हुनेछ ।

यद्यपि, यसको अर्को पाटो पनि छ । डलर कमजोर हुँदा विदेशी पर्यटकहरूका लागि भने अमेरिका घुम्न सस्तो र आकर्षक गन्तव्य बन्न पुग्छ ।