
काठमाडौं । ज्योति विकास बैंकका कर्मचारीहरूमाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति ४ बैंकिङ तथा वित्तीय संस्थाका संघहरुले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संयुक्त रूपमा घोर भर्त्सना गरेका छन् ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले एक संयुक्त विज्ञप्ति जारी गर्दै कर्जा असुलीको क्रममा भएको आक्रमणलाई ‘अमानवीय र आपराधिक’ कार्यको संज्ञा दिएका हुन् ।
विज्ञप्तिका अनुसार डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको सदस्य संस्था ज्योति विकास बैंकको रुपनी शाखाका ऋणी ‘सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.’ का सञ्चालकहरूले बैंकका कर्मचारीमाथि आक्रमण गरेका हुन् ।
गत मंसिर २४ गते कर्जाको किस्ता नियमित गर्ने विषयमा छलफल गर्न भनी बैंकको बर्दिबास क्षेत्रीय कार्यालयका कर्मचारीहरूलाई बोलाइएको थियो । सो क्रममा एग्रो फर्मका सञ्चालक तथा उनका सहयोगीहरूले कर्मचारीहरूलाई नियन्त्रणमा लिई नियोजित रूपमा दुव्र्यवहार तथा आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त विज्ञप्तिमा बैंकिङ क्षेत्रका अगुवाहरूले स्थानीय प्रहरी प्रशासनको भूमिकाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
घटना घटेकै दिन सम्बन्धित निकायमा जानकारी गराउँदा पनि तत्काल सम्बोधन नभएको र विज्ञप्ति जारी गर्दासम्म पनि जाहेरी दर्ता नभएको भन्दै संघहरूले यसलाई ‘अत्यन्त खेदनीय’ र सुरक्षा निकायको ‘गम्भीर कमजोरी’ बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अपराधीहरूलाई समयमै कानूनी दायरामा ल्याई कडा कारवाही गर्नुपर्नेमा, सूचना प्राप्त हुनासाथ अनुसन्धान अगाडि बढाउनुपर्नेमा जाहेरी दर्ता नहुनु दुखद् छ ।’
बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ताको बचत सुरक्षित गर्न र कर्जा असुली गर्न नियमित प्रक्रिया अपनाउँदा यस्ता अराजक गतिविधि हुनुले बैंकिङ सेवा प्रवाहमा चुनौती थपेको संघहरूको निष्कर्ष छ । ‘कानुनी प्रक्रिया हुँदाहुँदै कानुन हातमा लिई कर्मचारीहरूको ज्यानै लिने मनसायले गरिएको आक्रमणले समग्र बैंकिङ क्षेत्रलाई निरुत्साहित बनाएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
चारवटै संगठनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन र कर्मचारीहरूको मनोबल उच्च राख्न दोषीहरूलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
साथै, उनीहरूले यस्ता घटनाको सूचना प्राप्त हुनासाथ जाहेरी नआए पनि स्वतः अनुसन्धान अघि बढाउने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
अन्त्यमा बैंक तथा वित्तीय संस्थाहरूले अराजक गतिविधिलाई निरुत्साहित गर्दै सजग र जिम्मेवार रहन सर्वसाधारणमा अपिल समेत गरेका छन् ।
यस्तो छ विज्ञप्तिः








प्रतिक्रिया