
एजेन्सी । एआई पूर्वाधारमा भइरहेको विशाल लगानी वास्तवमा कति समयसम्म टिक्ला ? अहिले प्रविधि उद्योगमा ठूलो प्रश्न उठेको छ ।
विश्वका ठूला टेक कम्पनीहरूले एआई पूर्वाधार, विशेषगरी डेटा सेन्टर र तिनीहरूलाई चलाउने चिप्सहरूमा, खर्बौं डलर खर्च गरिरहेका छन् । उनीहरूका अनुसार, यस लगानीले हाम्रो अर्थतन्त्र, रोजगारी र व्यक्तिगत सम्बन्धहरूलाई समेत पुनःसंरचना गर्ने एआईको आधार तयार गर्नेछ ।
यस वर्ष मात्रै टेक कम्पनीहरूले एआईसँग सम्बन्धित पूँजीगत खर्चमा ४०० अर्ब डलर खन्याउने अपेक्षा गरिएको छ ।
तर, एआईमा आफ्नो भविष्य दाउमा राखेका कम्पनीहरूका लागि एउटा गम्भीर प्रश्न छ । त्यो के भने, उनीहरूले कति छिटो आफ्ना अत्याधुनिक चिप्सहरू बदल्नुपर्ने हुन्छ ?
एआईले हालको लगानी असुल गर्न र भविष्यको खर्च धान्न पुग्ने गरी पर्याप्त वा छिटो प्रतिफल दिन्छ कि दिँदैन भन्नेमा शंका बढ्दै गएको छ । यसले एआई बबलको चिन्तालाई थप बल पुर्याएको छ ।
एआई ट्रेनिङ र प्रोसेसिङका लागि प्रयोग गरिने ग्राफिक्स प्रोसेसिङ युनिटहरू कति समयसम्म उपयोगी रहन्छन् भन्ने अझै स्पष्ट छैन ।
विभिन्न विज्ञहरूले सीएनएनलाई बताएअनुसार, एआई चिप्सलाई लार्ज ल्यांग्वेज मोडलहरूको तालिम दिएपछि १८ महिनादेखि ३ वर्षसम्म मात्र प्रयोग गर्न सकिन्छ । त्यसपछि ती चिप्सहरू कम भार पर्ने कामका लागि केही वर्ष थप प्रयोग हुन सक्छन् ।
यसको विपरीत, परम्परागत डेटा सेन्टरहरूमा प्रयोग हुने सेन्ट्रल प्रोसेसिङ युनिटहरू सामान्यतया ५ देखि ७ वर्षमा मात्र फेरिन्छन् ।
एआई ट्रेनिङको समयमा पर्ने अत्यधिक दबाब र ताप एआई चिप्स छिटो काम नलाग्ने हुनुको एउटा मुख्य कारण हो । न्यु जर्सी इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रोफेसर डेभिड बाडरका अनुसार, एक वर्षको अवधिमा ९ प्रतिशत जति जीपीयूहरू फेल हुन्छन् जबकि सीपीयूको हकमा यो दर ५ प्रतिशत मात्र छ ।
यसका साथै, एआई चिप्सको नयाँ पुस्ता यति तीव्र गतिमा परिष्कृत र सक्षम हुँदैछ कि पुराना चिप्सहरू चल्ने अवस्थामा भए तापनि तिनलाई प्रयोग गरिरहनु आर्थिक रूपमा फाइदाजनक देखिँदैन ।
एआई चिप्सको सबैभन्दा ठूलो आपूर्तिकर्ता एनभिडियाका अनुसार, उसको कुडा सफ्टवेयर प्रणालीले पुराना चिप्सहरूलाई पनि नयाँ सफ्टवेयरमार्फत अपडेट गर्न मद्दत गर्छ जसले गर्दा तुरुन्तै नयाँ चिप्स किन्नुपर्ने आवश्यकता टर्न सक्छ ।
अर्कोतर्फ, माइक्रोसफ्टका सीईओ सत्या नडेलाले सबै डेटा सेन्टरका चिप्सहरू एकैपटक काम नलाग्ने नहुने गरी कम्पनीले पूर्वाधार लगानीलाई मिलाएको बताएका छन् ।
ओपेनएआईकी सीएफओ सारा फ्रायरले भने हालै एउटा चेतावनीपूर्ण टिप्पणी गरेकी थिइन् । उनका अनुसार, अत्याधुनिक चिप्सहरू ३, ४ वा ५ वर्ष कति टिक्छन् भन्ने कुराले कम्पनीको भविष्य निर्धारण गर्नेछ । चिप्सको आयु छोटो भयो भने कम्पनीले लिएको ऋण तिर्न अमेरिकी सरकारको सहयोग चाहिन सक्ने उनले संकेत गरेकी थिइन् ।
चिप्सहरू छिटो–छिटो फेर्नुपर्ने भयो भने कम्पनीहरूलाई आफ्नो लगानी असुल गर्न ठूलो दबाब पर्ने लगानीकर्ताहरूको चिन्ता छ । व्यक्तिगत प्रयोगकर्ताहरूबाट हुने एआईको माग यी ठूला कम्पनीहरूको लगानी उठाउन पर्याप्त छैन । यसका लागि कर्पोरेट ग्राहकहरूले एआईबाट ठूलो नाफा कमाउनुपर्ने हुन्छ जुन अहिलेसम्म स्पष्ट भइसकेको छैन ।
प्रख्यात लगानीकर्ता माइकल बरीले पनि एआई बबलबारे चेतावनी दिएका छन् । टेक कम्पनीहरूले आफ्ना चिप्सहरूको उपयोगिता अवधिलाई बढी आकलन गरिरहेको र भविष्यमा उनीहरूको कमाइमा ठूलो धक्का पुर्याउन सक्ने उनको तर्क छ ।
सन् १९९० को दशकको अन्त्यमा डट्कम बबल फुट्दा बिछ्याइएका फाइबर अप्टिक केबलहरू वर्षौंपछिसम्म प्रयोगमा आएका थिए । तर, एआईको हकमा स्थिति फरक छ । एआई डेटा सेन्टरहरूलाई निरन्तर नयाँ चिप्समा लगानी नगरेसम्म तिनको उपयोगिता रहँदैन ।
एआईको यो अर्थतन्त्र सफल भएन भने यसले टेक कम्पनीहरूको वासलातमा मात्र नभई उनीहरूले बनाइरहेका विद्युत् प्लान्ट र समग्र समाजमै ठूला प्रश्नहरू खडा गर्नेछ ।








प्रतिक्रिया