बंगलादेश नेशनलिस्ट पार्टीका अध्यक्ष रहमान १७ वर्षपछि स्वेदश फिर्ता, समयमा चुनाव हुने संकेत


एजेन्सी । बंगलादेशको प्रमुख राजनीतिक दल बीएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमान १७ वर्षको निर्वासन अन्त्य गर्दै बिहीबार आफ्नी श्रीमती र छोरीसहित लन्डनबाट स्वदेश फर्किएका छन् ।

उनीहरूलाई बोकेको विमान बंगलादेश एयरलाइन्सको उडान सिलेट हुँदै बिहान ११ः४१ बजे ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको द डेली स्टारले समाचार प्रकाशन गरेको छ ।

यसअघि, उक्त उडानले बिहान ९ः५८ बजे सिलेटको उस्मानी अन्तर्राष्ट्रिय विमानस्थलमा विश्राम (स्टपओभर) गरेको थियो ।
परिवारको घरपालुवा बिरालो जिबुका साथै उनीहरूका दुई नजिकका सहयोगीहरू अब्दुर रहमान सुन्नी र कमल उद्दिन पनि उनीहरूसँगै यात्रा गरिरहेका छन् ।

अवतरणपछि उनलाई बीएनपी स्थायी समितिका सदस्यहरूले स्वागत गरेका थिए ।

ढाकावासीको असुविधालाई कम गर्न सुहरावर्दी उद्यान र मानिक मिया एभिन्यूको सट्टा छानिएको पूर्वाञ्चलको ३०० फिट क्षेत्रमा हुने स्वागत समारोहमा जान उनले आफ्ना लागि आयात गरिएका दुईवटा बुलेटप्रुफ सवारीसाधनमध्ये एउटा प्रयोग गर्नेछन् । पार्टीका नेता तथा कार्यकर्ताहरू उनलाई स्वागत गर्न सडकको दुवै किनारमा लामबद्ध भएका छन् ।

बीएनपीका स्थायी समिति सदस्यहरू, एकसाथ आन्दोलनमा सहभागी राजनीतिक दलका नेताहरू र प्रतिष्ठित व्यक्तित्वहरू मञ्चमा उपस्थित हुनेछन् । तर, भीडलाई तारिकले मात्र सम्बोधन गर्नेछन् ।

सम्बोधनपछि तारिक आफ्नी बिरामी आमा तथा पूर्वप्रधानमन्त्री खालिदा जियालाई भेट्न एभरकेयर अस्पताल जानेछन् । त्यहाँ उनको विगत एक महिनाभन्दा बढी समयदेखि उपचार भइरहेको छ ।

आफ्नी आमालाई भेटेपछि उनी एयरपोर्ट रोड र काकोली मोर हुँदै गुलशन–२ स्थित जिया परिवारको निवास फिरोजा जानेछन् ।
कुनै पनि अप्रिय घटना हुन नदिन ढाका महानगरीय प्रहरीले बहुस्तरीय सुरक्षा व्यवस्था अपनाएको छ ।

हसिना सरकारको समयमा तारिकलाई मार्च २००७ मा पक्राउ गरिएको थियो । उनलाई सेप्टेम्बर २००८ मा धरौटीमा रिहा गरियो र उनी ११ सेप्टेम्बरमा उपचारका लागि आफ्नो परिवारसँग लन्डन प्रस्थान गरे ।

तारिक आफ्नी श्रीमती जुबैदा रहमान र छोरी जाइमा रहमानसँग लन्डनमा बस्दै आएका थिए । जुबैदा रहमान आफ्नी बिरामी सासुसँग ढाकामा दुई हप्ता बसेपछि २० डिसेम्बरमा लन्डन फर्किएकी थिइन् ।

अवामी लिगको कार्यकालमा तारिकलाई अनुपस्थितिमा पाँचवटा मुद्दामा दोषी ठहर गरिएको थियो र उनले करिब १०० वटा मुद्दाहरूको सामना गरेका थिए । अवामी लिग सरकारको पतनपछि उनीमाथि लागेका सबै आरोपहरू खारेज गरिए । हाल उनीविरुद्ध कुनै पनि मुद्दा विचाराधीन छैनन् ।

२२ वर्षको उमेरमा तारिक सन् १९८८ मा बोगुरा जिल्लाको गबतली उपजिला बीएनपीको सदस्य बनेका थिए । उनी संगठनमा औपचारिक रूपमा आबद्ध हुनुभन्दा अघिदेखि नै राजनीतिमा संलग्न थिए ।

उनले सन् १९९१ को निर्वाचनका क्रममा आफ्नी आमासँगै देशव्यापी चुनावी अभियानमा भाग लिएका थिए ।

सन् २००२ मा तारिक पार्टीको वरिष्ठ संयुक्त महासचिव नियुक्त भएका थिए ।

लन्डनमा निर्वासनमा रहँदा उनले आफ्ना भाइ अराफात रहमान कोकोलाई गुमाए । विदेशमा रहँदा उनी सन् २००९ मा बीएनपीको पाँचौं राष्ट्रिय परिषदमा वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका थिए र सन् २०१६ मा छैटौं राष्ट्रिय परिषदमा पुनः सोही पदमा निर्वाचित भएका थिए ।

फेब्रुअरी २०१८ मा जिया अर्फनेज ट्रस्ट भ्रष्टाचार मुद्दामा खालिदालाई जेल सजाय भएदेखि तारिकले बीएनपीको कार्यवाहक अध्यक्षको रूपमा सेवा गर्दै आएका छन् ।

रहमान बंगलादेश आएसँगै आगामी फेब्रुअरी २०२६ मा आमनिर्वाचन हुने सम्भावना बढेर गएको छ ।