अर्बको कारोबार गर्ने गोर्खा डिपार्टमेन्ट स्टोर, २२ वर्षअघि बलरामलाई भन्थे- ‘पैसा धेरै भएर बौलायो’



इटहरी। दुई दशकअघि इटहरीमा गोर्खा डिपार्टमेन्ट स्टोर खोल्दा चिनेजानेकाले भन्थे, ‘पैसा धेरै भएर बलराम बौलाएछ ।’

स्थानीय व्यापारीले ‘मेला लगाएको हो दुईचार दिनमै उठाइहाल्छ नि’ पनि भने । कतिले ‘बलरामको पसलभित्र पसेको पनि पैसा तिर्नुपर्छ’ भनेर हल्ला फिँजाए ।

२०५६ असारमा बलराम आचार्यले इटहरीको चोकैमा गोर्खा डिपार्टमेन्ट स्टोर खोल्दा ‘डिपार्टमेन्टल स्टोर’को कन्सेप्ट खासै थिएन । उनकै गाउँले साथी मीनबहादुर गुरुङले काठमाडौंमा भाटभटेनी खोलेका थिए । त्यो पनि त्यत्तिधेरै चर्चित भइसकेको थिएन ।

२२ वर्षको अन्तरालमा समयले यसरी कोल्टे फेरेको छ कि आचार्य पूर्वको चर्चित डिपार्टमेन्टल स्टोर सञ्चालक बनेका छन् । उनले यस अवधिमा डिपार्टमेन्ट स्टोरका पाँचवटा शाखा बिस्तार गरिसकेका छन् । जसले पूर्वमा डिपार्टमेन्ट स्टोरको कल्चर बसाल्यो ।

गोर्खा ब्रान्डमा विभिन्न व्यवसाय फैलाउन आचार्यलाई साथ दिएका छन्, श्रीमति र दुई छोराहरु ।

१५ सयलाई रोजगारी दिएका आचार्यले स्टोरसँगसँगै गोर्खा किचन, गोर्खा होटल, काउ फार्म सञ्चालन गरिरहेका छन् ।

इटहरीको चोकदेखि धरान जाने बाटोको बाँयातर्फ छ, गोर्खा डिपार्टमेन्ट स्टोर । गएको हप्ता डिपार्टमेन्ट स्टोर पुग्दा ग्राहकको निकै भिडभाड थियो ।

सोही स्टोरको सातौं तलामा रहेको कार्यालयमा भेटिए आचार्य । कार्यालयको भित्तामा भगवानका फोटोहरु सजिएका छन् । तस्बिरमाथि रहेका फूल र रुद्राक्षको मालाले भगवानप्रति उनको आस्था र विश्वास झल्काइरहेको थियो ।

कुनै पनि काम शुरु गर्नुभन्दा पहिला कुल देवतालाई सम्झन्छन् र आँखा चिम्लिाएर आत्मालाई सोध्छन् । त्यो ध्यानले जे भन्छन्, त्यही निर्णय लिन्छन् ।

‘काठमाडौंमा पनि डिपार्टमेन्ट स्टोरको राम्रो विकास नहुँदै इटहरी चोकका गोर्खा डिपार्टमेन्ट स्टोर खोल्ने आइडिया कसरी आयो ?’ हामीले सोध्यौं ।

‘मेरा हरेक कामको निर्णय आँखा चिम्लिएर भगवान र आत्मलाई सोधेपछि मात्रै हुन्छ,’ ६३ वर्षे आचार्यले भने, ‘गोर्खा डिपार्टमेन्टको बारेमा भन्नुभन्दा पहिला मेरो शुरुदेखिको कथा भन्न चाहन्छु ।’

आमाको त्यो एक प्रश्न
दाई नागाल्याण्डमा ऊखु खेती गर्थे । ४२ वर्षअघि २० वर्षे बलराम आचार्य पनि खोटाङ दिक्तेलको गाउँ छोडेर नागाल्याण्ड गए । उतै पढे ।

बलराम गएको दुई वर्षपछि दाजुभाउजु फर्किए । बलराम भने त्यतै बसेर अझ धेरै खेती गर्ने निर्णय गरे ।

एक नागाले आफ्नो जमिनलाई लिजमा दिन लागेको रहेछ । आचार्य उनको घरमा गए ।

‘तपाईंको जमिन लिजमा दिन लाग्नु भएको भन्ने सुने, मलाई चाहिएको थियो,’ उनले सोधे ।

‘म ५ सय बिगाहभन्दा कम दिन्न,’ ती नागाले भने ।

‘होइन, मलाई १ हजार बिगाह जमिन चाहिएको हो,’ आचार्यले थपे ।

नागा खुसी भए ।

आचार्यले उक्त जमिनको जंगल फडानी गरे । हजार बिगाह भनेको जमिनपछि नाप्दा १४ सय बिगाह रहेछ । उनले अरु धेरै नेपालीलाई जमिन लिजमा दिए । त्यहाँ बस्ती बस्यो ।

‘जुन बस्तीको नाम अहिले पनि बलराम बस्ती नामले चिनिन्छ,’ आचार्यले सुनाए ।

आचार्यले पछि नेपाल फर्किए र विवाह गरेर श्रीमतिलाई पनि उतै लगे । दिउँसोको समयमा त्यहाँ धेरै गर्मी हुन्थ्यो । काम गर्न सकिदैनथ्यो । यो बेला कोही सुत्थे भने कोही तास खेलेर समय बिताउँथे ।

आचार्यलाई भने त्यसरी समय खेर फाल्न मन लाग्दैनथ्यो । केही पर चारआली (चारबाटो जोडिएको चोक) मा एक कैलाश शर्मा नामका मारवाडीको दोकान थियो । उनी त्यही दोकानमा काम गर्न जान्थे । उनको उद्देश्य व्यापारको काम सिक्नु थियो ।

त्यसरी विनापैसा एक वर्षसम्म काम गरे ।

एक दिन शर्माले प्रस्ताव गरे, ‘ल बलराम तिमी र म पार्टनरसिपमा काम गरौं ।’

उनको काम निकै चित्त बुझेको रहेछ शर्मालाई । उनले पार्टनरसिपमा काम गर्न थाले ।

ठूलो छोरा डेढ वर्षको भइसकेको थियो । यता बुबाआमा भने दिग्तेल छाडेर तराई (मोरङ)मा झरिसकेका थिए । नागाल्याण्डसम्म सम्पर्क गर्ने माध्यम केही थिएन । चिठी पठाए पुग्न ६ महिना लाग्थ्यो ।

एकदिन दिउँसोको ४ बज्दै थियो । त्यही बेला उनको माइला दाइ र आमा उनकै अगाडि टुप्लुक्क आइपुगे । आचार्य अचम्म परे ।

‘सपनामा छु कि विपनामा छु,’ जस्तो भयो ।

लामो समय भेट नभएकी आमा आउँदा उनी निकै खुसी भए । आमासँगै आएका माइला दाइ इन्डियन आर्मीमा जागिरे थिए । उनी अर्को दिन नै जागिरमा गए ।

भोलिपल्ट बेलुका आमासँग खाना खादै थिए आचार्य । त्यहीबेला आमाले सोध्नुभयो, ‘कान्छा, तिमीहरुलाई पैसा ठूलो कि बाबुआमा ठूलो ?’

आमाको मुखबाट एक्कासी आएको त्यो प्रश्नले मुखका लाँदै गरेको गास खाने कि थालमा राख्ने भयो । उनी अरठ्ठिए । निकै बेरसम्म सोचे ।

‘किन यसो भन्नु भएको आमा,’ उनले सोधे ।

‘छोरीहरु विवाह गरेर आफ्ना घर गए । तिमी दाजुभाइहरु आफ्नो आफ्नो काममा व्यस्त छौं । हामी बुढाबुढी पनि पहाडबाट तराई झरेका छौं । कहिलेसम्म हामी एक्लै बस्ने ?,’ आमाले भन्नुभयो ।

आमाको त्यो कुरा उनको मनमा पस्यो ।

‘सानो हुँदा आमासँग बिताएका पलहरु झलझली सम्झिएँ । छोरो हुर्काउँदाको पीडा । अलिकति केही हुँदा आमाको छटपटी । स्कुल जाँदा झोलामा हाल्दिएकोे खाजा । अनेक कुराहरु वरिपरी मेरा अघि घुमे ।’ उनले भने ।

मैले बाआमाप्रति ठूलो अन्याय गरेको रहेछु भन्ने लाग्यो ।

आमाका कुरा मनन गरेर जवाफ फर्काए, ‘मलाई १५ दिनको समय दिनुहोस् ।’

त्योबेला उनी आफैले १७३ विगाह जमिनमा उखु खेती गर्दै थिए । त्यो बेचे ।

२०४० वैशाख २८ गतेमा आमा, श्रीमति र ठूलो छोरा लिएर मोरङ कानेपोखरीको आफ्नै घरमा आए ।

‘आमाको एक शब्दले गर्दा म नेपाल फर्किएको थिएँ,’ उनले भने ।

पहाडमा ‘साम्राज्य’ फैलाएका आचार्य परिवारलाई कानेपोखरीको सानो घर सानो र साँगुरो थियो । पहाडमा जस्तो खानलाउन, समय बिताउन सजिलो थिएन ।

पहाडमा आचार्यका बुबाका हजुरबुबाले जोडेको जग्गा एकदिन घोडामा हिँडेको क्षेत्रको ६ भागको एक भाग थियो । अर्थात् अहिलेको हिसाबले हेर्दा झन्डै २४ हजार रोपनी थियो ।

त्यही ठाउँमा ८/९ सय गाइभैसी, १५/१६ सय भेडा पाल्थे ।

व्यापारमा प्रवेश
नागाल्याण्ड बस्दा व्यापारमा रस बसिसकेको थियो । नेपाल आएपछि व्यापार नै गर्नुपर्छ भन्ने उनको सोच थियो ।

उनले ठाउँ खोज्न थाले । पथरी, मंगलबारे, उर्लाबारी, दमक, बिराटनगर, इटहरीतिर कोठा खोजे । तर, भनेको जस्तो पाएनन् ।
धरानमा उनलाई कोठा मन परेको थियो । एड्भान्स पनि दिएर आए तर बुबाले भने त्यत्ति चित्त बुझाउनु भएन ।

‘तेरो विचार गर न त,’ बुबाले भन्नु भयो, ‘तँ धरान हुनु भनेको त नागाल्याण्ड भएसरी त भयो नि !’

उनको घरबाट आइतबारे ५ सय मिटरको दूरीमा थियो ।

त्यहाँ १०-१५ वटा दोकान थिए । उनीहरुले काँटा राखेका धान खरिद बिक्रीको व्यापार गरिरहेका थिए ।

एकदिन दिउँसो आइतबारे गए । साहुहरु दिउँसोको घाममा तास खेलेर बसिरहेका थिए ।

आचार्यले त्यहाँ परिचय दिँदै भने, ‘जगदहमा दोकान गर्न पर्यो भनेको तपाईंहरको विचार के छ । कस्तो हुन्छ ?

सबैजना गललल हाँसो । फिल्ममा भिलेनको रोलमा हास्ने कलाकार जस्तो ।

‘जगदहामा दोकान,’ दोहोर्याइ दोहोर्याइ भने ।

आचार्यलाई त्यो शब्द भारी भयो । जगदहमा अलि गुण्डागर्दी हुने भएकाले दोकान गर्न गाह्रो रहेछ ।

पाँच सय मिटरको हिँड्दै जाँदा जगदहामा दोकान भन्ने शब्दले उनलाई लखेटिरह्यो । ।

तर, उनले निर्णय लिए, ‘दोकान गर्ने नै हो भने जगदहामै गर्नुपर्छ ।’

सानो किराना पसल शुरु गरे । धान खरिद बिक्री गर्ने काँटा राखे । डेढ लाख जति लगनी पनि गरे ।

‘पहिलो दिन २०४० असार ६ गते २१ रुपैयाँको व्यापार भयो,’ आचार्य भन्छन्, ‘बिक्री नहोलाकी भन्ने अवस्थामा मेरो लागि त्यो बिक्री ठूलो थियो ।’

श्रीमतिले पसल सम्हालिन । आफू धान खरिद बिक्रीमा लागे । उनीसँग घनेश्याम लिम्बु भन्ने साथी थिए । उनीसँग राँगाले तान्ने गाडा थियो ।

लिम्बु गाडीवाल र उनी साहु भए । १० किलोमिटर पर रहेको बेलबारीमा पुगेर धान ल्याएर बेच्न थाले । लिम्बुपछि ब्रिटिस आर्मीमा भर्ना भए ।

व्यापार राम्रो भयो । ६ महिनापछि हिरोरेञ्जर साइकल किने । सायद २ सय रुपैयाँ परेको थियो ।

‘त्यो दिन विमानै खरिद गरे जस्तो भयो,’ उनी भन्छन् ।

व्यापार मौलाउँदै गयो । २१ रुपैयाँ व्यापार भएको पसलमा दैनिक एक लाख रुपैयाँसम्मको हुनथाल्यो । पसल यति व्यस्त भयो कि खरिद गर्ने काँटा र बिक्री गर्ने काँटा छुट्टाछुट्टै राख्नुपर्यो । अरु सातवटा काँटा थपे । सिजनका बेलामा दैनिक २५ देखि ३० ट्रक धान आउँथ्यो ।

आफ्नो घर कानेपोखरीदेखि जगदहासम्मको ३ किलोमिटर बाटो आफैले बनाए । १६ वर्ष यस्तै व्यस्ततामा बित्यो । र, २०५५ सालमा पसल छोडे ।

गोर्खा डिपार्टमेन्ट स्टोर
काम गर्दैै जाँदा बाटो बिस्तार हुँदैगयो । राजनीतिले पनि कोल्टे फेर्यो । युवाहरु पनि खाडीतिर पस्न थाले ।

‘अब अलिकति अगाडि बढ्नुपर्छ भन्ने लाग्यो,’ उनी भन्छन्, ‘त्यो पसल छोडेर नयाँ गर्नुपर्छ भन्ने लाग्यो ।’

त्यही बेला उनले डिपार्टमेन्ट स्टोर गर्नुपर्छ भन्ने सोच बनाए ।

विभिन्न ठाउँमा जाँदा डिपार्टमेन्ट स्टोर देखेका थिए । जापान, भारत जस्ता देशमा उनले यस्ता स्टोर देखेका थिए । नेपालमा पनि त्यसैगरी लिपिवद्ध गरेर सामान राखिदियो भन्ने पक्कै चल्छ होला भन्ने उनलाई लागिरहेको थियो ।

त्यो समयमा काठमाडौंमा मीनबहादुर गुरुङले भाटभटेनी डिपार्टमेन्ट स्टोर शुरु गरेको २ वर्ष भएको थियो । गुरुङ र उनीबीच गाउँले चिनजान । साथैका साथी । तर, आचार्यले भने मीनबहादुर कस्तो डिपार्टमेन्ट स्टोर बनाएका छन् भनेर हेरेका भने थिएनन् ।

लक्ष्मण ताडपरियाका उनका नजिकका साथी जस्तै बनेका थिए । केही पर्दा उनैसँगै जान्थे । ताडपरियाका छोरा जितु एमबीए सकेर भर्खरै आएका थिए ।

जितुसँग सल्लाह गरे । इटहरि चोकदेखि धरानजाने बाटोको बायाँतिर एउटा घरको भुइँतला लिए । ४ हजार स्क्वायर फिटको लागि फर्निचर बनाउन दिए ।

त्यो बेलासम्म जितुले आफ्ना बुबासँग केही भनेका थिएनन् । बुबालाई भन्ने आँट जितुलाई थिएन । आचार्यले भनेपछि बुबाले मान्नुहुन्छ भन्ने उनीहरुले सोचेका थिए ।

आचार्य आफै गएर भने, ‘दाजु हामीले यस्तो सोच विचार गरेर डिपार्टमेन्ट स्टोर खोल्ने योजना बनाएका छौं । तपाईलाई सोध्न आएको ।’

जितुका बुबाले भने ‘तिमीहरुले सोचेको ठीकै हो । नराम्रो होइन । तर, अलि छिटो भयो । २० वर्षपछि सोचेको भए ठीक हुन्थ्यो ।’

जितुले बाबुलाई मुख फर्काउने आँट थिए । आचार्य अप्ठारोमा परे । योजना सफल भएन ।

आचार्य एक्लै परे । उनले लाग्यो, ‘समय आइसक्यो, यसलाई छोड्नु हुन्न ।’

त्यही नजिकै एक मारवाडीको ‘राकेश हार्डवयर’ थियो । राकेश त्यही बसिरहेका थिए ।

आचार्य त्यही गए । पानी मागेर पिए ।

‘चिया खाने दाइ,’ राकेशले भने, ‘दाइ आज कि तपाईंको अनुहार मलिन देख्छु नि ?’

‘घामबाट आएको भएर तेस्तो देखिएको होला,’ आचार्यले भने ।

‘होइन, केही छ पक्कै भएको छ,’ राकेशले कुरा बुझ्न चाहे ।

‘हामीले यसरीसँगै डिपार्टमेन्ट स्टोर गर्ने योजना बनाएका थियौं,’ उनले सोधे, ‘साथी नभएपछि म अलि अप्ठारोमा भएँ, त बस्छन् त ?’

‘१० प्रतिशत हो भने बस्छु,’ उनले भने ।

‘१० होइन, आधा-आधा गर्नुपर्छ,’ आचार्यले भने ।

दुबै जनाले ठाँउ हेरे । ‘ल काम गर्ने तर म २५ प्रतिशतमात्र हाल्छु दाइ,’ राकेशले फेरि भने ।

यसरी ४०/४५लाख लगानीमा २०५६ असार २ गते गोर्खा डिपार्टमेन्ट स्टोर शुरु भयो ।

डिपार्टमेन्ट शुरु भयो तर चिनजानेका सबैले गाली गरे ।

‘त्यसको पैसा धेरै भएको,’ उनलाई चिनेका अधिकांशले भने, ‘यो बौलाएछ ।’

वरिपरीका व्यापारीले मेला लगाएको हो, दुईचार दिनमा उठाइहाल्छ नि पनि भने ।

‘होइन, त्यहाँ त भित्र पसेकै पैसा तिर्नुपर्छ,’ वरिपरीका कही व्यापारी हल्ला समेत फिँजाए ।

शोरुम झिलिमिली थियो । गाउँबाट आएका कतिपय ग्राहक जुत्ता खोलेर भित्र पस्थे । डिपार्टमेन्टल के हो भन्ने कसैलाई थाहा थिएन ।

शुरुमा ग्राहकलाई सामान बेच्न नै गाह्रो थियो ।

‘यो बास्केट बोकेर चाहिएको सामान आफै झिक्नुस्’ भनेर सिकाउनु पर्थ्यो ।

त्यसरी शुरु भएको डिपार्टमेन्ट स्टोरमा बिस्तारै भिड बढ्दै गयो ।

पार्टनरका रुपमा आएका राकेशको भने भारतको राजस्थान गएका बेला दुर्घटनामा निधन भयो ।

‘मैले राकेशकी श्रीमतिलाई व्यापारमा निरन्तर गर्न भनेको थिएँ,’ आचार्य भन्छन्, ‘तर, अलि अप्ठारो मान्नु भयो । मैले ५० प्रतिशतका हिसाबले लगानी फिर्ता दिएँ ।’

नजिकै ३६ लाखका दर ८ कठ्ठा जग्गा लिए । २०५९ सालमा ४ कट्ठा आफ्नै जग्गामा डिपार्टमेन्ट स्टोरको घर बनाए । ७ तलाको घर बनाउँदा इटहरी चोककै पहिलो अग्लो घर थियो ।

६ वर्षअघि दोस्रो डिपार्टमेन्ट स्टोर विराटचोकमा खोले । त्यसपछि एक डेढ वर्षको फरकमा क्रमशः पथरी, दकमक र धरानमा शाखा बिस्तार गरे ।

अहिलेको अवस्थालाई मूल्यांकन गर्ने हो भने झन्डै ७ सय करोड लगानी पुगिसकेको छ । वार्षिक करोबार १ सयदेखि सवा सय करोडसम्म भइरहेको छ ।

सबै आउटलेटको हिसाब गर्दा साढे दुई लाख स्वायर फिट क्षेत्रफलमा डिपार्टमेन्ट फैलिएको छ । १५ सय कर्मचारी पुगिसकेका छन् ।

कोरोना संक्रमणले भने अलि अप्ठारो परिस्थिति सृजना गरिदियो । प्रायले गोर्खा अब अगाडि बढ्न सक्दैन भन्न थालेका थिए ।

उनीसँग डिपार्टमेन्टसँगै गोर्खा किचन रेष्टुराँ र ‘काउ फार्म’ पनि छ । काउ फार्ममा झन्डै ३ सय गाई, कुखुरा, बाख्रा थिए ।

कोरोनामा व्यापार व्यवसाय नभए पनि उनीहरुलाई खुलाउनु पर्यो । डिपार्टमेन्ट स्टोरका कर्मचारीलाई तलब गर्दा खर्च बढ्यो आम्दानी भएन ।

‘कोभिडले गर्दा ९५ करोडको नोक्सान भयो,’ उनी भन्छन् ।

त्यसकारणले पनि धरानको शाखा बेच्नु गरेको उनी बताउँछन । त्यहाँ २२५ करोड लगानी गरेका थिए ।

बजारमा अहिले भाटभटेनी जस्ता ठूला डिपार्टमेन्ट स्टोर प्रतिस्पर्धीको रुपमा आएका छन् । त्यसले आफ्नो व्यवसायलाई भने फरक नपरेको उनी बताउँछन् ।

‘इटहरिमा भाटभटेनी आएपछि गोर्खाको व्यापार १८ लेखि ३२ प्रतिशतले बढेको छ,’ उनले भने, ‘यति ठूलो बजार एक्लै गर्नुपर्छ भन्ने छैन । अरु थपिँदा बजार थप बढ्छ ।’

काउ फार्म, गोर्खा किचन र गोर्खा होटल
दिक्तेलमा बाजेदेखि शुरु भएको पशुपालन अहिले पनि छोडेका छैनन् । इटहरी आएपछि १० वर्षअघि आफ्नै काउ फार्म शुरु गरे ।

अहिले ३ सयवटा गाई छन् । कुखुरा, खसी बाख्रा छन् ।

दुई कारणले गाई पालन गरेको आचार्यको भनाइ छ । डिपार्टमेन्ट स्टोरका पाँच वटा शाखामा आफ्नै रेष्टुराँ गोर्खा किचन सञ्चालन गरेका छन् । ती रेष्टुराँमा खपत हुने मासु, दूध, दूग्ध पदार्थ आफ्नै काउ फार्मबाट उत्पादन गर्छन् ।

दोस्रो, पुस्तौंदेखिको पारिवारिक व्यवसाय पनि खेतिपाती, पशुपालन भएकाले त्यसलाई निरन्तता दिन चाहेको उनी बताउँन् ।
यी रेष्टुराँमा ५ सय जनासम्म खान मिल्ने स्पेस छ ।

यसबाहेक डिपार्टमेन्ट स्टोरको नजिकै गोर्खा होटल पनि सञ्चालन गरिरहेका छन् । ४२ कोठा भएको होटल पूर्वको राम्रो होटमध्येमा पर्ने उनको दाबी छ । उनले होटलमा ४० करोड लगानी गरेका छन् । आचार्य पूर्वका सफलमध्येका थोरै व्यवसायीहरुको सूचिमा पर्छन् ।


सन्तोष न्यौपाने