
एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आगामी वर्षको आरम्भमा हुने महत्त्वपूर्ण पार्टी महाधिवेशनअघि देशको आर्थिक प्रगतिलाई उजागर गर्ने उद्देश्यका साथ आफ्नी छोरी जु ए सँगै देशको एक पर्यटकीय क्षेत्रमा होटलहरूको उद्घाटन समारोहमा सहभागिता जनाएका छन् ।
उत्तर कोरियाको सामजियोन पर्यटकीय क्षेत्रमा शनिबार र आइतबार पाँचवटा होटलहरू सञ्चालनमा आएका छन् । कोरियाली प्रायद्वीपको उत्तरपूर्वी भागमा चीनसँगको सीमा नजिकै अवस्थित यस क्षेत्रबारे सरकारी सञ्चारमाध्यम केसीएनएले मंगलबार जानकारी दिएको हो ।
शनिबारको समारोहमा सहभागी भएका किमले जु ए सँगै ती विलासी होटलहरूको भ्रमण गरेको कुरा सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा देखाइएको छ ।
केही विश्लेषकहरू किमकी किशोरी छोरीलाई देशको अर्को नेता बन्ने दौडमा सबैभन्दा अगाडि रहेको व्यक्तिका रूपमा हेर्छन् ।
केसीएनएका अनुसार, किमले ती होटलहरू जनताको बढ्दो स्तर र देशको विकास क्षमताको स्पष्ट प्रमाण भएको बताएका छन् ।
उत्तर कोरियाका नेताले विगत एक महिनामा विभिन्न सुविधाहरूका धेरै उद्घाटन समारोहहरूमा भाग लिइसकेका छन् । त्यसमा गत हप्ता मात्रै भएका तीनवटा क्षेत्रीय कारखानाका उद्घाटनहरू पनि समावेश छन् ।
उत्तर कोरियाले सन् २०२६ को सुरुमा पाँच वर्षपछिको आफ्नो पहिलो पार्टी महाधिवेशन गर्ने अपेक्षा गरिएको छ । त्यसमा आगामी पाँच वर्षका लागि नयाँ विकास योजना सार्वजनिक गरिने सम्भावना छ ।
रोदोङ सिनमुन जस्ता सरकारी सञ्चारमाध्यमहरूले उक्त भेला हुनुअघि नै ठूला आयोजनाहरू सम्पन्न गर्नका लागि पूर्ण जनप्रयासका लागि आग्रह गर्दै आएका छन् ।








प्रतिक्रिया