अशोक, दीपेन्द्रसहित १३ जना सीआईबीको हिरासतमा, अनुसन्धान जारी


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा १३ जना आरोपित रहेका छन् ।

‘धितोपत्र सम्बन्धी ऐन, २०६३’, ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६’, ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४’, ‘ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुर’ र ‘मुलुकी अपराध संहिता, २०७६’ को कसुरमा १३ जना सीआईबीको हिरासतमा रहेको ब्यूरोले जनाएको छ ।

हिरासतमा रहनेहरूमा ४२ वर्षीय दीपेन्द्र अग्रवाल, ४२ वर्षीय सुगेन भन्ने सुजीन शाक्य, २८ वर्षीय सुनित प्रभाग रेग्मी, २८ वर्षीय आशिषबाबु कुमाल, आश्रित विष्ट, धावा तामाङ, बीबी थापा, अर्जुन कुमार कार्की, लेखबहादुर कार्की, ५४ वर्षीय अशोक शेरचन, ५६ वर्षीय मणिराम पोख्रेल, ५० वर्षीय रिवास श्रेष्ठ र राजेन्द्र शाक्य रहेका छन् ।

नेपाल राष्ट्र बैंकबाट भएको निर्देशन तथा प्रचलित कानुनविपरीत कार्य गरी प्रभु बैंकलाई हानिनोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूका नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने/गराउने कसुरमा संलग्न रहेको आरोपमा अशोक शेरचन सीआईबीको हिरासतमा छन् ।

झुटा कारोबार गरेर शेयरको मूल्य प्रभावित गरेको अभियोगमा दीपेन्द्र अग्रवाल सीआईबीको हिरासतमा छन् ।

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बदनियत राखेर हानिनोक्सानी हुने गरी भाडा सम्झौता गरेको आरोपमा लेखबहादुर कार्की र अर्जुन कुमार कार्की हिरासतमा छन् ।

काठमाडौँमा कार्यरत विवरण दर्ता अपरेटरको ‘युजर आइडी’ र ‘पासवर्ड’ दुरुपयोग गरी गलत मनसायले विभिन्न व्यक्तिहरूका विवरणहरू हेरफेर गरी राष्ट्रिय परिचयपत्र स्वीकृत (अप्रुभ) गरेको आरोपमा सुनित प्रभाग रेग्मी र आशिषबाबु कुमाल हिरासतमा रहेका छन् ।

हिरासतमा रहेकाहरूमाथि अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ ।