अमेरिकाले इजरायलका लागि ८.६ अर्ब डलर बराबरको हतियार बनाउने


एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच फ्लोरिडामा भएको भेटवार्तापछि पेन्टागनले सोमबार बोइङ कम्पनीलाई इजरायलको एफ–१५ लडाकु विमान कार्यक्रमका लागि ८.६ अर्ब डलरको ठेक्का दिएको छ ।

पेन्टागनका अनुसार, यो सम्झौता अन्तर्गत इजरायली वायुसेनाका लागि २५ वटा नयाँ एफ–१५ आईए विमानको डिजाइन, एकीकरण, परीक्षण, उत्पादन र डेलिभरी गरिनेछ । साथै, यसमा भविष्यमा थप २५ वटा विमान खरिद गर्न सकिने विकल्प समेत समावेश गरिएको छ ।

पेन्टागनले यो ठेक्का इजरायललाई गरिने वैदेशिक सैन्य सामग्री बिक्री अन्तर्गत रहेको जनाएको छ । अमेरिका लामो समयदेखि मध्यपूर्वको आफ्नो निकट सहयोगी इजरायलको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता रहँदै आएको छ ।

गाजामा भएको विनाशकारी आक्रमणका कारण अमेरिकाभरिका प्यालेस्टाइन समर्थक र युद्धविरोधी प्रदर्शनकारीहरूले वाशिङटनलाई इजरायलको सैन्य सहयोग बन्द गर्न माग गर्दै आएका थिए । तर, राष्ट्रपति डोनल्ड ट्रम्प र पूर्व राष्ट्रपति जो बाइडन दुवैको प्रशासनले ती मागहरूलाई बेवास्ता गर्दै सैन्य सहयोग जारी राखेका छन् ।

यस ठेक्काको काम सेन्ट लुइसमा गरिनेछ र यो ३१ डिसेम्बर २०३५ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको पेन्टागनले एक विज्ञप्तिमार्फत जनाएको छ।

Skip This