
काठमाडौं । चर्चित हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ पछिल्ला दिनहरूमा गम्भीर शारीरिक र मानसिक समस्याबाट पीडित बनेका छन्। पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’ ले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरले उनको थकान, निराशा र स्वास्थ्य अवस्था धेरै बिग्रिएको संकेत दिएको छ ।
कुञ्जनाले धुर्मुस सामुदायिक प्राकृतिक चिकित्सालय, रजहर (नवलपरासी) मा उपचार लिँदै गरेको तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘शारीरिक अनि मानसिक दुवै रूपमा धेरै नै गल्नुभएको छ, तर हजुरहरूको मायाले छिट्टै पहिलेकै अवस्थामा फर्किनुहुनेछ भन्ने आशा छ ।’
फोटोमा धुर्मुस उपचारका क्रममा म्याटमा सुतिरहेको देखिन्छन् । उनी पछिल्लो समय डिप्रेसन र एन्जायटी समस्याका कारण औषधि सेवन गर्दै आएको खुलेको छ। धुर्मुस आफैले पनि मानसिक रूपमा कमजोर महसुस भइरहेको र उपचार खोज्दै हिँडिरहेको बताएका थिए।
धुर्मुस–सुन्तली फाउण्डेशनले २०१९ मा घोषणा गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान देशभर चर्चित भएको थियो। देशकै गौरव बन्ने लक्ष्यसहित सुरु गरिएको यो परियोजना सहयोग नजुट्नु, सरकारी असहयोग र आर्थिक अभावका कारण बीचमै रोकियो ।
धुर्मुसका अनुसार रंगशाला निर्माणका क्रममा १८ करोड रूपैयाँभन्दा बढीको ऋण लागेको छ, जसलाई सरकारले तिर्ने सहमति भए पनि अझै रकम प्राप्त नभएको उनले बताउँदै आएका छन्। यो ऋणकै बोझ, सामाजिक आलोचना र सरकारी ढिलासुस्तीले उनको मानसिक स्वास्थ्यमा गहिरो असर परेको परिवारले जनाएको छ।
धुर्मुसका भाइ कुमार कट्टेलले फेसबुकमा भावुक स्टाटस लेख्दै दाइको अवस्था झन्गम्भीर बन्दै गएको बताएका छन् । उनले लेखेका छन्, ‘रातदिन सिंहदरबारको बास। अनि अहिलेको दाइको अवस्था। देश बनाउनुपर्छ भन्ने युवाले पाएको प्रोत्साहन यही हो?’
कुमारका अनुसार धुर्मुसलाई अहिले नसासम्बन्धी समस्या, एन्जायटी, उच्च प्रेसर, पेटसम्बन्धी समस्या देखिएको छ ।
‘कुनबेला के हुन्छ थाहा छैन। यतिका वर्षदेखि फाइल बोकेर उहाँ धाइरहनुभएको छ। महानगर मन्त्रालय देखाउँछ, मन्त्रालय महानगर। सरकार देशका लागि काम गर्ने मान्छेलाई मर्न बाध्य बनाइरहेको छ,’ कुमारले भनेका छन् ।
चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले धुर्मुस कात्तिक १२ देखि अनिद्रा र पेटसम्बन्धी गम्भीर समस्याको उपचारमा रहेको जानकारी दिएका छन्।








प्रतिक्रिया