
एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिको लागि कुनै हतारो नरहेको र यसले द्वन्द्वलाई शान्तिपूर्ण रूपमा समाधान गर्न नचाहेमा मस्कोले आफ्ना सबै लक्ष्यहरू शक्ति प्रयोग गरेर पूरा गर्ने बताएका छन् ।
सरकारी समाचार एजेन्सी तासद्वारा शनिबार प्रसारित पुटिनको टिप्पणी रुसको विशाल ड्रोन र मिसाइल आक्रमणपछि आएको हो । रुसको उक्त आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले शान्ति चाहेको बेला रुसले युद्ध जारी राख्ने चाहना प्रदर्शन गरिरहेको बताए ।
झण्डै चार वर्षअघि पुटिनले युक्रेनमाथि पूर्ण स्तरको आक्रमण गरेर सुरु गरेको युद्धको समाधान खोज्न जेलेन्स्कीले आइतबार फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट्ने कार्यक्रम छ ।
ह्वाइट हाउसले पुटिनको टिप्पणीमाथि प्रतिक्रियाको लागि गरिएको अनुरोधलाई तुरुन्तै सम्बोधन गरेन ।
मस्कोका सेनाले युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रका मर्नोह्राद, रोडिन्स्के र आर्टेमिभ्का सहरहरूका साथै जापोरेजिया क्षेत्रका हुलियाइपोल र स्टेप्नोहिस्र्क कब्जा गरेको रुसी कमान्डरहरूले एक निरीक्षण भ्रमणका क्रममा पुटिनलाई बताएको कुरा क्रेमलिनले टेलिग्राम मेसेजिङ एपमा जनाएको छ ।
युक्रेनको सेनाले हुलियाइपोल र मर्नोह्रादका बारेमा रुसको दाबीलाई गलत भन्दै अस्वीकार गरेको छ । दुवै स्थानमा अवस्था कठिन रहेको तर युक्रेनी सैनिकहरूद्वारा रक्षात्मक अपरेशन जारी रहेको युक्रेनको सशस्त्र बलको जनरल स्टाफले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
युक्रेनको सशस्त्र बलको दक्षिणी कमान्डले टेलिग्राममा हुलियाइपोलमा भीषण लडाइँ जारी रहेको जनाएको छ । तर, हुलियाइपोलको ठूलो हिस्सा युक्रेनको रक्षा बलकै नियन्त्रणमा रहेको उसको भनाइ छ ।
युद्धमैदानका दाबीहरू प्रमाणित गर्न गाह्रो छ किनकि दुवै पक्षले स्वतन्त्र पर्यवेक्षकलाई पहुँचमा प्रतिबन्ध लगाएका छन् । सूचनालाई कडाइका साथ नियन्त्रण गरिएको छ र युद्धको अग्रपङ्क्तिहरू द्रुत रूपमा परिवर्तन हुने गरेका छन् । मिडियाले स्याटेलाइट र जियोलोकेटेड फुटेजहरूमा भर पर्नुपर्ने हुन्छ जुन आंशिक वा ढिलो हुन सक्छ ।








प्रतिक्रिया