
काठमाडौं । बिजुली काटिएका एक दर्जन उद्योगमा उद्योगमा अझै अन्धकारमा छन् । हालसम्म विवादित बक्यौतालाई २८ भागमा विभाजन गरी धरौटीका रूपमा एक भाग तिरेपछि ११ उद्योगमा बिजुली जोडिएकामा १२ वटामा भने अझै बाँकी रहेको पाइएको छ ।
प्राधिकरणले बिजुली काटेका २५ मध्ये २ उद्योग बन्द छन् ।
नेपाल विद्युत प्राधिकरणका अनुसार डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेवापतको प्रिमियम रकम बक्यौता विवादमा परेका ११ उद्योगले पहिलो किस्ता तिरेका छन् । यो रकमलाई उनीहरूले धरौटी भनेका छन् ।
रकम तिरेपछि ती उद्योगहरूमा पुनः बिजुली जोडिएको छ ।मंगलबारसम्म ७ वटाले पहिलो किस्ता बुझाएकामा बुधबार २ वटा र बिहीबार २ उद्योग थपिएका हुन् ।
त्यसअघि सोमबार भैरहवा क्षेत्रमा रहेका पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रिज, सिद्धार्थ पेट प्लास्ट र श्याम प्लास्टिकले पनि प्राधिकरणले दाबी गरेको बक्यौताको २८ भागमध्ये एक भाग तिरेका थिए । ती उद्योगहरूको बक्यौता रकम क्रमशः पञ्चकन्या प्लास्टिकको २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलको ५२ लाख १९ हजार, सिद्धार्थ पेट प्लास्टको १ करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।
यसैगरी भलवारी स्वचालित कारखाना, एसआर फुड्स र एसआर स्टिलले बक्यौताको पहिलो किस्ता तिरेका थिए । उनीहरूको बक्यौता रकम क्रमशः एसआर फुड्सको १ करोड ४८ लाख, भलवारी स्वचालित चा. कारखानाको ३० लाख र एसआर स्टिल इन्डस्ट्रिजको १६ लाख रुपैयाँ रहेको छ ।
बुधबार घराना फुड्स र गोयन्का फुड्सले धरौटी तिरेका छन् । प्राधिकरणको तथ्यांकअनुसार घरानाले १ करोड ७ लाख ६९ हजार र गोयन्काले १ करोड ४७ लाख ६७ हजार रूपैयाँ प्रिमियम तिर्न बाँकी छ।
यसैगरी बिहीबार रिलायन्स स्पिनिङ मिल्स र त्रिवेणी सिन्थेटिकले किस्ता बुझाएको प्राधिकरणले बताएको छ ।
रिलायन्सले २ करोड ७५ लाख रुपैयाँ धरौटीबापत जम्मा गरेको हो ।
प्राधिकरणको दाबी अनुसार रिलायन्सले ७५ करोड ३६ लाख ८४ हजार र त्रिवेणी सिन्थेटिकले ४ करोड ३९ लाख ८३ हजार रुपैयाँ बक्यौता छ ।
उद्योगहरूले माघ २०७२ देखिवैशाख २०७५ सम्मको अवधिमा डेडिकेटेड र ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुल बुझाउन बाँकी रहेको प्राधिकरणको दाबी छ ।








प्रतिक्रिया