बिहार आइपुग्यो मोन्था, नेपालमा बिहीबार दिउँसोदेखि सक्रिय भएपछि गत वर्षको भन्दा ठूलो वर्षाको सम्भावना

6.1k
Shares

काठमाडौं । बंगालको खाडीको अण्डमान सागरबाट सुरू भएको मोन्था नेपाल आइनपुगेको मौसमविद् उज्ज्वल उपाध्यायले बताएका छन् । उनका अनुसार बिहीबार बिहानबाट सुरू भएको वर्षा मोन्था नामक आँधीको प्रभाव भन्दा पनि हिजो अस्तिदेखि सक्रिय पश्चिमी वायुको कारण भएको हो ।

‘बिहिबार बिहान ४ बजेदेखि काठमाडौं उपत्यका र वरिपरी भइरहेको वर्षा पूर्वबाट आउने मोन्था नामक समुद्री आँधी भन्दा पनि हिजो-अस्ति देखिको पश्चिमी वायुको गतिविधीले हो, जुन अझै बाहिरिको छैन,’ उपाध्यायले भनेका छन् । बाहिरिनै बाँकी रहेको यस वर्षा प्रणालीमा मोन्था आँधिको आंशिक प्रभाव मिसिनाले वर्षा अझै ठूलो भएको उनको भनाइ छ ।

मोन्था आँधीको प्रभाव बिहीबार अपरान्ह देखि मात्रै पूर्ण रुपमा सक्रिय हुनेछ । यसले मेचीदेखी गण्डकी सम्म ठूलो वर्षा र उपल्लो (३५०० मिटरभन्दा अग्लो) भू-भागमा भारी हिमपात गराउने छ । उपाध्यायले बिहीबार र शुक्रबार यात्रा नगर्न अनुरोध पनि गरेका छन् ।

साथै बिहीबार दिउँसोदेखि हवाई सेवा पनि प्रभावित हुन सक्ने अनुमान उनको छ ।

उपाध्यायका अनुसार अहिले अरब सागरमा नयाँ प्रणाली विकास भएको छ । ‘हाल पश्चिमी वायुको प्रभाव देखिएको छ । अरब सागरमा नयाँ प्रणाली र मोन्थाका कारण नेपाली आकाशमा लो प्रेसर जोन सिर्जना भएको छ । यसले पश्चिमी वायुको प्रभाव झनै धेरै हुने अनुमान गर्न सकिन्छ,’ उनले भने ।

मोन्था र पश्चिमी वायुको प्रभाव एकैपल्ट रहे गत वर्ष असोज १२ र १३ गतेको भन्दा ठूलो पानी पर्ने आकलन उपाध्यायको छ । ‘यस्तो हुने सम्भावना ५ प्रतिशत थियो, हालसम्मको स्थिति हेर्दा सम्भावना झन् बढेको छ, यद्यपि हामी नियमित अध्ययनमा छौं दिउँसोसम्म के हुन्छ भन्ने निष्कर्शमा पुग्न सकिनेछ ।’

पछिल्लो विवरण अनुसार मोन्था भारतको बिहार प्रवेश गरेको छ । बिहार आइपुग्दा मोन्था बंगालको खाडीबाट भारत प्रवेश गरेको बेलाभन्दा निकै कमजोर भएको छ । हालकै इन्टेन्सिटीमा आँधी नेपाल आइपुगे पनि नेपालमा अत्यधिक भारी वर्षा हुने देखिन्छ ।

मोन्थाको बाँकी प्रभावस्वरूप अहिले भारतका दक्षिक राज्यहरूमा हल्का वर्षा भइरहेको छ । बिहीबार र शुक्रबार बिहार, झारखण्ड, पूर्वी मध्य प्रदेश, छत्तीसगढमा भारी वर्षा हुनेछ ।

पटना मौसम केन्द्रले बिहारका २५ जिल्लामा २ दिन भारी वर्षा हुने चेतना दिइसकेको छ ।

बिहार हुँदै मधेशको विरगञ्जबाट मोन्था नेपाल प्रवेश गर्ने बताइएको छ ।