बैंकरमाथि दुर्व्यवहार प्रकरण

सप्तरी घटनापछि राष्ट्र बैंक बोल्योः बैंकका कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही हुन्छ


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीमाथि हुने गैरव्यावसायिक तथा उच्छृङ्खल गतिविधिमा संलग्नलाई प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ । पछिल्लो समय विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण र दुर्व्यवहारका घटना बढ्न थालेपछि केन्द्रीय बैंकले मंगलबार एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

सप्तरीमा ऋण असुलीका लागि पुगेका ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार भएको थियो । उनीहरूमाथि कालोमोसो दलेर गालीगलौज तथा कुटपिट गरिएको थियो । घटनामा उपमेयरसहित जनप्रतिनिधि, लघुवित्त पीडित संघर्ष समितिका जिल्ला अध्यक्ष र मधेश प्रदेश सचिव सहितका संलग्नता रहेको बताइएको छ ।

उनीहरूले बर्दिबासबाट गएका ज्योति विकास बैंकका २ जना कर्मचारी माथि हातपात, दुर्व्यवहार र कालोमोसो दलेका हुन् ।

मंसिर २४ गते सप्तरीको रुपनी शाखाका कर्मचारी सप्तकोशी नगरपालिका–७ स्थित ‘सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म’ मा पुगेका बैंकका दुई कर्मचारीमाथि जुत्ताको माला लगाएर दुर्व्यवहार गर्नेदेखि गाली गलौजसहित कालोमोसो दलेको तथा हातपात भएको समाचार क्लिकमान्डुले प्रकाशन गरेको थियो ।

बैंकका कर्मचारीमाथि कालोमोसो दल्ने २ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा ५१ वर्षीय सञ्जीव चौधरी र उमाकान्त चौधरी रहेका छन् ।

राष्ट्र बैंकले बैंकका कर्मचारीलाई गैरजिम्मेवार व्यवहार गर्नेमाथि कारबाही हुने भन्दै बैंकका कर्मचारीहरूलाई मनोवल उच्च राखी काम गर्न अनुरोध गरेको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र यस बैंकको निर्देशनको अधिनमा रहीे कर्जा प्रवाह गर्नु, प्रवाह गरेको कर्जा सम्बन्धी परियोजनाहरूको अनुगमन गर्नु र कर्जा असुलउपर गर्नु सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य हो ।

बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणबाट सङ्कलन गरेको निक्षेप नै कर्जाको रूपमा प्रवाह गर्ने भएकाले ऋण नउठे निक्षेपकर्ताको रकम फिर्ता गर्न नसकिने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने र तरलतामा प्रभाव पर्ने हुँदा ऋणीले लिएको कर्जा भुक्तानी नियमित रूपमा गर्नुपर्ने हुन्छ ।’

यद्यपि, कुनै प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा परेको असहजतालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले समय–समयमा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्नसक्ने लगायतका व्यवस्था गरी सहजीकरण गर्दै आएको छ ।

कुनै प्रतिकूल परिस्थितिका कारण ऋण तिर्न नसकेको अवस्थामा राष्ट्र बैंकले समय–समयमा कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरणको सुविधा दिँदै आएको स्मरण गराउँदै राष्ट्र बैंकले बैंकिङ कारोबारमा चित्त नबुझे सम्बन्धित संस्था वा राष्ट्र बैंकमा रहेको गुनासो सुनुवाइ संयन्त्रमा उजुरी गर्न सकिने व्यवस्था रहेको उल्लेख थरेको छ ।

वित्तीय संस्था र कर्मचारीविरुद्धका उच्छृङ्खल गतिविधि नरोकिए वित्तीय साधन परिचालनमा कठिनाइ हुने र सर्वसाधारणको वित्तीय सेवा पाउने अधिकार नै प्रभावित हुने राष्ट्र बैंकको ठहर छ ।

राष्ट्र बैंकले अराजक गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गर्दै वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई भने उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी पूरा गर्न अनुरोध गरेको छ ।

Skip This