इजरायलले ट्रम्पलाई सर्वोच्च नागरिक सम्मान दिने


एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२६ मा इजरायलको सर्वोच्च नागरिक सम्मान प्राप्त गर्ने भएका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार दशकौं लामो परम्परा तोड्दै आफ्नो देशले एक गैर नागरिकलाई यो सम्मान प्रदान गर्ने घोषणा गरेका हुन् ।

फ्लोरिडामा ट्रम्पसँगको सौहार्द्रपूर्ण भेटघाटपछि बोल्दै नेतान्याहुले यो निर्णय अमेरिकी राष्ट्रपतिले इजरायललाई गरेको समर्थनप्रति इजरायली जनताको सद्भाव र कदरको प्रतिबिम्ब भएको बताए ।

‘राष्ट्रपति ट्रम्पले मानिसहरूलाई अचम्ममा पार्दै धेरै परम्पराहरू तोड्नुभएको छ र पछि उनीहरूले महसुस गर्छन् कि उहाँ नै सही हुनुहुन्थ्यो,’ नेतान्याहुले पत्रकारहरूसँग भने, ‘त्यसैले हामीले पनि एउटा परम्परा तोड्ने वा नयाँ परम्परा बसाल्ने निर्णय गर्यौं । ट्रम्पलाई इजरायल प्राइज प्रदान गर्ने निर्णय ।’

नेतान्याहुले गत अक्टोबरमा ट्रम्पलाई इजरायलको आजसम्मकै सबैभन्दा महान् मित्र भन्दै प्रशंसा गरेका थिए । ट्रम्प र उनको टोलीको मध्यस्थतामा भएको गाजा शान्ति सम्झौता अन्तर्गत हमासले ७ अक्टोबर २०२३ को आक्रमणमा बन्धक बनाइएका अन्तिम २० जीवित व्यक्तिहरूलाई रिहा गरेपछि नेतान्याहुले यो सम्मानको घोषणा गरेका हुन् ।

‘म भन्न चाहन्छु, यसले इजरायलका सबै क्षेत्रका मानिसहरूको भावनालाई प्रतिनिधित्व गर्दछ,’ इजरायली नेताले ट्रम्पलाई दिइएको सम्मानबारे टिप्पणी गरे, ‘इजरायललाई र आतंकवादी तथा हाम्रो सभ्यता नष्ट गर्न चाहनेहरू विरुद्धको हाम्रो साझा लडाइँमा तपाईंले पुर्याएको मद्दतको उनीहरू प्रशंसा गर्छन् । त्यसैले यो धन्यवाद र कदर व्यक्त गर्ने एउटा माध्यम हो ।’

सामान्यतया, इजरायल प्राइज इजरायली नागरिक वा त्यहाँका बासिन्दाहरूका लागि मात्र आरक्षित हुन्छ । यसमा यहूदी जनताका लागि विशेष योगदान पुर्याउने व्यक्तिलाई दिइने एउटा विशेष श्रेणी मात्र अपवादको रूपमा रहेको छ ।

यसअघि यो सम्मान पाउने एकमात्र गैर–इजरायली व्यक्ति भारतीय संगीत निर्देशक जुबिन मेहता हुन् । उनले सन् १९९१ मा यो पुरस्कार पाएका थिए ।

सम्मानबाट निकै खुसी देखिएका ट्रम्पले यो पुरस्कार वास्तवमै आश्चर्यजनक र धेरै प्रशंसनीय भएको बताए । उनले इजरायलको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना हुने उक्त पुरस्कार समारोहका लागि आफू इजरायल जान सक्ने संकेत समेत दिए ।

ट्रम्पका लागि यो सम्मान उनको विश्व शान्तिदूतको छविमा थपिएको अर्को एउटा पदक जस्तै हो । आफ्ना भाषण र अन्तर्वार्ताहरूमा उनले आफूले आठवटा युद्धहरू रोकेको दाबी गर्दै आएका छन् (जुन दाबीलाई धेरैले गलत मान्छन्) । उनले आफूलाई सम्झौता गर्ने क्षमताका माध्यमबाट विश्वव्यापी द्वन्द्वहरू सुल्झाउन सक्ने अद्वितीय व्यक्तिका रूपमा प्रस्तुत गर्ने गर्छन् ।

ट्रम्पले आफूलाई नोबेल शान्ति पुरस्कारको कुनै वास्ता नभएको बताउँदै आए पनि सन् २०२५ मा उक्त पुरस्कार नपाउँदा उनले आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए। यो पछिल्लो सम्मानभन्दा केही समयअघि मात्र उनलाई फिफा शान्ति पुरस्कार पनि प्रदान गरिएको थियो ।

यी सम्मानहरूले उनको कूटनीतिक महत्त्वाकांक्षालाई सांकेतिक रूपमा पुष्टि गरे तापनि उनले लामो समयदेखि इच्छा राखेको नोबेल पुरस्कार भने अझै पाउन सकेका छैनन् ।

Skip This