
काठमाडौं। म्याग्दीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित महावीर पुनले चुनावमा आफूलाई दिएको सहयोगको केही रकम बचत भएको बताएका छन् ।
चुनावी आम्दानी–खर्चको विवरण सार्वजनिक गरेपछि चन्दा रकमबारे प्रश्न उठ्न थालेपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो स्पष्टीकरण दिएका हुन्।
पुनकाअनुसार दाताबाट प्राप्त रकममध्ये २८ लाख ६८ हजार ८६८ रुपैयाँ चुनावमा खर्च भएको छ भने २७ लाख ६९ हजार २५ रुपैयाँ ४७ पैसा बैंकमा बाँकी रहेको छ।
यस अनुसार चुनावका लागि जम्मा ५६ लाख ३७ हजार ८९३ रुपैयाँ ४७ पैसा संकलन भएको उल्लेख गरेका छन्।
पुनले बाँकी रहेको रकम बेनीमा पाँच वर्षका लागि आफ्नो सम्पर्क कार्यालय सञ्चालन गर्न खर्च गर्ने बताएका छन्।
गाउँघरबाट सदरमुकाममा सरकारी कामकाजका लागि आउने तथा विभिन्न कार्यालयमा सहयोग आवश्यक परेका सर्वसाधारणलाई निःशुल्क सामान्य सहयोग गर्न यस्तो कार्यालय सञ्चालन गरिने उनको भनाइ छ।
उनका अनुसार कार्यालयमा दुई जना कर्मचारी राखिनेछन् भने कम्प्युटर, प्रतिलिपि मेसिन र मुद्रण मेसिन राखेर सेवा सञ्चालन गरिनेछ।
पुनले चुनाव प्रचारका क्रममा गाउँ–गाउँमा पुग्दा नै यस्तो योजना सबैलाई जानकारी गराएको बताएका छन्। ‘ठूलो मदत गर्न नसके पनि सानोतिनो सहयोग पक्कै हुनेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
त्यस्तै उनले म्याग्दीको भौगोलिक अवस्था कठिन भएकाले चुनाव प्रचारका लागि ४५ दिन लागेको पनि बताएका छन्।
उनका अनुसार १० देखि १६ जनाको टोली बिहान ७ बजेदेखि राति १० बजेसम्म जिल्लाका दुर्गम गाउँहरूमा दुई पटकसम्म पुगेर प्रचार गरिएको थियो।
पुनले म्याग्दी जिल्ला झापा वा काठमाडौँजस्तो एक घण्टामा सबै क्षेत्र घुम्न सकिने ठाउँ नभएको उल्लेख गर्दै नपत्याए एक पटक आफैँ आएर घुमेर हेर्न पनि आग्रह गरेका छन्।







प्रतिक्रिया