शान्ति प्रक्रिया अघि बढाउन देशको पूर्वी भागबाट सेना फिर्ता बोलाउन सकिने जेलेन्स्कीको भनाइ


एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पत्रकारहरूसँग कुरा गर्दै रुसले पनि आफ्ना सेना फिर्ता गरेमा देशको पूर्वी क्षेत्रबाट आफ्ना सेना फिर्ता गर्न इच्छुक रहेको बताएका छन् ।

उक्त क्षेत्र अन्तर्राष्ट्रिय सेनाद्वारा निगरानी गरिएको निःशस्त्रीकृत स्वतन्त्र आर्थिक क्षेत्र बनाउनुपर्ने शर्त उनले राखेका छन् । रुससँगको युद्ध अन्त्य गर्ने योजनाको हिस्साका रूपमा जेलेन्स्कीले यो प्रस्ताव गरेका हुन् ।

यो प्रस्ताव डोनबास क्षेत्रका विषयमा जेलेन्स्कीले गर्न चाहेको सम्झौताको अहिलेसम्मको सबैभन्दा स्पष्ट संकेत हो । त्यसको नियन्त्रण शान्तिवार्तामा एक प्रमुख अड्चन बनेको छ ।

हाल रुसको नियन्त्रणमा रहेको जापोरिजा आणविक ऊर्जा केन्द्र वरपरको क्षेत्रका लागि पनि यस्तै व्यवस्था सम्भव हुन सक्ने जेलेन्स्कीले बताए । उनले सबै शान्ति योजनालाई जनमत संग्रहमा लैजानुपर्ने कुरामा जोड दिए ।

जेलेन्स्कीले हालैका दिनहरूमा फ्लोरिडामा युक्रेन र अमेरिकाका वार्ताकारहरूले तयार पारेको २० बुँदे बृहद् योजनाको वर्णन गर्न रातभरि पत्रकारहरूसँग कुरा गरे यद्यपि उनले धेरै विवरणहरूमा अझै छलफल भइरहेको बताए ।

रुसले कब्जा गरेको जमिनबाट कुनै पनि प्रकारको सेना फिर्ता गर्न सहमत हुने कुनै संकेत दिएको छैन ।

वास्तवमा, मस्कोले युक्रेनलाई डोनबासमा अझै पनि आफ्नो नियन्त्रणमा रहेको बाँकी क्षेत्र छोड्न आग्रह गरेको छ । त्यस चेतावनीलाई युक्रेनले अस्वीकार गरेको छ ।

रुसले लुहान्स्कको अधिकांश भाग र डोनेट्स्कको करिब ७० प्रतिशत भाग कब्जा गरेको छ । यी दुई क्षेत्र मिलेर डोनबास बन्छन् ।

त्यस योजनाको बारेमा सोधिएको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले टिप्पणी गर्दै मस्कोले राष्ट्रपतिका दूत किरिल दिमित्रिभबाट प्राप्त जानकारीको आधारमा आफ्नो अडान तय गर्ने बताए । दिमित्रिभले गत सप्ताहान्तमा फ्लोरिडामा अमेरिकी दूतहरूसँग भेट गरेका थिए ।

पेस्कोभले थप विवरण साझा गर्न अस्वीकार गरे ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना युद्ध अन्त्य गर्ने योजना प्रस्तुत गरेदेखि अमेरिकी वार्ताकारहरूले युक्रेन र रुससँग छुट्टाछुट्टै वार्ताको शृंखला सुरु गरेका छन् । यस प्रस्तावलाई व्यापक रूपमा मस्कोको पक्षमा रहेको मानिएको छ ।

रुसले झण्डै चार वर्षअघि आफ्नो छिमेकीमाथि आक्रमण गरेको थियो । त्यसबेलादेखि युक्रेन र युरोपका यसका सहयोगीहरूले योजनालाई किभको अडानको नजिक ल्याउन काम गरेका छन् ।

जेलेन्स्कीले डोनबास क्षेत्रको नियन्त्रणको विषय टुंगो लगाउनु सबैभन्दा कठिन बुँदा भएको बताए ।

यसैबीच, जापोरिजा आणविक ऊर्जा केन्द्रको सन्दर्भमा अमेरिकाले युक्रेन र रुससँग एउटा कन्सोर्टियम (संघ) बनाउन प्रस्ताव गरेको छ । त्यसमा प्रत्येक पक्षको समान हिस्सा रहनेछ ।

जेलेन्स्कीले यसको विपरीत अमेरिका र युक्रेनबीचको संयुक्त संगठनको प्रस्ताव गरेका छन् । त्यसमा अमेरिकीहरूले आफ्नो हिस्सा कसरी वितरण गर्ने भन्ने निर्णय गर्न सक्नेछन् । त्यसको केही भाग रुसलाई दिने कुरा पनि समावेश छ ।

अमेरिकाले युक्रेनका प्रस्तावहरू अझै स्वीकार नगरिसकेको जेलेन्स्कीले बताए ।

‘हामीले डोनेट्स्क क्षेत्र र जापोरिजा क्षेत्रमा अमेरिकी पक्षसँग सहमति जुटाउन सकेनौं,’ जेलेन्स्कीले भने, ‘तर, हामीले धेरैजसो अडानहरूलाई उल्लेखनीय रूपमा नजिक ल्याएका छौं । सैद्धान्तिक रूपमा यस सम्झौताका अन्य सबै सहमतिहरू हामी र उनीहरूबीच जुटेका छन् ।’

डोनबासमा स्वतन्त्र आर्थिक क्षेत्र सिर्जना गर्न सेनालाई कति टाढा फिर्ता लैजानुपर्छ र अन्तर्राष्ट्रिय सेना कहाँ तैनाथ गरिनेछ भन्ने बारेमा कठिन छलफल आवश्यक पर्ने जेलेन्स्कीले बताए र यसलाई नेताहरूको स्तरमा छलफल गरिनुपर्ने थपे ।

अमेरिका–युक्रेन कार्य मस्यौदाले निप्रोपेत्रोव्स्क, माइकोलाइभ, सुमी, खार्किभ क्षेत्रहरूबाट रुसी सेना फिर्ता हुने प्रस्ताव पनि गरेको छ ।

जेलेन्स्कीले सम्झौता कार्यान्वयनको अनुगमन गर्न स्वतन्त्र आर्थिक क्षेत्रभित्रको सम्पर्क रेखाका निश्चित बिन्दुहरूमा अन्तर्राष्ट्रिय सेनाहरू तैनाथ हुन सक्ने परिकल्पना गरेका छन् ।

‘रुसीहरूमाथि कुनै विश्वास नभएको र उनीहरूले बारम्बार आफ्ना वाचाहरू तोडेका हुनाले आजको सम्पर्क रेखा वास्तविक रूपमा स्वतन्त्र आर्थिक क्षेत्रको रेखामा परिणत हुँदैछ र कुनै पनि बहानामा कोही पनि त्यहाँ प्रवेश नगर्ने कुराको ग्यारेन्टी गर्न त्यहाँ अन्तर्राष्ट्रिय सेना हुनुपर्दछ,’ जेलेन्स्कीले भने ।

युक्रेनले जापोरिजा पावर प्लान्टको सबैभन्दा नजिकको शहर एनरहोडारलाई निःशस्त्रीकृत स्वतन्त्र आर्थिक क्षेत्र बनाउन प्रस्ताव गरिरहेको जेलेन्स्कीले बताए ।

यस बुँदामा अमेरिकासँग १५ घण्टाको छलफल आवश्यक परेको तर कुनै सहमति हुन नसकेको उनले बताए ।

अहिलेका लागि अमेरिकाले प्लान्टलाई युक्रेन, अमेरिका र रुसद्वारा संयुक्त रूपमा सञ्चालन गर्ने प्रस्ताव गरेको छ । त्यसमा प्रत्येक पक्षले ३३ प्रतिशत हिस्सा नियन्त्रण गर्नेछ । त्यस योजनालाई जेलेन्स्कीले पूर्ण रूपमा यथार्थपरक नभएको बताए ।
‘सबै कुरा भइसकेपछि रुसीहरूसँग कसरी संयुक्त व्यापार गर्न सकिन्छ ?’ उनले प्रश्न गरे ।

युक्रेनले यसको साटो अमेरिकासँगको संयुक्त प्रयासमा प्लान्ट सञ्चालन गर्न सुझाव दिएको छ । त्यसमा अमेरिकीहरूले आफ्नो ५० प्रतिशत हिस्साबाट ऊर्जा कसरी वितरण गर्ने भन्ने स्वतन्त्र रूपमा निर्धारण गर्न सक्नेछन् ।

जेलेन्स्कीले छेउको बाँधको पुनःस्थापना सहित प्लान्टलाई फेरि सञ्चालन गर्न अर्बौंको लगानी आवश्यक पर्ने बताएका छन् ।

मस्यौदा योजनामा युक्रेनले बलियो सुरक्षा ग्यारेन्टीहरू प्राप्त गर्ने सुनिश्चित गर्दछ । त्यसले रुसको आक्रामकता पुनः दोहोरिएको खण्डमा युक्रेनका साझेदारहरूलाई कदम चाल्न आवश्यक तुल्याउँछ ।

यसले नेटोको धारा ५ लाई प्रतिबिम्बित गर्नेछ । त्यस धाराले गठबन्धनको एक सदस्यमाथि भएको सशस्त्र आक्रमण सबैमाथिको आक्रमण हो भन्छ ।

जेलेन्स्कीले अमेरिकासँगको छुट्टै कागजातले यी ग्यारेन्टीहरूलाई ठोस रूपरेखा दिने बताए ।

यसले विशेषगरी रुसको आक्रमण दोहोरिएको अवस्थामा कुन शर्तहरूमा सुरक्षा प्रदान गरिनेछ भन्ने विवरण दिनेछ र कुनै पनि युद्धविरामको अनुगमन गर्न संयन्त्र स्थापना गर्नेछ ।

युद्ध अन्त्य गर्नका लागि मुख्य सम्झौतासँगै यो कागजातमा पनि हस्ताक्षर गरिने जेलेन्स्कीले बताए ।

‘यो उनीहरूको तर्फबाट युक्रेनका लागि एक अभूतपूर्व कदम भएको अमेरिकाको सोच छ । उनीहरूले बलियो सुरक्षा ग्यारेन्टी दिइरहेको विश्वास गरेका छन्,’ उनले भने ।

मस्यौदामा शान्तिको समयमा युक्रेनको सेना ८ लाखमा सीमित राख्ने र युक्रेन निश्चित मितिसम्ममा युरोपेली संघको सदस्य बन्ने लगायतका अन्य तत्त्वहरू समावेश छन् ।

युक्रेनको सैन्य आकारलाई सीमित गर्नु रुसको मुख्य माग हो ।

कागजातले युक्रेन र अमेरिकाबीचको स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता दिने प्रस्ताव पनि गरेको छ । अमेरिकाले रुससँग पनि यस्तै सम्झौता चाहेको जेलेन्स्कीले बताए ।

युक्रेनले युरोपेली बजारमा अल्पकालीन विशेषाधिकार प्राप्त पहुँच र एक बलियो विश्वव्यापी विकास प्याकेज प्राप्त गर्न चाहन्छ जसमा युक्रेनका उद्योगहरूमा बाह्य लगानी आकर्षित गर्न विकास कोषको निर्माण समावेश हुनेछ ।

अन्य बुँदाहरूमा इक्विटी, अनुदान, ऋण र निजी क्षेत्रको योगदानमार्फत ८०० अर्ब अमेरिकी डलर आकर्षित गर्ने लक्ष्यका साथ युक्रेनको पुनर्निर्माणका लागि कोष संकलन गर्ने प्रस्ताव समावेश छ ।

मस्यौदा प्रस्तावले सम्झौतामा हस्ताक्षर भएपछि युक्रेनले चुनाव गराउनुपर्ने पनि उल्लेख गरेको छ । जेलेन्स्कीको पाँच वर्षको कार्यकाल मे २०२४ मा समाप्त हुने तालिका थियो तर रुसी आक्रमणका कारण चुनाव स्थगित गरिएको थियो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सोही कुरालाई समातेर जेलेन्स्की अवैध राष्ट्रपति भएको बताइरहेका छन् । ट्रम्पसँग यही कुरा तनावको स्रोत बनेको छ । उनले निर्वाचनमा भइरहेको ढिलाइको आलोचना गरेका छन् ।

युक्रेनले सन् २०१४ देखि पक्राउ परेका सबै कैदीहरूलाई एकैसाथ रिहा गर्न र नागरिक थुनुवा, राजनीतिक कैदी र बालबालिकाहरूलाई युक्रेन फिर्ता गर्न पनि माग गरिरहेको छ ।

रुसले सन् २०१४ मा युक्रेनको क्राइमिया प्रायद्वीप अवैध रूपमा कब्जा गरेको थियो र युक्रेनी सेना र मस्को समर्थित सेनाले त्यस वर्षदेखि डोनबासमा पनि लडाइँ गरिरहेका छन् ।