
काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघका पूर्व अध्यक्ष ध्रुव थापाले उद्योगीहरू प्रशासकीय पुनरावलोकनमा जान चेक काटेर बसेको बताएका छन् । सबै उद्योगले डेडिकेटेड ट्रंकलाइनको पहिलो किस्ताको रकम जम्मा गरी लाइन जोड्ने र प्रशासकीय पुनरावलोकनमा जान तयारी गरेको उनले बताएका हुन् ।
डेडिकेटेड ट्रंकलाइनको विवादित महसुलबाट पीडित तथा प्रताडित उद्योगी समूहको तर्फबाट बोल्दै थापाले दीर्घकालीन नभए पनि अल्पकालीन समस्या समाधान भएको बताए ।
उनले नेपाल उद्योग वाणिज्य महासंघको प्रस्तावअनुसार भएको सहमति दीर्घकालीन समस्या समाधानका लागि पनि प्रारम्भिक बिन्दु बन्न सक्ने विश्वास व्यक्त गरे ।
‘अहिलेको कठिन परिस्थितिमा २५ वटा उद्योगको लाइन काटिँदा अन्योलपूर्ण अवस्थामा पुगेका थियौं । देशको अर्थतन्त्रलाई टेवा पुर्याउनेसँगै ऊर्जाको उत्पादन भएर पनि बिजुली बिक्री नभई खेर गएको अवस्था थियो,’ थापाले भने, ‘मजदुरहरू बेरोजगारीतर्फ उन्मुख भइरहेका थिए। १५ दिनमै ठूलो समस्या भइसकेको थियो, र केही दिन यो अवस्था लम्बिएको भए अझ भयावह हुने थियो।’
यस्तोमा महासंघका अध्यक्षले पहल गरेर एउटा बाटो निकालेको भन्दै उनले धन्यवाद दिए । ‘सोमबार भएको सहमति नै अन्तिम निराकरण होइन । तर, तत्कालीन समस्या समाधानका लागि यही विकल्प सही थियो,’ उनले भने, ‘विवादित रकमको १ किस्ता धरौटीस्वरूप जम्मा गर्ने, उद्योगको लाइन जोड्ने, प्रशासकीय पुनरावलोकनमा जाने र त्यसअनुसार आउने निर्णयका आधारमा अन्तिम न्यायिक निर्णयका लागि जाने सहमति अनुसार अघि बढ्दा नै समस्या समाधानको विकल्प देखिएको छ ।’
तर, प्राधिकरणमा उक्त निर्णयअनुसारको निर्देशन आएको छैन, निर्देशन आएपछि कार्यान्वयन गर्ने सूचना आएको भन्दै उक्त सहमति चाँडो कार्यान्वयन गर्न उनले आग्रह गरे ।
‘प्रधानमन्त्री कार्यालय वा ऊर्जा मन्त्रालयबाट आउनुपर्ने विज्ञप्ति वा निर्देशन चाँडोभन्दा चाँडो पुगोस् । धरौटीस्वरूप पहिलो किस्ता बुझाउन सबै उद्योगी चेक काटेर बसेका छन् । उक्त निर्देशन प्राधिकरणमा पुगेपछि चेक जम्मा गरेर आजै उद्योगको लाइन जोडियोस् भन्ने हाम्रो चाहना हो,’ थापाले भने ।







प्रतिक्रिया