पानामामा चिनियाँ स्मारक भत्काइएपछि बेइजिङले जनायो आपत्ति


एजेन्सी । पानामाको वेस्ट पानामा प्रान्तस्थित अराइजन जिल्लामा स्थानीय सरकारले एक चिनियाँ स्मारक भत्काएकोप्रति चीनले गम्भीर असन्तुष्टि व्यक्त गरेको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले सोमबार बताएका छन् ।

स्थानीय सरकारले सुरक्षाका कारण र जग्गा भोगचलनको सम्झौता म्याद समाप्त भएको भन्दै पानामा नहर निर्माणमा चिनियाँ योगदानको सम्मानमा बनाइएको उक्त स्मारक भत्काएको हो । यस कदमले स्थानीय चिनियाँ समुदायमा आक्रोश पैदा गरेको छ । साथै, पानामाका राष्ट्रपतिले समेत आलोचना खेप्नुपरेको छ ।

‘यसरी जबर्जस्ती स्मारक भत्काउनु अत्यन्तै खराब काम हो । यसले पानामामा रहेका ठूलो संख्याका प्रवासी चिनियाँहरूको भावनामा गम्भीर चोट पुर्याएको छ र यो चीन–पानामा मित्रताको समग्र स्थितिको विपरीत छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले नियमित पत्रकार सम्मेलनमा भने ।