पूर्वकै पहिलो गोर्खा डिपार्टमेन्ट स्टोर लिलामी हुन लागेको हो ?


विराटनगर । गोर्खा डिपार्टमेन्ट स्टोरले कर्जा नियमित नगरेपछि बैंकले धितो लिलामीको प्रक्रिया थालेको छ । कोशी प्रदेशका सफल व्यवसायी मध्येका बलराम अचार्य खत्रीले सञ्चालन गर्दै आएको गोर्खाले चैतयता किस्ता नियमित गर्न नसके पछि हिमालयन बैंकले कर्जा तिर्न आउने ३५ दिने सूचना निकालेको हो ।

अचार्यले सुनसरीको इटहरीसहित पूर्वका विभिन्न पाँच सहरमा गोर्खा डिपार्टमेन्ट स्टोर सञ्चालन गर्दै आएका छन् । पूर्व क्षेत्रमा डिपार्टमेन्ट स्टोर सञ्चालन गरेर सपिङ संस्कृतिको सुरुवात गर्ने श्रेय पाएका अचार्यको डिपार्टमेन्ट स्टोर आर्थिक संकटमा परेको हो ।

हिमालयन बैंकले गोर्खा डिपार्टमेन्ट स्टोरको सावा, ब्याज र जरिवाना रकम भुक्तानी गर्न आग्रह गर्दै यदी नगरे कालोसूचीमा राखेर बैंकको लेना असुल गर्ने चेतावनी दिएको हो ।

बैंकले पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि भुक्तानी नगरेको जनाउँदै ३५ दिनभित्र अर्थात् आगामी माघ ३ गतेसम्म रकम नतिरे कालोसूचीमा राखेर आफ्नो लगानी असुल उपर गर्ने चेतावनी दिएको छ ।

त्यसका लागि बैंकले गोर्खा डिपार्टमेन्टको नाममा रहेको सुनसरीको इटहरी, हाँसपोसा, एकम्बा र बक्लौरी मोरङको कानेपोखरी, केरौन र खोटाङको चिउरी डाँडा लगायत स्थानमा रहेका ४२ कित्ता जग्गा सहित सवारी साधन सहित लिलामी प्रक्रिया सुरु गरिएको छ।

बैंकले कम्पनीका प्रोप्राइटरले प्रयोग गर्दै आएका टोयोटा ल्यान्डक्रुजर, टाटाको इन्ट्रा र कियाको सेल्टोस गाडीलाई समेत लिलामी सूचीमा राखेको छ । कम्पनीको प्रोप्राइटर तथा जमानीमा संलग्न रहेको भन्दै अन्जु आचार्य खत्रीसहित जमानी बस्ने सन्तोष आचार्य, सुशील आचार्य र बलराम अचार्य खत्रीको नाममा सूचना जारी गरेको छ ।

लामो समयदेखि जारी सुस्त व्यापारिक गतिविधि, कोभिड कहर, जेनजी आन्दोलन लगायतको प्रभावका कारण गोर्खा डिपार्टमेन्ट स्टोर बैंकलाई ३ महिनादेखि साँवा, व्याज र किस्ता तिर्न नसकेको अचार्यले स्वीकारे ।

यो बैंकसँग गोर्खा डिपार्टमेन्टको कारोवार विगत दुई दशकदेखि नियमित छ । लिएको ऋण भन्दा २० गुणा बढी धितो रहेको अचार्य बताउँछन् । आचार्यले ३ महिना मात्र किस्ता तिर्न नसक्दा बैंकले लिलामीको सूचना निकालेको बताए ।

डिपार्टमेन्टका नाममा १ अर्ब २५ करोड रूपैयाँ ऋण छ । एक साता भित्रमा फरफारक गर्ने तयारी रहेको उनी बताउँछन् ।

आर्थिक सुस्तता र व्यापारिक कारोवार ठप्प प्राय हुँदा ३ महिनादेखि बैंकलाई किस्ता तिर्न नसकेको उनले बताए ।

इटहरी चोकदेखि धरानजाने बाटोको पश्चिम तर्फको एउटा घरको भुइँतलाको ४ हजार स्क्वायर फिट भाँडामा लिएर आचार्यले २०५६ साल असारमा ४०–४५ लाखको लगानीमा गोर्खा डिपार्टमेन्ट स्टोरको सुरुवात गरेको विगत छ ।

त्यसअघि आचार्य झापाको चारआलीमा तत्कालीन व्यवसायी कैलाश शर्माको पसलका कामदार थिए । त्यसपछि उनले मोरङको कानेपोखरी बयरवनमा आफ्नो किराना पसल र खाद्यान्नको खरिद बिक्री गरेको पनि इतिहास छ ।

उनै आचार्यले २०५६ असारमा काठमाडौंमा पनि डिपार्टमेन्ट स्टोरको राम्रो विकास नभएको अवस्थामा इटहरीको चोकैमा गोर्खा डिपार्टमेन्ट स्टोर खोल्दा ‘डिपार्टमेन्टल स्टोर’को कन्सेप्ट पूर्वका लागि पहिलो बनेको थियो ।

१५ सयलाई रोजगारी दिएका आचार्यले स्टोरसँगसँगै गोर्खा किचन, गोर्खा होटल, गाई फार्म सञ्चालन गरिरहेका छन् । उनले गोर्खा ब्रान्डमा विभिन्न व्यवसाय पनि गर्दै आएका छन् ।