अमेरिकामा महँगीले सर्वसाधारणको ढाड सेक्दै, बाइडनलाई गाली गरेर पन्छिन खोज्दैछन् ट्रम्प


एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडनलाई अर्थतन्त्रको विषयमा आलोचना गर्ने कुनै पनि मौका छोड्दैनन् ।

बाइडनले नै अमेरिकामा महँगीको संकट ल्याएको आरोप ट्रम्पले लगाउँदै आएका छन् । तर, अहिले ट्रम्पका आफ्नै केही आर्थिक प्रस्तावहरू बाइडनका प्रस्ताव जस्तै सुनिन थालेका छन् ।

बाइडनले राष्ट्रपतीय कार्यकाल थाल्दा बेरोजगारी दर उच्च थियो तर अर्थतन्त्र तीव्र गतिमा बढिरहेको थियो । बाइडेन र डेमोक्रेट नियन्त्रित कंग्रेसले झन्डै २० खर्ब डलरको प्रोत्साहन प्याकेज पारित गरेका थिए जसमा करदाताहरूलाई १४ सय डलरको प्रत्यक्ष राहत चेक पठाइएको थियो ।

त्यतिबेला फेडरल रिजर्भले ब्याजदर शून्यमा राखेको थियो । आलोचकहरूले यति धेरै पैसा बजारमा पठाउँदा मूल्यवृद्धि हुन्छ भनी दिएको चेतावनीलाई डेमोक्रेटहरूले बेवास्ता गरे । अन्ततः सन् २०२२ मा महँगी ४० वर्षयताकै उच्च विन्दुमा पुग्यो ।

अहिले ट्रम्पका सामु बाइडनको पालाभन्दा फरक परिस्थिति छ । अहिले महँगी सबैभन्दा ठूलो समस्या हो र ब्याजदर पनि निकै उच्च छ । तर, बाइडन र ट्रम्पको प्रारम्भिक अर्थतन्त्रमा केही समानताहरू छन् । जस्तै, कमजोर रोजगार बजार र बलियो आर्थिक वृद्धि ।

मंगलबार वाणिज्य विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार अमेरिकाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४.३ प्रतिशतको दरले बढेको छ जुन विगत दुई वर्षयताकै तीव्र गति हो ।

यस्तो बलियो अर्थतन्त्रमा ट्रम्पले पुनः २ हजार डलरको राहत चेक दिने र ब्याजदर घटाउने प्रस्ताव गरेका छन् । रोचक कुरा के छ भने यी तिनै कदमहरू हुन् जसले महँगी बढाएको भन्दै ट्रम्प र अन्य आलोचकहरूले बाइडनको विरोध गरेका थिए ।

गत साता ट्रम्पले सामाजिक सञ्जालमा एउटा लामो सन्देश पोस्ट गर्दै त्यसलाई ट्रम्प रुलको नाम दिएका छन् । उनले फेडरल रिजर्भको नेतृत्वमा आफूले छिट्टै मनोनित गर्ने नयाँ अध्यक्षले सेयर बजार र अर्थतन्त्रलाई चलायमान राख्न ब्याजदर घटाउनुपर्ने बताएका छन् । त्यसले महँगी बढाउने जोखिम हुन सक्ने भए पनि मोल्न ट्रम्प तयार छन् ।

‘बजारले राम्रो गरिरहेको छ भने मेरो नयाँ फेड अध्यक्षले ब्याजदर घटाओस् भन्ने म चाहन्छु । बिना कारण बजारलाई ध्वस्त पारेको म हेर्न चाहन्नँ,’ ट्रम्पले लेखेका छन् ।

ट्रम्पले बलियो सेयर बजारले आर्थिक वृद्धिलाई वार्षिक २० प्रतिशतसम्म पुर्याउन सक्ने दाबी गरे । यो ट्रम्पको स्वाभाविक अतिरञ्जना हो किनकि अमेरिकी अर्थतन्त्र कुनै पनि वर्ष ९ प्रतिशतले पनि बढेको इतिहास छैन । विगत ४० वर्षमा सबैभन्दा बढी वृद्धि सन् २०२१ (बाइडेनको पहिलो वर्ष) मा ६.१ प्रतिशत भएको थियो ।

ट्रम्पको यस प्रस्तावले महँगी बढाउन सक्ने माग र आपूर्तिको नियमले देखाउँछ । जनतालाई २ हजार डलरको चेक बाँडियो भने यसले बजारमा सामानको माग बढाउँछ तर आपूर्ति बढेको हुँदैन । मानिसहरूसँग खर्च गर्ने पैसा बढी भएर सामान कम हुँदा स्वाभाविक रूपमा मूल्यवृद्धि हुन्छ ।

त्यसैगरी, ब्याजदर घटाउँदा व्यवसायहरूले सस्तोमा ऋण पाउँछन् र उनीहरूले बढी खर्च गर्छन् । यसले पनि माग र आपूर्तिको सन्तुलन बिगार्न सक्छ र महँगी बढ्न सक्छ ।

बाइडनले सामना नगरेको अर्को एउटा पक्ष पनि ट्रम्पले थपेका छन् । त्यो हो ऐतिहासिक भन्सार शुल्क । फेड अध्यक्ष जेरोम पावलका अनुसार, ट्रम्पले लगाएको भन्सार शुल्कका कारण नै महँगी फेडको २ प्रतिशतको लक्ष्यभन्दा माथि (हाल २.७ प्रतिशत) रहेको छ ।

यी नीतिहरूले भविष्यमा समस्या ल्याउन सक्ने कुरा ट्रम्पले स्वीकार गरेका छन् । महँगी चिन्ताको विषय बन्यो भने फेडले उपयुक्त समयमा ब्याजदर बढाउन सक्ने उनले भनेका छन् । तर, अहिले त्यो समय नभएको र अहिलेको प्राथमिकता आर्थिक वृद्धि हुनुपर्ने उनको तर्क छ ।

‘अमेरिकालाई सफलताको लागि पुरस्कृत गरिनुपर्छ, यसबाट तल झारिनुहुँदैन,’ ट्रम्पले लेखेका छन्, ‘जसले मसँग असहमति राख्छ, ऊ कहिल्यै फेडको अध्यक्ष बन्ने छैन !’

अन्ततः ट्रम्पले जे चाहेका छन्, त्यही हुन सक्छ । कमजोर हुँदै गएको श्रम बजारलाई सहयोग पुर्याउन फेड सन् २०२६ को मध्यसम्म ब्याजदर स्थिर राख्ने वा घटाउनुपर्ने दबाबमा पर्न सक्छ, चाहे त्यसले महँगी बढाउने जोखिम नै किन नहोस् ।