धेरै रील र छोटो भिडियो हेर्ने मानिसको दिमागमा समस्या आउने अध्ययनको निष्कर्ष


एजेन्सी । हालै गरिएको एउटा बृहद् अध्ययनले टिकटक, इन्स्टाग्राम रिल्स र युट्युब शर्ट्स जस्ता छोटा भिडियोहरूको अत्यधिक प्रयोगले मानिसको बौद्धिक क्षमता, विशेषगरी ध्यान केन्द्रित गर्ने शक्ति र आवेग नियन्त्रणमा ह्रास ल्याउने देखाएको छ ।

यसका साथै यस्ता भिडियोहरू युवा र वयस्क दुवैको कमजोर मानसिक स्वास्थ्यसँग पनि जोडिएको पाइएको छ ।

अमेरिकन साइकोलोजिकल एसोसिएसनको जर्नलमा प्रकाशित उक्त अध्ययनका अनुसार, छोटा भिडियोहरू हेर्ने बानीले प्रयोगकर्ताहरूलाई पढ्ने, समस्या समाधान गर्ने र गहन सिकाइ जस्ता सुस्त गतिमा हुने कार्यहरूप्रति संवेदनहीन बनाउन सक्छ । यसले कुनै एउटा काममा लामो समयसम्म ध्यान टिकाइराख्ने मस्तिष्कको क्षमतालाई कमजोर बनाउँछ ।

झण्डै १ लाख सहभागीहरू संलग्न ७१ वटा विभिन्न अध्ययनहरूको समीक्षा गरेपछि यो निष्कर्ष निकालिएको हो । यसले सामाजिक सञ्जालमा स्क्रोलिङ गर्दा हुने नकारात्मक असर र ब्रेन रटको बारेमा फेरि बहस सुरु गरिदिएको छ ।

अक्सफोर्ड डिक्सनरीले गत वर्ष ब्रेन रट शब्दलाई सामाजिक सञ्जालमा कम गुणस्तरका सामग्रीहरूको अत्यधिक उपभोगका कारण हुने बौद्धिक क्षयको चिन्तालाई प्रतिबिम्बित गर्ने शब्दको रूपमा परिभाषित गरेको थियो ।

फिड्स, फिलिङ्स, एन्ड फोकस शीर्षकको यस अध्ययनले देखाएअनुसार, यस्ता प्लेटफर्महरूसँगको बढी संलग्नताले युवा र वयस्क दुवैमा कमजोर संज्ञानात्मक र मानसिक स्वास्थ्य समस्या निम्त्याउँछ ।

अध्ययनका मुख्य बुँदाहरू यसप्रकार छन् ।

१. मानसिक स्वास्थ्यमा असर
छोटा भिडियोहरूको धेरै प्रयोगले डिप्रेसन, तनाव, चिन्ता र एक्लोपनको लक्षणहरू बढाएको पाइएको छ । ७१ वटा अध्ययनबाट प्राप्त ९८ हजार २९९ सहभागीहरूको तथ्यांक विश्लेषण गर्दा युवाहरूले अहिले दैनिक औसत ६.५ घण्टा अनलाइनमा बिताउने गरेको देखिएको छ ।

२. ध्यान केन्द्रित गर्ने क्षमतामा ह्रास
छोटा भिडियोहरूको उपभोग र ध्यान केन्द्रित गर्ने क्षमताबीच नकारात्मक सम्बन्ध रहेको अनुसन्धानले देखाएको छ । न्युरल स्तरमा गरिएको परीक्षणमा यस्ता भिडियो धेरै हेर्ने मानिसहरूको मस्तिष्कमा ध्यान दिने बेला हुने विद्युतीय सक्रियता (पी३०० एक्टिभिटी) सामान्य प्रयोगकर्ताको तुलनामा कम पाइएको थियो ।

३. मस्तिष्कको कार्यप्रणालीमा परिवर्तन
छिटो–छिटो परिवर्तन हुने र अत्यधिक उत्तेजित गर्ने सामग्रीहरू बारम्बार हेर्दा मस्तिष्क त्यसैमा अभ्यस्त हुन्छ । यसले गर्दा मानिसहरूलाई किताब पढ्ने जस्ता धैर्यता चाहिने कामहरू झर्कोलाग्दो लाग्न थाल्छ ।

४. तत्काल सन्तुष्टिको लत
छोटा भिडियोका प्लेटफर्महरूले एल्गोरिदममार्फत तुरुन्तै मनोरञ्जन प्रदान गर्छन् जसले गर्दा मस्तिष्कमा डोपामाइन रसायनको चक्र सुरु हुन्छ । यसले प्रयोगकर्तामा इन्स्ट्यान्ट ग्रेटिफिकेशन (तत्काल सन्तुष्टि) खोज्ने बानी बसाल्छ र आवेगपूर्ण व्यवहारलाई बढावा दिन्छ । नयाँ र उत्तेजित सामग्री नपाउनेबित्तिकै मानिसहरू छिट्टै विरक्त हुने र ध्यान अन्यत्र मोडिने समस्या देखिन्छ ।

५. सामाजिक एक्लोपन
अध्ययनका अनुसार, स्क्रोलिङ गर्ने बानीले वास्तविक संसारको अन्तर्क्रियालाई विस्थापित गर्छ जसले गर्दा मानिसहरूमा एक्लोपन बढ्छ र जीवनप्रति असन्तुष्टि पैदा हुन्छ । धेरै प्रयोगकर्ताहरूले डिजिटल संसारबाट बाहिर निस्कन र आफ्नो भावना नियन्त्रण गर्न कठिनाइ भइरहेको बताएका छन् ।

यस अध्ययनले छोटा भिडियो र स्वास्थ्य समस्याबीचको सम्बन्ध देखाएको भए पनि विशेषज्ञहरूले यो कारण र प्रभाव नै हो भन्नका लागि अझै दीर्घकालीन अनुसन्धान आवश्यक रहेको बताएका छन् ।

पेडियाट्रिक इन्डोक्रिनोलोजिस्ट डा निधि गुप्ताले एनबीसी न्युजसँग भनिन्, ‘छोटा भिडियोको उपभोगका कारण भएका बौद्धिक परिवर्तनहरूलाई पहिलेकै अवस्थामा फर्काउन सकिन्छ कि सकिँदैन भन्ने कुरा पत्ता लगाउन अझै धेरै वर्षको अध्ययन आवश्यक पर्न सक्छ ।’

त्यस्तै, सामाजिक कार्यका अनुसन्धानकर्ता किथ रोबर्ट हेडले एउटा रोचक प्रश्न उठाएका छन् । ‘के अहिले भइरहेका एडीएचडी (ध्यान केन्द्रित गर्न नसक्ने समस्या) का निदानहरू साँच्चै एडीएचडी नै हुन् वा यो छोटा भिडियोहरूको निरन्तर प्रयोगको प्रभाव हो ?’ यसबारे थप अध्ययन हुनुपर्ने उनले बताएका छन् ।

Skip This