मोन्था आँधीले आज र भोलिको हवाई उडानसमेत प्रभावित हुनसक्छ: मौसमविद्

119
Shares

काठमाडौं । बंगालको खाडीको अण्डमान सागरबाट सुरू भएको मोन्था नाम आँधीका आज र भोलि हुने हवाई उडानसमेत प्रभावित हुने भएको छ ।

आन्तरिक गन्तव्यका विभिन्न विमानस्थल जाने हवाई यात्रा प्रभावित हुन सक्ने भएकोले अत्यावश्यक नपरेसम्म यात्रा नगर्न मौसमविदले आग्रह गरेका छन् ।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार आज विहानदेखिको वर्षा मोन्थाको प्रभावले भएको होइन । यो वर्षा पश्चिमी वायुको हो भने मोन्थाको प्रभाव विहीबार दिउँसोदेखि देखिने छ ।

मोन्थाको प्रभावपछि आन्तरिक हवाई उडान थप प्रभावित हुन सक्ने पनि उनले बताए ।

त्रिभुवन विमानस्थलबाट विहीबारका लागि १५२ वटा उडान तय भएका छन् । यी मध्ये अधिकांश प्रभाविन हुने भएका छन् । विहीबार विहानैदेखि बिग्रिएको मौसमका कारण अधिकांश उडान डिले भइरहेको र केही अन्तर्राष्ट्रिय उडानलाई अवतरणको लागि भिजिबिलीटी नपुगेका कारण डाइभर्टसमेत भइरहेका छन् ।

१७० समूहका २ हजारभन्दा बढी पर्यटक विभिन्न हिमाली क्षेत्रमा, सबै सुरक्षित


अहिले सरद ऋतुको आरोहण मौसमका कारण १७० समूहबाट २ हजार भन्दा बढी पर्यटक विभिन्न हिमाली क्षेत्रमा पुगेको छन् । ती पर्यटक सबै सुरक्षित रहेको पर्यटन विभागका निर्देशक हिमाला गौतमले जानकारी दिए ।

उनका अनुसार मनास्लु आरोहण सकिने चरणमा रहेको, हिम्लुङ उत्तरार्धतिर पुगेको, आमादब्लम सुरु हुँदै गरेकोले पर्यटक तथा पदायात्री सबैलाई सुरक्षित स्थानमा राखिएको, केही फर्किएको जानकारी पर्यटन विभागले दिएको छ ।

नेपाल पर्वतारोहण संघका अनुसार अन्नपूर्ण राउन्ड सर्किट, मनास्लु लार्केपास, मेरापिक, चुलुसहितका क्षेत्रमा गएका पदयात्रीलाई फर्काइएको छ ।

मौसम बिग्रिएको र मोन्था आँधिको कारण पदयात्रा तथा पर्वतारोहण पनि प्रभावित हुन सक्ने भएकोले बेलैमा सचेतना अपनाइएकोले पर्यटक अलपत्र परेको कुनै जानकारी नभएको नेपाल पर्वतारोहण संघका अध्यक्ष फूरग्लाल्जे शेर्पाले बताए । उनका अनुसार सबैजसो पर्वतारोहण गएका आरोही सुरक्षित छन् ।