गोर्खा डिपार्टमेन्ट स्टोरको व्यापार एकैवर्ष १० करोडले घट्यो, कति छ ऋण ?



काठमाडौं । गोर्खा डिपार्टमेन्ट स्टोरको व्यापार घटेको छ । एकै वर्षमा स्टोरको व्यापार १० करोड र दुई वर्षमा १७ करोड रुपैयाँले घटेको हो । इटहरी, दमक, पथरी र विर्तामोडमा प्रख्यात डिपार्टमेन्ट स्टोरले सन् गत आर्थिक वर्ष २०८०/८१ मा ७४ करोड २० लाख रुपैयाँ (अपरिष्कृत) को कारोबार गरेको हो ।

२०७९/८० मा ८४ करोड ७० लाख र २०७८/७९ मा ९२ कारोबार २० लाख रुपैयाँको कारोबार गरेको थियो । स्टोरले २०७७/७८ मा ५९ करोड ४० लाख र २०७६/७७ मा ९२ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । गोर्खा डिपार्टमेन्ट स्टोर पूर्वी नेपालको पहिलो र लोकप्रिय सुपरमार्केट स्टोर हो ।

अर्थतन्त्रमा देखिएको संकुचन र छ्यापछ्याप्ती खुलेका किराना पसलका कारण ब्यापार घटेको हो । साथै इटहरी र दमकमा भाटभटेनी खुलेपछि त्यसको असर देखिएको हो ।

सन् १९९९ मा स्थापना भएको कम्पनीले घरयासी उपयोगका सामग्री बिक्री वितरण गर्दै आएको छ । कोशी प्रदेशका ४ शहरमा स्टोर सञ्चालन गर्दै आएको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९५ करोड ५२ लाख रुपैयाँको रेटिङ गराएको छ । कारोबार घटेसँगै ऋणको सीमा पनि घटेको छ ।

बलराम आचार्य खत्री र अन्जु आचार्य खत्रीको संयुक्त लगानी रहेको छ । उनीहरु श्रीमानश्रीमति हुन् । हस्पिटालिटी, एग्रो प्रशोधन र व्यापारमा अनुभवी रहेका बलराम खत्रीको कार्यालय सुनसरीको इटहरीमा अवस्थित छ । करिब ४५ लाख लगानीमा २०५६ असार २ गते गोर्खा डिपार्टमेन्ट स्टोर शुरु भएको थियो।


क्लिकमान्डु