अर्थतन्त्रमा वृद्धि भए पनि सन्तुष्ट छैनन् अमेरिकीहरू, आखिर किन ?


एजेन्सी । गत साताको तथ्यांकले अमेरिकी अर्थतन्त्र दुई वर्षयताकै तीव्र गतिमा बढिरहेको देखाएको छ । तैपनि सर्वेक्षणहरूले आम जनताको मनस्थिति भने निराशाजनक रहेको देखाउँछन् ।

हामी एउटै अर्थतन्त्रको बारेमा कुरा गरिरहेका छौं भन्ने विश्वास गर्न पनि गाह्रो हुन्छ । तर, यी तथ्यांकहरूले एउटा कुरा पुनः स्मरण गराउँछन् । दुईवटा फरक देखिने प्रवृत्तिहरू एकैसाथ सत्य हुन सक्छन् । अर्थतन्त्र तीव्र गतिमा बढ्दैमा सबैले त्यसको अनुभव गरिरहेको भन्न मिल्दैन ।

हो, अमेरिकी अर्थतन्त्रको सबैभन्दा ठूलो मापन गर्ने कुल गार्हस्थ्य उत्पादन (जीडीपी) यस गर्मीयाममा ४.३ प्रतिशतको उच्च वार्षिक दरमा पुगेको छ । यो अर्थशास्त्रीहरूको अपेक्षाभन्दा धेरै बढी हो ।

तर, बढ्दो जीडीपी न त रोजगारीको लहरमा परिणत भयो, न त यसले महँगीलाई सामान्य अवस्थामा नै फर्कायो ।

‘जीडीपी एउटा अमूर्त अवधारणा हो । तर, मानिसहरूले रोजगारी बुझ्छन् । उनीहरूको जागिर गुम्यो भने नयाँ पाउन सकिँदैन भन्ने उनीहरूलाई थाहा छ,’ मुडिज एनालिटिक्सका मुख्य अर्थशास्त्री मार्क जान्डीले सीएनएनसँगको कुराकानीमा बताए, ‘अनि उनीहरूले कफी, मासु, बिजुली, बाल हेरचाह र अन्य सबै कुराका लागि बढी पैसा तिरिरहेको उनीहरूलाई थाहा छ ।’

जीडीपी अर्थतन्त्रको एक प्रकारको प्रगति विवरण हो । तर, कुनै पनि रिपोर्ट कार्ड जस्तै, यसले सबै वास्तविकता चित्रण नगर्न सक्छ ।

उदाहरणका लागि, उपभोक्ता खर्च बढ्नु तेस्रो त्रैमासिकमा जीडीपी बढ्नुको एउटा ठूलो कारण हो । आर्थिक चुनौतीहरूका बाबजुद पनि उपभोक्ता खर्चमा कमी नआउनु बाइडन र ट्रम्प दुवैको प्रशासनमा दोहोरिरहने विषय बनेको छ ।

यद्यपि, प्रतिवेदनले कुन वर्गका उपभोक्ताले खर्च बढाए भन्ने कुरा स्पष्ट पार्दैन ।

तेस्रो त्रैमासिकको खर्च वृद्धि सम्भवतः उच्च आय भएका उपभोक्ताहरूले गरेका हुन् जसले घरजग्गाको बढ्दो मूल्य र सेयर बजारको उच्च प्रतिफलबाट सबैभन्दा बढी फाइदा लिइरहेका छन् भनी अर्थशास्त्रीहरू बताउँछन् ।

अर्कोतर्फ, धेरै निम्न र मध्यम आय भएका अमेरिकीहरू भने गुजारा चलाउन संघर्ष गरिरहेका छन् । उनीहरूमध्ये कतिपयले खर्च कटौती गरिरहेका छन् भने कतिपयले बिलहरू तिर्न सकिरहेका छैनन् ।

‘अवकाशप्राप्त व्यक्तिहरू र उपल्लो १० प्रतिशत जनसंख्याले अर्थतन्त्रलाई अगाडि बढाइरहेका छन् । यो अझै पनि धेरै हदसम्म के–आकारको अर्थतन्त्र हो,’ आरबीसी क्यापिटल मार्केट्सका वरिष्ठ अर्थशास्त्री माइक रिडले बताए । (के–आकार भन्नाले धनी झन् धनी हुने र गरिब झन् मारमा पर्ने अवस्थालाई बुझिन्छ) ।

मानिसहरूले उच्च जीडीपी महसुस नगरे पनि उच्च मूल्य भने महसुस गरिरहेका छन् ।

राष्ट्रपति डोनल्ड ट्रम्पको व्यापक भन्सार शुल्कका कारण महँगी अचाक्ली बढ्ने डर भए पनि यस वर्ष त्यसो भने भएन ।

तर, गत जनवरीमा ट्रम्पले कार्यभार सम्हाल्दा महँगीको वार्षिक दर ३ प्रतिशत थियो जुन नोभेम्बरमा २.७ प्रतिशत पुगेको थियो । अर्थात्, यसमा खासै सुधार भएको छैन । यो अझै पनि महामारी सुरु हुनुभन्दा अघिको दशकको औसत वार्षिक १.७ प्रतिशतभन्दा धेरै बढी हो ।

केही अत्यावश्यक वस्तुको मूल्य भने घटेको छ । उदाहरणका लागि, नोभेम्बरमा अण्डा अघिल्लो वर्षको तुलनामा १३ प्रतिशत सस्तो थियो । दूध १ प्रतिशत सस्तो थियो । पेट्रोलको मूल्य पनि नियन्त्रणमा छ जुन प्रति ग्यालन २.८६ डलरमा झरेको छ । यो साढे चार वर्षयताकै न्यून विन्दु हो ।

तर, अन्य अत्यावश्यक वस्तुको मूल्य भने बढेको छ ।

उपभोक्ताहरूले बिजुलीका लागि औसतमा ७ प्रतिशत बढी तिरिरहेका छन् । घर तताउन प्रयोग गरिने प्राकृतिक ग्यास ९ प्रतिशत महँगो भएको छ । बीफको मूल्य नोभेम्बरमा अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले बढेको छ । त्यस्तै कार मर्मत (१० प्रतिशत) र कफी (१९ प्रतिशत) का लागि पनि उपभोक्ताले धेरै पैसा खर्च गर्नुपरेको छ ।

मानिसहरूको पारिश्रमिक बढेको त सत्य हो तर यो प्रायः जीवनयापनको बढ्दो खर्च धान्न पर्याप्त छैन । बैंक अफ अमेरिकाको तथ्यांक अनुसार, नोभेम्बरमा उच्च आय भएका परिवारको मात्रै आम्दानी महँगीभन्दा बढी थियो ।

अमेरिकी अर्थतन्त्र साँच्चै फस्टाइरहेको हुन्थ्यो भने उपभोक्ताहरू रोजगारीको सुरक्षालाई लिएर चिन्तित हुने थिएनन् । तर, आजको अवस्था त्यस्तो छैन ।

आगामी ६ महिनामा रोजगारीका अवसरहरू प्रशस्त हुनेछन् भन्ने विश्वास गर्ने उपभोक्ताहरूको संख्या चार वर्षयताकै न्यून स्तरमा झरेको छ । जागिर पाउन झन् गाह्रो हुँदै गएको मान्नेहरूको संख्या बढेको छ ।

गत महिना बेरोजगारी दर ४.६ प्रतिशत पुग्यो जुन चार वर्षयताकै उच्च हो । यस वर्षको सुरुमा चार वर्षमा पहिलोपटक जागिर खोज्नेहरूको संख्या उपलब्ध जागिरभन्दा बढी भयो ।

रोजगारी सुस्त हुनुको एउटा कारण कृत्रिम बुद्धिमत्ता (एआई) को विकास हो जसले गर्दा व्यवसायहरूले थोरै कामदारबाट धेरै काम गराउन सिकिरहेका छन् । साथै, ट्रम्पको अनिश्चित व्यापार नीतिका कारण धेरै व्यवसायहरू अन्योलमा छन् । अर्को भन्सार शुल्क कहिले लाग्ने हो भन्ने निश्चित नभएकाले धेरैले नयाँ भर्ना रोकेका छन् ।

जीडीपी जतिसुकै उच्च भए पनि त्यसले अमेरिकीहरूलाई अर्थतन्त्रप्रति खुसी बनाउन सक्दैन । मानिसहरूको हातमा पर्याप्त पारिश्रमिक नभएसम्म, भविष्यप्रति सुनिश्चितता नरहेसम्म र रोजगारीको सुरक्षा नभएसम्म उनीहरूले सुधारको महसुस गर्ने छैनन् ।