भारतसँग सुध्रिरहेको सम्बन्ध अमेरिकाले बिगारिदिन खोजेको चीनको आरोप


एजेन्सी । चीन र भारतबीच सम्बन्ध सुधारका लागि भइरहेको प्रयासलाई बिगार्न खोजेको भन्दै बेइजिङले बिहीबार अमेरिकामाथि आरोप लगाएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन च्यानले प्रेस ब्रिफिङमा सोधिएको एक प्रश्नको जवाफ दिने क्रममा यस्तो आरोप लगाएका हुन् । चीनले विवादित सीमा क्षेत्रहरूलाई लिएर भारतसँगको तनावमा आएको हालैको कमीको फाइदा उठाएर अमेरिका र भारतबीचको सम्बन्धलाई गहिरिनबाट रोक्न खोजेको हो कि भनेर प्रश्न सोधिएको थियो ।

चीनले भारतसँगको आफ्नो सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेर्ने लिनले बताए । सीमा विवाद चीन र भारतबीचको द्विपक्षीय विषय भएको थप्दै उनले यस विषयमा कुनै पनि देशले कुनै पनि किसिमको निर्णय सुनाएको कुरामा आपत्ति जनाउने बताए ।

पेन्टागनले मंगलबारको एक प्रतिवेदनमा चीनले द्विपक्षीय सम्बन्धलाई स्थिर बनाउन र अमेरिका–भारत सम्बन्धलाई गहिरिनबाट रोक्न सम्भवतः घटेको तनावको फाइदा उठाउन खोजिरहेको उल्लेख गरेको छ ।