
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको कुनै आधार नभएको टिप्पणी गरेका छन् । शुक्रबार एमालेको शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले भने, ‘राजतन्त्रको समयजस्तो अहिलेको कुनै आधार छैन । प्रतिगमनकारीहरू कमजोर छन्, इतिहास वा जनसमर्थनको आधार केही छैन।’
ओलीले आगो लगाउने, तोडफोड गर्ने र आतंक मच्चाउने घटनामा आधारित भएर सरकार बनाइएकोमा आपत्ति जनाए । उनले जेनजीले डिस्कर्डबाट चुनाव गरेर शासनमा पुगेको दाबीप्रति प्रश्न उठाउँदै भने, ‘डिस्कर्डबाट शासन हुन्छ र ? त्यहाँ भोटिङ पनि गरिएको रहेछ । दुई–तीन हजार मात्रै युवाहरू जम्मा भए र मत दिइयो । कसले गन्ने? मतपत्र कस्तो थियो ? अमेरिकाजस्तो छेदा–छाप थियो कि होइन?’
साथै, उनले कम्युनिस्टहरू जेनजी आन्दोलनको क्रममा अत्यन्तै सेन्टिमेन्टल देखिएको टिप्पणी गरे । ओलीका अनुसार प्रतिक्रियावादीहरूले केही नकारात्मक गरेपछि केही नेताहरूले संस्थालाई छोड्ने वा पार्टीलाई गाली गर्ने प्रवृत्ति देखियो ।
ओलीले भने, ‘प्रतिक्रियावादीहरूले बदमासी गर्छन् र गाली गर्छन्। तर आफ्नो विचार, दर्शन वा पार्टी त्यति सेन्टिमेन्टल नहुनुपर्थ्यो। केही केही व्यक्तिहरूमा यस्तो देखियो।’








प्रतिक्रिया