उद्योगहरूमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसँग महासंघ अध्यक्ष ढकालको आग्रह

315
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योगहरूमा देखिएको विद्युत् कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित सार्वजनिक–निजी संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले विद्युत् लाइन काटिँदा देशभरका दर्जनौँ उद्योग बन्द हुन पुगेका र हजारौँ रोजगारी संकटमा परेको भन्दै वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न सरकारलाई सुझाव दिए ।

उनले विद्युत् कटौतीले औद्योगिक उत्पादन, निर्यात तथा समग्र आर्थिक गतिविधिमा नकारात्मक असर पारेको र यसबाट राष्ट्रले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको बताए । विवाद समाधानका लागि संवाद र सहकार्यको वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष ढकालले अर्थतन्त्र पुनरुत्थानका लागि उद्योगी–व्यवसायीको मनोबल उच्च राख्नु आजको आवश्यकता भएको उल्लेख गर्दै जेन–जी आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी उद्योगमाथि आक्रमण बढेको, औद्योगिक सुरक्षा कमजोर भएको र लगानीकर्तामा भय सिर्जना भएको बताए ।

उनका अनुसार उद्योगी–व्यवसायीको मनोबल कमजोर हुँदा देशमा नयाँ लगानी भित्रिने सम्भावना घट्ने मात्र होइन, विद्यमान पूँजी समेत पलायन हुने जोखिम रहन्छ ।

‘आन्तरिक र बाह्य लगानीका लागि उद्योगी–व्यवसायीले सुरक्षित महसुस गर्ने वातावरण आवश्यक छ,’ उनले भने, ‘रोजगारी सिर्जना गर्ने र राज्यलाई कर तिर्ने निजी क्षेत्र हरेक आन्दोलनमा आक्रमणको सिकार हुनु दुःखद हो । निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन गर्न सरकार गम्भीर हुनुपर्छ ।’

ढकालले औद्योगिक सुरक्षा तथा क्षतिग्रस्त उद्योग पुनर्निर्माणका विषयमा सरकारले गरेका निर्णय सराहनीय भए पनि नीति कार्यान्वयनमा ढिलाइ हुने प्रवृत्तिमा सुधार आवश्यक रहेको उल्लेख गरे ।

साथै, जिल्ला सुरक्षा समितिका पदाधिकारी र व्यवसायी प्रतिनिधिहरूको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्ने सरकारले गरेको निर्णयप्रति महासंघले स्वागत गरेको बताए ।