डेडिकेटेड ट्रंकलाइन विवाद

प्राधिकरणले बत्ति काटेपछि रिलायन्सले दायर गरेको रिट न्यायाधीशद्वय राजभण्डारी र सुवेदीको इजलासमा

238
Shares

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले दायर गरेको रिटमाथिको सुनुवाई न्यायाधीशद्वय ऋषि राजभण्डारी र नारायणप्रसाद सुवेदी इजलासमा परेको छ । विपक्षीलाई समेत छलफलमा बोलाएर अन्तरिम आदेश दिन बुधबार पेशी तोकिएकामा दुई न्यायाधीशबाट सुनुवाई हुने भएको हो ।

नेपाल विद्युत प्राधिकरणले लाइन काटेर बक्यौता उठाउन खोजेपछि रिलायन्स पाटन उच्च अदालत पुगेको हो । कात्तिक ११ गते मंगलबार न्यायाधीश सूर्य प्रसाद पराजुलीको इजलासले विपक्षीसँग समेत छलफल गरेर अन्तरिम आदेश दिने आदेश दिएको थियो ।

रिलायन्सले बक्यौता तिर्न निकालेको सूचना र बक्यौता उठाउन प्राधिकरणले पठाएको पत्र कार्य नगर्न नगराउन,यथास्थितिमा राख्न तथा प्रशासकीय पुनरावलोकन सम्बन्धि कार्य अघि बढाउनु भन्ने समेतमा अन्तरिम आदेश मागेको थियो ।

प्राधिकरणको तथ्यअनुसार रिलायन्सले डेडिकेटेड फिडर प्रयोगवापत नियमित बिल तिरे पनि प्रिमियमको ६० करोड रुपैयाँ बक्यौता छ । २०७५ चैतमा पठाएको अतिरिक्त बिलमा ब्याज र जरिवानासमेत जोडेर यति पुगेको हो । प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेर बक्यौता नतिरेको भन्दै २५ उद्योगको लाइन काटेकामा रिलायन्स उच्च पुगेको हो ।

प्राधिकरणले लक्ष्मीपूजाको भोलिपल्ट कात्तिक ४ गते बिजुली काटेको थियो ।