भारतको कर्नाटकमा समुद्री चरामा भेटियो जीपीएस, चिनियाँ गुप्तचरीको आशंका

1.2k
Shares

एजेन्सी । भारतको कर्नाटकमा समुद्री किनारमा जीपीएस ट्याग गरिएको समुद्री चरा सिगल देखिएपछि निकै शंका उपशंका गरिएको छ । त्यो चिनियाँ गुप्तचरीको उपकरण भएको भनी शंका गरिएको छ ।

तर, पछि वन अधिकारीहरूले उक्त उपकरण चराहरूको बसाइँसराइको ढाँचा ट्य्राकिङ गर्ने एक वैज्ञानिक अध्ययनको हिस्सा भएको स्पष्ट पारेका थिए ।

स्थानीयहरूले चरामा असामान्य उपकरण जडान गरिएको देखेपछि सचेत गराएका थिए । त्यसलगत्तै वन विभागका अधिकारीहरूले ट्य्राकिङ उपकरण जडान गरिएको उक्त थकित चराको उद्धार गरे ।

थकित देखिएको र सामान्य चोटपटक लागेको उक्त चरालाई परीक्षणका लागि वन विभागको कार्यालयमा लगिएको थियो । उक्त उपकरण बसाइँसराइको ढाँचा अध्ययन गर्न वैज्ञानिक अनुसन्धानका लागि प्रयोग गरिएको जीपीएस ट्य्राकर भएको अधिकारीहरूले पुष्टि गरे ।

वन विभागका स्रोतहरूले जनाएअनुसार, उनीहरूले श्रीलंकाको वाइल्डलाइफ एन्ड नेचर प्रोटेक्सन सोसाइटीलाई सम्पर्क गरेका थिए । त्यसले उक्त चरालाई दीर्घकालीन बसाइँसराइ अध्ययनको हिस्सा स्वरूप ट्याग गरिएको पुष्टि गरेको छ । यद्यपि, उक्त ट्य्राकर चीनमा निर्माण गरिएको थियो । यस्ता उपकरणहरू प्रायः चीनमै बन्छन् । अधिकारीहरूले कुनै पनि किसिमको निगरानी वा जासुसीको सम्भावनालाई अस्वीकार गरेका छन् ।

नजिकै आईएनएस कदम्ब जलसेना बेस भएका कारण सञ्चारमाध्यमको एक हिस्साले उक्त ट्य्राकर जासुसी क्यामेरा हुन सक्ने भन्दै अत्यधिक अड्कलबाजी गरेको थियो । यद्यपि, उक्त उपकरणमा कुनै क्यामेरा नरहेको अधिकारीहरूले स्पष्ट पारे ।

ट्य्राकरबाट प्राप्त तथ्यांकले उक्त समुद्री चरा कारवार पुग्नुअघि आर्कटिक क्षेत्रहरू सहित १० हजार किलोमिटरभन्दा बढी उडेको देखाएको थियो ।

जीपीएस इकाइलाई सुरक्षित रूपमा हटाइसकेपछि चरालाई वन विभागको कार्यालयमा राखिएको थियो ।

प्रहरी र गुप्तचर अधिकारीहरूले विवरणहरू प्रमाणित गर्न समुद्री किनारको भ्रमण गरे र उक्त घटनाले कुनै सुरक्षा चिन्ता पैदा नगरेको पुष्टि गरे ।

अधिकारीहरूले जीपीएस ट्यागिङ चराहरूको बसाइँसराइ मार्गहरू अध्ययन गर्न वन्यजन्तु अनुसन्धानमा एक मानक अभ्यास भएकोमा जोड दिँदै सर्वसाधारणलाई गलत सूचना नफैलाउन आग्रह गरेका छन् ।