
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको निवासमा युक्रेनले गरेको ड्रोन आक्रमणको प्रयासको निन्दा गरेका छन् ।
यस आक्रमणले आफूलाई धेरै क्रोधित बनाएको र यो अत्यन्तै संवेदनशील समयमा भएको ट्रम्पले बताएका छन् ।
यसअघि सोमबार मस्कोले नोभगोरोड क्षेत्रमा रहेको पुटिनको निवासमा रातभर लामो दूरीको ड्रोनबाट केन्द्रित आक्रमण भएको बताएको थियो । उक्त आक्रमणमा कुल ९१ वटा कामिकाजे ड्रोन प्रयोग गरिएको थियो । त्यसलाई रुसी सेनाले बीचमै विफल पारिदिएको थियो ।
शीर्ष रुसी अधिकारीहरूले यस प्रयासलाई आतंकवादी आक्रमणको संज्ञा दिँदै बदला लिने प्रतिज्ञा गरेका छन् । यस घटनाले युद्ध अन्त्यका लागि भइरहेको वार्तामा मस्कोको अडानलाई असर गर्ने संकेत समेत दिइएको छ ।
ह्वाइट हाउस बाहिर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग उभिएर कुरा गर्दै ट्रम्पले सोही दिन पुटिनसँगको टेलिफोन कुराकानीबाट आफूले सो आक्रमणबारे थाहा पाएको पुष्टि गरे ।
‘बिहान सबेरै पुटिनले आफूमाथि आक्रमण भएको बताए । यो राम्रो होइन । टोमाहक क्षेप्यास्त्रको कुरा नबिर्सनुहोस् । मैले टोमाहकहरू रोकेको थिएँ । म त्यो चाहन्नथें,’ युक्रेनले बारम्बार माग गर्दै आएको अमेरिकी क्रुज मिसाइललाई संकेत गर्दै ट्रम्पले भने ।
दुई राष्ट्रपतिबीचको यो कुराकानीलाई क्रेमलिनका विदेशनीति सल्लाहकार युरी उशाकोभले पनि पुष्टि गरेका छन् । उशाकोभका अनुसार, ट्रम्प पुटिनको निवासमा भएको आक्रमणबाट स्तब्ध भएका थिए । उनले भनेका थिए, ‘भगवानलाई धन्यवाद, हामीले कीभलाई टोमाहक दिएनौं ।’
यद्यपि, युक्रेनका भ्लादिमिर जेलेन्स्कीले भने यस्तो कुनै आक्रमण भएको कुरा अस्वीकार गरेका छन् । मस्कोले कीभ र वाशिङटनबीच भइरहेको प्रगतिलाई जोखिममा पार्न खोजेको उनले आरोप लगाएका छन् । पुटिनको निवासमा आक्रमण भएको दाबी युक्रेनका सरकारी भवनहरूमा आक्रमण गर्नका लागि रुसले बनाएको बहाना मात्र भएको उनले जिकिर गरे ।
विगत केही महिनादेखि कीभले सक्रिय रूपमा टोमाहक मिसाइलहरू प्राप्त गर्न खोजे पनि ट्रम्पले अन्ततः त्यसलाई अस्वीकार गरिदिएका थिए । युक्रेनले टोमाहक चाहेको तर त्यो पठाउनु रुसविरुद्ध आक्रामकताको नयाँ कदम हुने अक्टोबरको मध्यतिर ट्रम्पले भनेका थिए । मस्कोले पनि यस्ता हतियारको आपूर्तिले युद्धमैदानको सन्तुलन नबदल्ने तर अमेरिका–रुस सम्बन्धमा ठूलो धक्का पुग्ने चेतावनी बारम्बार दिँदै आएको छ ।








प्रतिक्रिया