अमेरिकामा अवैध रूपमा पुगेकाहरू आफैं निस्केमा ३ हजार डलर दिने प्रस्ताव


एजेन्सी । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सिक्योरिटीले वर्षको अन्त्यमा एक प्रोत्साहन प्याकेजको घोषणा गरेको छ ।

त्यसअन्तर्गत सीबीपी होम एपमार्फत दर्ता भई स्वेच्छाले देश छोड्ने अवैध आप्रवासीहरूलाई ३ हजार डलर र निःशुल्क हवाई टिकट उपलब्ध गराइनेछ । डिसेम्बरको अन्त्यसम्म उपलब्ध रहने यस अफरले स्व–निर्वासन कार्यक्रम अन्तर्गत पहिले दिइने १ हजार डलरको भुक्तानीलाई तीन गुणा बढाएको छ ।

यो पहल ट्रम्प प्रशासनको औपचारिक निर्वासनको लागत घटाउँदै अध्यागमन कानून कार्यान्वयनमा कडाइ गर्ने प्रयासको एक हिस्सा हो । एपमार्फत स्वनिर्वासन रोज्ने आप्रवासीहरूले अमेरिकामा बढी समय बसेको वा देश नछोडेको कारण लाग्ने देवानी जरिवाना वा सजायबाट पनि माफी पाउने डीएचएसले जनाएको छ ।

‘वर्षको अन्त्यसम्म सीबीपी होम एपमार्फत स्वनिर्वासनका लागि दर्ता गर्ने अवैध विदेशीहरूले घर फर्कन निःशुल्क हवाई टिकटका साथै ३ हजार डलरको भत्ता प्राप्त गर्नेछन्,’ डीएचएसको प्रेस विज्ञप्तिमा भनिएको छ ।

डीएचएस मन्त्री क्रिस्टी नोएमले कानूनी हैसियत बिना अमेरिकामा बसिरहेकाहरूका लागि यस कार्यक्रमले स्पष्ट विकल्प प्रदान गर्ने बताइन् । ‘यो छुट्टीको मौसममा एक अवैध विदेशीले आफू र आफ्नो परिवारलाई दिन सक्ने सबैभन्दा उत्तम उपहार सीबीपी होम एपमार्फत हुने स्वनिर्वासन हो,’ विज्ञप्तिमा उल्लेख छ । यो अफर स्वीकार नगर्नेहरूले पक्राउ र निर्वासनको सामना गर्नुपर्ने र उनीहरूलाई अमेरिका फर्कन प्रतिबन्ध लगाइने पनि थपिएको छ ।

डीएचएसका अनुसार, सन् २०२५ को जनवरीदेखि यता करिब १९ लाख कागजातविहीन आप्रवासीहरूले स्वेच्छाले देश छोडेका छन् । त्यसमा दशौं हजारले सीबीपी होम कार्यक्रम प्रयोग गरेका छन् । विभागले यो उच्च प्रोत्साहन प्याकेज छुट्टीको मौसममा सीमित अवधिका लागि मात्र उपलब्ध गराइने बताएको छ ।

‘क्रिसमसको यस सिजनमा अमेरिकी करदाताहरूले यस देशमा अवैध रूपमा रहेकाहरूलाई स्वेच्छाले फर्कनका लागि ३ हजार डलरको एक्जिट बोनस अफर गर्दै प्रोत्साहन रकम उदारतापूर्वक तीन गुणा गरिदिएका छन् तर यो वर्षको अन्त्यसम्मका लागि मात्र हो,’ विज्ञप्तिमा नोएमलाई उद्धृत गर्दै भनिएको छ ।

प्रशासनले अवैध अध्यागमनमाथि व्यापक कारबाही जारी राखिरहेका बेला यो घोषणा आएको हो । डीएचएसले आपराधिक रेकर्ड भएका आप्रवासीहरूलाई पक्राउ गर्नमा कार्यान्वयन अभियानहरू केन्द्रित रहेको र अरूलाई कम खर्चिलो विकल्पको रूपमा स्वेच्छाले देश छोड्न प्रोत्साहित गरिएको जनाएको छ ।

नोएमले अवैध आप्रवासीहरूलाई यो अफर बेवास्ता नगर्न चेतावनी पनि दिइन् । ‘अवैध विदेशीहरूले यस उपहारको फाइदा उठाउनुपर्छ र स्वनिर्वासित हुनुपर्छ किनकि उनीहरूले त्यसो गरेनन् भने हामी उनीहरूलाई फेला पार्नेछौं, पक्राउ गर्नेछौं र उनीहरू कहिल्यै फर्कन पाउने छैनन्,’ उनले भनिन् ।