सम्पूर्ण अपडेट

जेनजी प्रदर्शनपछि व्यावसायिक वातावरण जोगाउन प्रभावकारी काम नहुँदा मनोबल उठ्न सकेन

35
Shares

मुलुकमा विभिन्न समयमा सरकारका कदम तथा अन्य विभिन्न विषयमा नागरिकले पटक–पटक आफ्नो असन्तुष्टि पोख्दै आएका छन् । शान्तिपूर्ण धर्ना, प्रदर्शन र आन्दोलनमार्फत नागरिकले आफ्ना असहमतिहरू व्यक्त गर्नु अनौठो पनि होइन ।

यही क्रममा गत भदौ २३ र २४ गते मुलुकमा जेनजी प्रदर्शन भयो । तर, जेनजी प्रदर्शन हामी जस्ता निजी क्षेत्रका मानिसका लागि अन्य आन्दोलन र प्रदर्शनभन्दा निकै फरक रह्यो ।

हुन त जेनजी प्रदर्शनका क्रममा व्यक्तिगत रूपमा मेरो व्यवसायमा भौतिक तथा आर्थिक क्षति भएन । आफ्नो निजी सम्पत्तिमा पनि क्षति भएन । तथापि, त्यसको मनोवैज्ञानिक असर भने झेल्नुपर्‍यो । व्यक्तिगत रूपमा भन्दा जेनजी प्रदर्शनले मेरो मनोबलमा नै ठूलो असर पारेको छ । जेनजी आन्दोलनपछि मेरो मात्रै नभएर समग्र लगानीको वातावरणमा पनि धेरै असर पुर्‍याएको कुरामा हामी सबै जानकार नै छौं ।

अहिले लगानीको हिसाबमा लगानीकर्ताको मनोबल निकै कमजोर भएको त छ नै, निजी क्षेत्र थप लगानीको लागि ‘पर्ख र हेर’ को अवस्थामा छ । हामी त्यही अवस्थामा छौं । नयाँ लगानी गर्न अहिले कोही पनि उत्साहित छैन ।

जेनजी आन्दोलनको क्रममा होनहार भाइबहिनीले सहादत प्राप्त गरे । देश, समाज र निजी क्षेत्र सबैमा अपूरणीय क्षति पुग्यो । २०८२ भदौ २४ गते समाजसेवाको नाममा लुटी खानेहरूको उक्साहटमा लागेर व्यवसाय गरी राज्यलाई कर तिरिरहेका र देश विकासमा महत्त्वपूर्ण योगदान गरेका निजी क्षेत्रका व्यवसायीहरूको सम्पत्तिमा अकल्पनीय भौतिक क्षति भयो ।

यसले गरिखाने वा व्यवसाय सञ्चालन गरिरहेका र गर्न चाहनेलाई सोच्न बाध्य बनाएको छ । निजी क्षेत्रमा यसले भौतिक, आर्थिक र मानसिक क्षति गराएको छ र त्यसलाई सहजै बिर्सन सकिने अवस्था छैन । अर्थात्, हामी भदौ २२ गतेको जस्तो स्थितिमा फर्कन निकै समय लाग्ने देखिन्छ ।

लगानीको हिसाबमा भन्दा जेनजी प्रदर्शनले सिर्जित गरेको अनिश्चितताले सुदृढ हुँदै गरेको हाम्रो लगानीको वातावरणमा गम्भीर धक्का दिएको छ ।  जेनजी प्रदर्शनपछि लगानीकर्ता, कर्मचारी र व्यवसायीले एक किसिमको राज्यविहीन अवस्था महसुस गरिरहेका छन् । देशमा नागरिकले शासन गर्न पठाएका व्यक्तिहरू नै असुरक्षित भएपछि अरूको सुरक्षा गर्ने कुरा गफ सिवाय केही होइन । मुलुकमा शासकहरू नै सुरक्षित नभएपछि अन्यले सुरक्षाको प्रत्याभूति गर्न पाउने स्थिति पनि रहेन ।

अहिले पनि व्यवसायीहरू डर, अनिश्चितता र तनावकै अवस्थामा छन् । उक्त तनावलाई निजी क्षेत्र तथा हामीजस्ता व्यवसायीले समाजलाई देखाउन नसकेको मात्र हो । जेनजी प्रदर्शनपछि हालसम्म व्यावसायिक वातावरण जोगाउन कसैले पनि खास किसिमको प्रभावकारी काम गरेको देखिँदैन ।

हुन त यो कामचलाउ र चुनावी सरकार हो । यस सरकारमाथि निजी क्षेत्रले खासै भरोसा गरेको छैन । निर्वाचन गराउने मुख्य म्यान्डेट सहितको सरकार भएकाले यो सरकार निर्वाचनमै केन्द्रित हुनुपर्छ । तोकिएको समयमा निर्वाचन गरी देशलाई निकास दिने बाटोमा सरकार अगाडि बढ्नुपर्छ ।

संविधानसम्मत छन् भने जेनजी भाइबहिनीका जायज मागहरू पूरा गरेर निर्वाचन गरेमा नै सबैका लागि उचित हुने देखिन्छ । यद्यपि, भविष्यमा निजी क्षेत्रमाथि आक्रमण हुन नदिन वा यस्ता प्रदर्शनको प्रभावबाट निजी क्षेत्रलाई टाढै राख्ने वातावरण बनाउन आवश्यक छ । कलकारखाना, उद्योगधन्दा नखुली मुलुक धनी  हुन सक्दैन । व्यापार व्यवसाय गरेर रोजगारी सृजना गर्नेहरूलाई थप उत्साहित गराउँदै नेता, कर्मचारी र समाजले हेर्ने नजर बदल्नुपर्ने आवश्यकता छ ।

आम्दानी कमाउनका लागि व्यापार गरिन्छ । आफू र आफ्नो परिवारका लागि आर्थिक रूपमा सक्षम भएका मानिसले मात्र साँचो अर्थमा समाजसेवा गर्न सक्छन् भन्ने कुरा पनि त्यति अनुचित देखिँदैन । त्यसैले, राजनीतिका नाममा लुटेर खाइरहेकाले यो कुरा बुझे भने व्यापारी तथा व्यवसायीलाई हेर्ने सर्वसाधारणको नकारात्मक मनोवृत्ति पनि बदलिन सक्छ ।

सरकार सबैको अभिभावक भएकाले लगानीमैत्री वातावरण बनाउन ऐन, कानुन, नीति, नियमावली र निर्देशिकाहरू सहज बनाउनुपर्छ । सरकार (नेता र कर्मचारी) ले कसले कति पैसा कमायो, कति ठूला गाडी चढ्यो भनेर हेर्ने होइन । कमाएको पैसाको कर ति¥यो कि तिरेन भनेर हेर्न जरुरी छ ।

यस्तै, वैधानिक ढंगबाट पैसा कमाएको छ वा छैन भन्ने विषयलाई पनि नियाल्नुपर्छ । उद्योग खोल्ने, रोजगारी सृजना गर्ने र निश्चित अवधिपश्चात् सरकारकै हुने जलविद्युत् आयोजना निर्माण गर्नेहरूलाई सरकार र समाजले इज्जत दिनुपर्छ । यसको लागि सरकारले नै भूमिका खेल्न सक्नुपर्छ ।

(प्रस्तुत लेख ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन निर्माणका क्रममा सोधिएका प्रश्नहरुमा इप्पानका वरिष्ठ उपाध्यक्ष डाँगीले दिएको जवाफका आधारमा तयार पारिएको हो।)

जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार गर्ने क्रममा उत्तरदाताले दिएको प्रश्नहरूको आधारमा तयार गरिएको सामग्री अध्ययनका लागि यहाँ क्लिक गर्नुहोस्