
काठमाडौं । नेपाल टेलिकमले ग्रामीण क्षेत्रहरूमा धमाधम दूरसञ्चारको पहुँच विस्तार गरिरहेको छ । सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका विकट क्षेत्रमा टेलिकमको टेनवर्क विस्तार तथा फोरजी सेवाको पहुँच अभिवृद्धि भएको हो । दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच विस्तारमा अघि बढेको टेलिकमले एकपछि अर्को विकट क्षेत्रमा दूरसञ्चार पहुँच विस्तार गर्दै लगिरहेको छ ।
हालै बाजुराको बुढीनन्द गाउँपालिकामा उच्च गतिको फोरजी इन्टरनेट सेवा सुरु भएको छ । नेपाल टेलिकमले गाउँपालिकाको वडा नं ७ मा नयाँ फोरजी एलटीइ टावर जडान गरी सेवा सञ्चालनमा ल्याएको हो । स्थानीय नरेन्द्र महतका अनुसार टेलिकमको टावरबाट बुढीनन्दका वडा नं ७, ८, ९ र १० का बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।
यता डोल्पाको ठूलीभेरी नगरपालिका र से–फोक्सुन्डो गाउँपालिकाका विभिन्न बस्ती सञ्चारको पहुँचमा जोडिएका छन् । दूरसञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले वडा नं १० को मिदग्ती लेकमा निर्माण गरिएको नेपाल टेलिकमको इन्टरनेटसहितको फोरजी टावर बिहीबारदेखि सञ्चालनमा आएको जानकारी दिए । योसँगै वर्षौँदेखि सञ्चार सुविधाबाट वञ्चित फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहित आधा दर्जन बस्ती सञ्चारको पहुँचमा जोडिएका उनले उल्लेख गरे ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको चासो र सक्रियतामा टेलिकमको नेटवर्क विस्तार, कुनाकन्दरामा इन्टरनेटको पहुँच अभिवृद्धि भएको हो । यसअघि गत असोज ३१ गते पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा पहिलोपटक फोरजी सेवा विस्तार भएको थियो ।
त्यतिमात्र होइन, मन्त्री खरेलको सक्रियतामा गत असोज ३० गतेदेखिनै बझाङको तलकोटमा पनि पहिलोपटक फोरजी सेवा विस्तार भएको थियो । गत असोज ३१ गते नै दार्चुचालको मार्मा गाउँपालिकामा टेलिकमको टुजी र फोरजी सेवा सुरु भएको छ । जाजरकोटमा दुई सातादेखि अवरुद्ध दूरसञ्चार सेवा सञ्चारमन्त्रीको ताकेतापछि सञ्चालन भएको थियो ।
सञ्चारमन्त्री खरेलले टेलिफोन र इन्टरनेट नपुगेका मुलुकका दुर्गम क्षेत्रहरूमा उक्त सेवाको पहुँच पुर्याउन लागिपरेको बताए । उनले सञ्चार पहुँच प्रत्येक नागरिकको अधिकार रहेको बताउँदै सबै जिल्लामा समान सेवा सुनिश्चित गर्न टेलिकमलाई निर्देशन दिए ।
सुदूरपश्चिम प्रदेशको बिवट हिमाली जिल्ला बाजुराको बुढीनन्द गाउँपालिकामा फोरजी इन्टरनेट सेवा सुरु भएको छ । बुढीनन्दका विभिन्न वडामात्र नभई मार्तडी–कोल्टी मार्ग र आसपासका बस्तीमा पनि इन्टरनेट तथा मोबाइल सञ्जालमा सुधार आएको स्थानीयहरूले बताएका छन् ।
यसअघि यस क्षेत्रमा भ्वाइस र डेटा सेवा घाम लागेको बेलामात्र चल्ने गरेको गुनासो स्थानीयले गर्दै आएका थिए । नयाँ टावर सञ्चालनमा आएपछि अब आपतकालीन सम्पर्क, अनलाइन कारोबार र पारिवारिक सन्देश आदानप्रदान सहज भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल मोबाइल ब्रोडब्याण्डअन्तर्गत नेपाल दूरसञ्चार कम्पनीको बजार हिस्सा ५५ दशमलव ९६ प्रतिशत र एनसेलको ४४ दशमलव ०४ प्रतिशत पुगेको छ । गत भदौसम्म नेपाल टेलिकममा मोबाइल प्रयोगकर्ता एक करोड ४३ लाख ५४ हजार ८०४ र एनसेलका एक करोड ३९ लाख ८१ हजार ८७५ पुगेका छन् ।
प्राधिकरणका अनुसार हाल फिक्स्ड ब्रोडब्याण्ड (वायर्ड) ४८ दशमलव ८२ प्रतिशत जनसङख्यामा पुगेको छ । साथै मोबाइल ब्रोडब्याण्ड ९१ दशमलव ५५ प्रतिशत जनसङ्ख्यामा पहुँच विस्तार भएको छ । मुलुकभर हालसम्म फोरजी सेवा ८८ दशमलव ६८ प्रतिशत, फाइभर सेवा ४८ दशमलव ८१ प्रतिशत, टुजी सेवा १० दशमलव ३६ प्रतिशत र थ्रीजी सेवा दुई दशमलव ८६ प्रतिशतमा पुगेको छ ।
नेपाल टेलिकमले हाल सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, दार्चुला, डोटी, अछाम र बैतडीका दुर्गम स्थानमा नयाँ टावर जडान र पुराना टावर अपग्रेड गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ ।
यस्तै डोल्पाको दुईवटा स्थानीय तहका रह, परिला, काग्नी, साँङ्टा, छेप्कालगायतका बस्तीमा फोन लाग्नुका साथै इन्टरनेटको पहुँच पनि पुगेको छ । टावर बनेसँगै सुलिगाडस्थित से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय, सैनिक ब्यारेक क्षेत्रमा पनि राम्रो काम गरेको बताइएको छ ।
निजी क्षेत्रको सेवा प्रदायक कम्पनी एनसेलले पनि गुणस्तर सुधार र सेवा विस्तारमा आक्रामक रूपले अघि बढेको छ । विशेषगरी मधेस र कोशी प्रदेशलाई प्राथमिकतामा राखी आगामी पुसभित्र दुई सयवटा टावर विस्तार गर्ने लक्ष्यअनुरूप हालसम्म ४५ वटा टावर जडान गरिसकेको कम्पनीले जनाएको छ । हाल एनसेलको फोरजी सेवा विभिन्न दुर्गम क्षेत्रसहित ९५ प्रतिशत जनसङ्ख्यामा पहुँच विस्तार भइसकेको छभने ९२ प्रतिशतभन्दा बढीमा टुजी सेवा छ ।
यसैबीच दाङको केही स्थानमा टेलिफोन र इन्टरनेट सेवा नभएको विषयबारे गुनासो आएपछि सञ्चारमन्त्रीले तत्कालै टेलिकमका कर्मचारीलाई निर्देशन दिएलगत्तै टेलिकमको डिभिजन कार्यालयका प्रमुख वरिष्ठ इञ्जिनियर प्रवीण चौधरी नेतृत्वको प्राविधिक टोली फिल्डमा खटिएर मर्मत गरेको थियो । घोराही उपमहानगरपालिका–३ र ५ का केही क्षेत्रमा देखिएको नेटवर्क समस्या समाधान भएको थियो । टेलिकम तुल्सीपुर दाङले फोरजी नेटवर्क सुधार गरेको जनाइएको छ ।










प्रतिक्रिया