लुम्बिनी लायन्सको मुख्य प्रायोजक बन्यो यांगो

147
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि लुम्बिनी लायन्स क्रिकेट टिमको मुख्य प्रायोजक (टाइटल स्पोन्सर) यांगो बनेको छ । दुबईस्थित अन्तर्राष्ट्रिय प्रविधि कम्पनी यांगोसँग लुम्बिनी लायन्सले औपचारिक रूपमा टाइटल स्पोन्सर सम्झौता गरेको हो ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले यांगोलाई टिमको मुख्य प्रायोजकका रूपमा स्वागत गर्न पाउँदा खुशी व्यक्त गर्दै नेपाली क्रिकेटमा सहयोग र साझेदारी गरेकोमा कम्पनीप्रति आभार प्रकट गरे । उनले भने, ‘युवाहरूमाझ लोकप्रिय कम्पनी यांगोलाई हाम्रो टिमको टाइटल स्पोन्सरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी छौं । उत्कृष्टता, नवीनता र विश्वव्यापी पहुँचप्रतिको हाम्रो साझा दृष्टिकोणले यो साझेदारीलाई विशेष बनाएको छ । नेपाली क्रिकेटको जोश, गौरव र सम्भावनालाई बोकेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गर्जनका लागि हामीले यांगोलाई उत्कृष्ट सहयात्रीका रूपमा रोजेका छौं ।’

सम्झौतापछि यांगो नेपालका प्रतिनिधिले भने, ‘क्रिकेट नेपालमा सबैको प्रिय खेल हो, जसले सबैलाई जोड्ने माध्यम बनेको छ । हामी लुम्बिनी लायन्सलाई सहयोग गर्न पाउँदा निकै उत्साहित छौँ र उनीहरूलाई आगामी एनपीएल सिजनका लागि शुभकामना दिन्छौं । हामी विश्वस्त छौं कि उनीहरूले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेछन् ।’

यांगो ग्रुप दुबई, संयुक्त अरब इमिरेट्स (यूएई) मा मुख्यालय रहेको एक अग्रणी अन्तर्राष्ट्रिय प्रविधि कम्पनी हो । यसले विश्वभर विकास भएका प्रविधिहरूलाई स्थानीय आवश्यकताअनुसार अनुकूलित गर्दै दैनिक जीवनका सेवामा रूपान्तरण गर्छ । कम्पनीका प्रमुख सेवा क्षेत्रहरूमा मोबिलिटी, नेभिगेसन, डेलिभरी, फुडटेक, मनोरञ्जन र एआई असिस्टेन्ट समावेश छन् ।

लुम्बिनी लायन्सका मार्की खेलाडी नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल हुन् । टिम एनपीएलको दोस्रो सिजनका लागि तीव्र तयारीमा जुटेका छन् । मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट अन्तर्गत हुने लिगका लागि टिमले हाल एक्स्ट्राटेक ओभलमा रात्री अभ्यास गरिरहेको छ ।