आजबाट सेवानिवृत्त भएका प्रहरी महानिरीक्षक खापुङलाई काठमाडौं छोड्न रोक, विदेश जान नपाउने

532
Shares

काठमाडौं । बिहीबारबाट सेवानिवृत्त भएका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई काठमाडौं उपत्यका छोड्न र विदेश जान रोक लगाइएको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना सम्बन्धी छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले खापुङको विदेश भ्रमणमा रोक लगाएको हो ।

आयोगको २०८२ कात्तिक २७ गते बसेको बैठकले घटनाको छानबिन र अनुसन्धानका क्रममा आयोगमा उपस्थित हुनुपर्ने भएकाले उनलाई आजैदेखि लागू हुने गरि विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । साथै आयोगको स्वीकृतिबिना काठमाडौं उपत्यका छोड्न नपाउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई पत्राचार गरिएको छ।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा घटनामा कसैको क्षतिको विवरण बाँकी भए आयोगको इमेलमा पठाउन वा आयोगको सिंहदरबारस्थित कार्यालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ।

यसबाहेक आयोगका विज्ञप्ति र सूचना गृह मन्त्रालयको वेबसाइटमार्फत पनि हेर्न सकिने जानकारी दिइएको छ।