लोकसेवाले माग्यो १७० कर्मचारी, मंसिर १६ गतेसम्म आवेदन दिन सकिने

413
Shares

काठमाडौं । लोकसेवा आयोगले प्राविधिक तथा स्वास्थ्य सेवाका विभिन्न तहमा १७० जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

बुधबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै आयोगले निजामती सेवाअन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवाका सातौं तथा आठौं तहका पदहरूका लागि आवेदन खुलाएको हो ।

उम्मेदवारहरूले मंसिर १६ गतेसम्म आवेदन दिन सक्नेछन्, भने दोब्बर दस्तुर तिरेर मंसिर २३ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ।

दरखास्त आयोगको अनलाइन आवेदन प्रणालीमार्फत विद्युतीय रूपमा भर्न सकिने व्यवस्था गरिएको छ ।

प्रत्येक विज्ञापनका लागि आवेदन दस्तुर १ हजार २०० रुपैयाँ तोकिएको छ । त्यस्तै, एउटै पदका समावेशी विज्ञापनमा थप आवेदन दिने उम्मेदवारका लागि प्रत्येक अतिरिक्त विज्ञापनमा ४ सय रुपैयाँ थप लाग्ने आयोगले जनाएको छ।